इन्धन बोकेको ट्यांकर डुम्रेमा दुर्घटना, चुहिएको तेल भर्न स्थानीयको हानथाप (तस्विरसहित)
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको बन्दिपुर-१ नाहालको नयाँबस्तिमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेको छ । बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको हो ।
करिब २० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर मंगलबार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।
सडक छेउको खोल्सा नजिक ट्यांकर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना८ख ०३२६ नम्बरको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरेका थिए ।
बाल्टी र ग्यालिन बोकेर ट्यांकरबाट चुहिएको तेल भर्न मानिसको भिड लागेको थियो । अति प्रज्वलनशिल पेट्रोलियम पदार्थ संकलन गरिनु जोखिम हुने भन्दै निगमका प्रवक्ता विनितमणि उपाध्ययले तेल नउठाउन स्थानीयलाई आग्रह गरेको छ ।
यस्तै, उक्त ट्यांकर पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहान पल्टिएको ट्यांकर उठाउने कार्य सुरु भएको हुँदा त्यस क्षेत्रमा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दिउँसो ३ बजेबाट ट्यांकर उठाउन सुरु भएकाले एक घण्टाका लागि दुइतरेफी राजमार्ग अवरुद्ध हुन सक्ने प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।