भानुका विद्यालयलाई स्थानीय पाठ्यपुस्तक हस्तान्तरण, भानु पाठ्यपुस्तक बनाउने पहिलो पालिका

भानु । तनहुँको भानु नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरी विद्यालयलाई वितरण गरेको छ । स्थानीय पाठ्यपुस्तक निर्माण गरी विद्यालयलाई उपलब्ध गराउने भानु जिल्लाको पहिलो पालिका बनेको छ ।
विद्यालयहरुलाई स्थानीय पाठ्यपुस्तक हस्तान्तरण गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठीले भानुले शैक्षिक क्षेत्रमा अर्को एउटा नयाँ आयाम थप गरेको र जुनकुरा हामी सगौरव सबैका सामु प्रस्तुत गर्ने बताएका छन् ।
भानु नगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक “हाम्रो भानु” निर्माण गरी आइतबार सबै विद्यालयमा बितरण गरेको छ । नगर प्रमुख त्रिपाठी, उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, नगर प्रवक्ता इश्वरबहादुर घिमिरे, वडा नं. १ का वडाध्यक्ष कान्छीमाया तामाङले उक्त पाठ्यपुस्तकहरू विद्यालयका प्रधानाध्यापकहरूलाई सामुहिक रूपमा वितरण गरेका थिए।
नगरपालिकाले शैक्षिक सत्र २०७९ देखि आधारभूत तह कक्षा १–८ को स्थानीय पाठ्यक्रम “हाम्रो भानु” निर्माण गरी सबै विद्यालयमा लागू गरेको नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराए । उनले भने, ‘सोही पाठ्यक्रम बमोजिम शैक्षिक सत्र २०८० मा कक्षा १–५ को पाठ्यपुस्तक तयार गरी प्रयोगमा ल्याएको थियो भने चालू शैक्षिक सत्र २०८१ देखि कक्षा ६–८ को समेत पाठ्यपुस्तक तयार गरी सबै विद्यालय (सामुदायिक र संस्थागत) मा वितरण गरिएको छ ।”

‘यसवर्ष कक्षा १–५ को परिमार्जित संस्करणको रूपमा र कक्षा ६–८ को नयाँ संस्करण निर्माण तथा छपाइ गरी वितरण गरेको हो’, उनले भने, ‘आधारभूत तह कक्षा १–८ सम्म नै पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने भानु तनहुँ जिल्लाको पहिलो स्थानीय तह बनेको छ भने सम्भवत गण्डकी प्रदेशका ८५ वटा पालिका मध्येमा पनि पहिलो पालिकाको रूपमा रहेको छ ।’
पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण जस्तो अत्यन्त महत्वपूर्ण र प्राविधक विषयमा आफ्नो अमुल्य सुझाव सल्लाह तथा पृष्ठपोषण दिई यस अभियानमा प्रत्यक्ष र परोक्ष ढङ्गले सहयोग गरिदिन नगरशिक्षा अधिकारी पौडेले आग्रह गरेका छन् ।
पाठ्यपुस्तकमा भानुको मौलिक पहिचान दिलाउने अत्यन्त महत्वपूर्ण र सूचनामूलक स्थानीय विषय समावेश गरिएको छ । पाठ्यपुस्तक भानुका सबै विद्यालयमा प्रभावकारी रूपमा लागू हुनुका साथै बालबालिकाको सिकाइ उपलब्धी सुधारमा यसले उल्लेखनीय टेवा पु¥याउने विश्वासका साथ सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोगि बन्ने नगर शिक्षा अधिकारी पौडेलले विश्वास व्यक्त गरे ।










