तनहुँमा ११० जनाले उम्मदेवारी फिर्ता लिए
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँमा गत आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएका ११० जनाले फिर्ता लिएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुसार जिल्लाका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा यी उम्मेदवारहरुले आफ्नो उम्मेदावरी फिर्ता लिएका हुन् ।
देवघाट गाउँपालिकामा ३ जना अध्यक्ष, १ जना वडाध्यक्ष सहित ४ जना, आँवुखैरेनी गाउँपालिकामा ३ वडाध्यक्ष, २ जना सदस्य सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
घिरिङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका भिमबहादुर श्रेष्ठले र ऋषिङ गाउँपालिकामा तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । ऋषिङ-४ का वडाध्यक्षका उम्मेदवार भोजराज रानाभाट, ५ का अध्यक्षका उम्मेदवार खुमबहादुर थापा र सदस्यका उम्मेदवार रामकृष्ण पोख्रेलले उम्मेदवारी फिर्ता लिएका हुन् । म्याग्दे गाउँपालिकामा १ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।
बन्दिपुर गाउँपालिका अध्यक्षका उम्मेदवार मानकाजी श्रेष्ठ लगाएत १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । काँग्रेस नेता श्रेष्ठले उम्मेदवारी फिर्ता गर्नै पर्ने अवस्था सृजना भएका कारण उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
यस्तै, पालिकाका अर्का अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका केशव अधिकारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी फूलमती थापाले उम्मेदवारी फिर्ता लिदै जोशी समूहबाट उपाध्यक्षको स्वतन्त्र उम्मेदवार केशमाया गुरुङ केशुलाई र्समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मी गौतमले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।
गाउँपालिकाको वडा नं १ बाट वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने दान बहादुर खड्का, २ को वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिने नारायण खड्का, राजु पौडेल, डिल बहादुर बानिया र ध्रुब खत्री, वडा नं ३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने बिराट केसी, वडा नं. २ मा वडा सदस्यका लागि उम्मेदवारी दिने राजु बिक्रम भण्डारी र निखिल रोकाले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय बन्दिपुरका प्रमुख विश्वबन्धु पौडेलले जानकारी दिए ।
यस्तै, व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठ, स्वतन्त्र रुपमा कांग्रेसका बागी उम्मेदवारी दिएका वृषराज श्रेष्ठ सहित १८ जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले बताए । व्यासमा ८ जना वडा अध्यक्ष र ८ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
शक्लागण्डकी नगरपालिकामा २ जना प्रमुख, १ जना उपप्रमुख, १३ जना वडाध्यक्ष, २१ जना सदस्य गरी ३७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भिमाद नगरपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख, अन्य ७ जना गरी ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, भानु नगरपालिकामा १ जना प्रमुख, ८ जना वडाध्यक्ष, ५ जना महिला सदस्य, ६ जना खुला सदस्य गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हरिश्चन्द्र गौतमले जानकारी गराए ।










