स्थानीय निर्वाचन : तनहुँमा एमाले र जोशी समूहबीच तालमेल टुंगियो, के-के भयो सहमति ?
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय तहको निर्वाचनका लागि तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समूहबीच तालमेल गर्ने सहमति भएको छ ।
नेकपा एमाले तनहुँको पार्टी कार्यालयमा बिहीबार एमालेका नेताहरु टुकराज सिग्देल, भगवती न्यौपाने, सविता रसाइली, श्रीप्रसाद श्रेष्ठ, हरिराज कडेल, राजेश्वर ढकाल, प्रदीप अधिकारी र जोशी समुहबाट गोविन्दराज जोशी, बालकुमारी लोहनी, हरिशरण पण्डित, सुकुमलाल गुरुङ, केश बहादुर गुरुङ सहितको बैठकले तालमेल गरी चुनावमा लड्ने टुंगो लगाएका हुन् ।
सहमति अनुसार जोशी समूहले व्यास नगरपालिकामा प्रमुख सहित चार वडाध्यक्ष पाउने सहमति भएको छ । जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा दिपकराज जोशी उम्मेदवार बन्ने निश्चित भएको छ । जोशी समूहले व्यासमा वडा नम्बर १, २, १२ र १४ वडाध्यक्ष पाउने सहमति भएको एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले बताए ।
यस्तै, जोशी समुहले भानु नगरपालिकामा उपप्रमुख सहित ३ वटा वडा पाउने भएको छ । सहमति अनुसार भानुको वडा नम्बर ५, ११ र १३ को वडाध्यक्ष जोशी समुहले पाउने सहमति भएको छ ।
बन्दिपुर गाउँपालिकामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष पाउने भएका छन् भने आँबुखैरेनीमा जोशी समूहले वडा नम्बर २ र ५ को वडाध्यक्षमा सहमित भएको उपसिचिव अधिकारीले बताए ।
यस्तै, जोशी समूहले वडाध्यक्ष पाएको ठाउँमा एक जना सदस्य पनि पाउनेछ भने एमालेको वडाध्यक्ष भएको वडामा दुइ वटा सदस्य जोशी समूहले पाउने सहमति गरिएको छ ।
प्रमुख, उपप्रमुख र वडाध्यक्ष पाएको पालिकामा जोशी समूह स्वतन्त्र चुनाव चिन्हमा निर्वाचन लड्ने भएको छ भने वडा सदस्यको हकमा भने सूर्य चिन्हमा चुनाव लड्न पाउने सहमति भएको बताइएको छ ।
यसैगरी चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रिएको नेकपा एमाले र जोशी समुहले शुक्रबार १२:३० बजे चुनावी प्रतिवद्धता पत्र र्सार्वजनिक समेत गर्ने भएको छ ।










