संघीयता र शासकीय व्यवस्थामा पुनःविचार गर्नुपर्छ : सासंद भण्डारी
भञ्ज्याङ समाचारदाता/म्याग्दे

प्रतिनिधीसभा सदस्य शंकर भण्डारीले संघीयता र राज्यको शासकीय व्यवस्थामा पुनःविचार गर्नुपर्ने बताएका छन् । म्याग्दे गाउँपालिका वडा नं ६ को नवनिर्मित कार्यालय भवनको विहीबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
स्थायी सरकार बनेर देश विकास र निर्माणमा लाग्नुपर्नेमा सरकारको रवैया हेर्दा त्यस्तो नदेखिएको बताउँदै सांसद भण्डारीले अब फेरि पनि देश अस्थिरतातर्फ उन्मुख भएको बताए । ‘देशको कानुन, विधि र पद्धती सबैले मान्नुपर्ने तर देशमा नयाँ शक्तिको रुपमा उदाएको शक्तिले कानुनको विधि र पद्धती नमानेको कारण बाहिरिनु पर्यो’, उनले भने, ‘सरकारसँग बजेट नहुँदा ठुलठुला योजनामा समस्या परेको छ । देशमा आर्थिक संकट आईपरेको छ ।’
संघीयताले देश विकासमा सहजता थपेता पनि यसको मोडलमा पुनःविचार गर्नुपर्ने बताउँदै उनले भने, ‘केन्द्र सरकार र पालिका सरकारले मात्र देश विकास हुने हुँदा प्रदेशको संरचनाले झन अस्थिरता निम्ताएको छ । साँच्चै विकास निर्माण गर्ने हो, गाउँबाटै गर्ने हो र त्यसका लागि पालिका नै बलियो बनाउनुपर्छ ।’
वडा नं. ६ का वडाध्यक्ष हिरावहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेस सदस्य श्यामराजा महत, पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, पुर्व पालिका अध्यक्ष मायादेवी राना, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










