बढ्दो छ फरक प्राकृतिका विपद्

काठमाडौँ : नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ । यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन् । यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उहाँहरुको भनाइ छ ।
जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ । यसपाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्काे ठाउँमा सुख्खा लागिरहेको छ ।
पानीको अभावमा यसपाली राम्ररी धान रोपाइँसमेत हुन सकेन । तर कुनै ठाउँमा वर्षाले ठूलो धनजनको क्षति भइरहेको छ । बजार, पुलपुलेसा नै बगाउने गरी बाढी र पहिरोका घटना निम्तिरहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भेल बाढी कल्पनाभन्दा बाहिरका घटना बढ्दो क्रममा रहेको र यसले ठूलो क्षति पुर्‍याइरहेको बताउनुहुन्छ । तर विपद्जन्य घटनाको प्रकृति भने फेरिएको उहाँले बताउनुभयो ।
त्यसको उदाहरणकैरुपमा भन्नुपर्दा केही वर्ष अघि आएको हेलम्बुको बाढी होस् या यसपालीको मनसुनको सुरुआतमा पूर्वी नेपालको हेवा खोलामा आएको बाढी वा अहिले भर्खरै मात्रै मुस्ताङको कागखोलामा आएको बाढी, यी फरक प्रकृतिका विपद्जन्य घटना हुन् । यी घटनाले माथिल्लो भेग अर्थात् हिमाली क्षेत्रमा पनि वर्षा बढेको देखाएको छ । कतिपय अवस्थामा पहाड खसेर बाढीमा मिसिएका कारण बाढीको रुप कम्पनाभन्दा माथि देखिएको छ ।
पहिलेपहिले बाढीले तराईमा बढी क्षति गराउँथ्यो । तर अहिले पहाडी तथा हिमाली भेगमा समेत बाढीले तहसनहस बनाइरहेको छ । तराईको डुबानको समस्या भने क्रमशः घटिरहेको छ । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल जलवायु परिवर्तनको असरले नै अकल्पनीय घटना भइरहेको बताउनुहुन्छ ।
दश दिनअघि मुस्ताङको कागखोलामा भिषण बाढी आयो । त्यसले एक अर्बको आर्थिक क्षति गराएको छ । २५ भन्दाबढी घरमा क्षति भएको छ । पूर्वसूचनाका कारण भने त्यहाँ मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति भने रोक्न सकिएन । अझ भनौँ नसोचेको भौतिक क्षति भएको छ ।
यसपालीको मनसुन सुरु भएको दिन जेठ ३१ लगत्तै पूर्वी नेपालको सङ्खुवासभा, इलाम, पाँचथर, ताप्लेजुङमा भिषण वर्षा भयो । उक्त घटनामा छ जनाको मृत्यु भयो भने २५ जना बेपत्ता नै छन् । ठूलाठूला जलविद्युत् आयोजना, सडक पक्कली पुल नै बाढीले बगाइदियो ।
दुई वर्षअघि २०७८ सालमा मनाङमा पनि त्यसैगरी बाढीले ठूलो क्षति गरायो । मनाङ, मुस्ताङ र मेलम्चीको विपद्जन्य घटना विष्लेषण गर्ने हो भने हिमाली क्षेत्रमा वर्षा भएर ठूलो क्षतिका घटना बढिरहेको छ । पहाडी क्षेत्रमा पनि त्यसैगरी तहसनहस बनाइरहेको छ ।
यस्ता गाउँ र सहर नै सोहोरेर लैजाने खालका विपद्जन्य घटना बढिरहेको पाइएको छ । यस्ता घटना जलवायु परिवर्तनका कारण भएको भन्दै पोखरेलले अब ती घटनाबारे विश्व समुदायलाई समेत जानकारी गराउने बेला आइसकेको बताउनुहुन्छ ।
वैशाख १ यता मात्रै दुई हजार पाँच सयभन्दा बढी विपद्का घटना भइसकेका छन् । ती घटनामा एक सय ५१ जनको मृत्यु र ३० जना बेपत्ता छन् । अधिकांश क्षति भने मनसुनका समयमा भएको प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्का बताउनुहुन्छ । मौसमको पूर्वसूचना प्रणाली प्रभावकारी भए पनि क्षति रोक्ने प्रणाली भने प्रभावकारी देखिएको छैन ।
यस्ता घटना हुनै नदिनका लागि के गनृ सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ । यसका साथै प्रभावमा आधारित सूचना प्रणालीलाई अझै प्रभावकारी बनाउन जरुरी रहेको छ । जल तथा मौसम विज्ञान विभागले यसपाली औसतभन्दा कम पानी पर्ने आँकलन  सार्वजनिक गरेको थियो ।
पानी कम परे पनि कुनै एक ठाउँमा एकैपटक धेरै पानी पर्ने अवस्था भने कायमै हुने विभागले बताएको थियो । सोही अनुमान झैँ निश्चित क्षेत्रमा बढीमात्रामा वर्षा भएर यसपाली क्षति गराएको छ । यसले पनि फरक खालका विपद्जन्य घटना निम्तिरहेको देखाउँछ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker