अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आव्हान

प्रकाश सिलवाल/चितवन

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न राउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आहृवान गर्नुभएको छ । चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले शुक्रबार नारायणी किनारमा भएको उद्घाटनसत्र आम जनताको साथ सहयोगमा अत्यन्तै उल्सालपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो ।

‘एमाले प्रतिपक्षमा हुनुको अर्थ हाम्रा अगाडि चुनौती थपिएको छ तर हामी जनादेशबाट प्रतिपक्षमा पुगेका होइनौँ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका सीमालाई नाघेर अघि बढ्ने कोसिस भएकाले यसलाई दृढतापूर्वक प्रतिवाद गर्नु हाम्रो दायित्व हो । न्यायालय र राज्यका अन्य अङ्गहरू दुरुपयोग हुने स्थितिलाई पार लगाउँदै पुनः हामीले मुलुकको नेतृत्व गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्दछ । दुनियाँका लागि नमूना महाधिवेशन गरेर देखाउनुपर्नेछ ।’

करिब तीन घण्टा लामो आफ्नो सम्बोधनमा उहाँले पार्टीलाई अत्यन्तै गम्भीरताका साथ पार्टी सञ्चालन गर्नुपर्ने अवस्थामा आफूहरू रहेकाले यस स्थितिमा विधान महाधिवेशन आयोजना गरेर मुलुकका लागि आवश्यक नीति, विचार र विधिहरू तय गरेको स्मरण गराउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीमा चौतर्फी घेराबन्दी र केही नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टी चोइट्याउने छु, खेल हुँदा पनि आम कार्यकर्ताले पार्टीलाई जुरुक्कै बोकेको देखेर म खुशी छु । आम कार्यकर्ताको उत्साहित मनोबलले समृद्धिको यात्रा सुरक्षितरूपमा अघि बढ्छ भन्नेमा म ढुक्क छु । हामी एमालेहरू जनपुत्र हौँ । जनताका छोराछोरी हौँ ।’

‘मुलुकलाई शान्तिपूर्णरूपमा गतिविधि गर्ने सुनिश्चिता भएको छ । हिंसा भड्कन नदिएर गरिबीको उन्मूलन गर्दै विश्व समुदायसँग मिलेर काम गर्न हामी अग्रसर छौँ’, भन्दै अध्यक्ष ओलीले शान्ति, एकता र सद्भावका माध्यमबाट हामी विश्वका साझा चुनौतीको सामना गर्न सक्ने र राष्ट्रको हितमा संघर्ष र साझेदारी गर्न आफूहरू तयार भएको बताउनुभयो । वाम आन्दोलनलाई बदनाम बनाउने कोसिस भए पनि त्यस्ता भ्रम चिर्न एमाले र्समर्थ हुने गरी अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुशी मनाउनेहरूलाई विधान महाधिवेशन र १०औँ महाधिवेशनको व्यापक उपस्थिति र सफलताले जवाफ दिएको जिकीर गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई सहीरूपमा सञ्चालन गर्दै उहाँले ‘राजनीतिक उपलब्धिलाई गुम्न नदिएर विकासका प्रयासलाई सहीरूपमा अघि बढाउनु आवश्यक छ’ भन्नुभयो । अध्यक्ष ओलीले नवौँ महाधिवेशनपछि संविधान निर्माणमा सार्थक भूमिका निर्वाह गरेको, पार्टी एकता, तालमेल र सरकारको नेतृत्व गरेको, पार्टीको स्पष्ट विचार र दृष्टिकोणका साथ सामाजिक परिवर्तनको आन्दोलनको अगुवा शक्तिका रूपमा स्थापित गरेको बताउनुभयो । उहाँले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताका पक्षधरले वामपन्थीको एकता र तालमेललाई भत्काएर सरकार बनेको आरोप लगाउनुभयो । पार्टीभित्र चौतर्फी हमला हुँदा पनि नेता कार्यकर्ताको उत्साह र महाधिवेशनमा भएको जनसहभागिताले आफूहरूमा उत्साह थपेको अध्यक्ष ओलीले बताउनुभयो । बन्दसत्रमा केन्द्रीय कमिटीको बैठकले तयार गरेको विधान संशोधन प्रस्ताव पारित गरिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अध्यक्षमण्डल गठन

बन्दसत्रमा अध्यक्ष ओलीको सम्बोधन गरेपछि महासचिव इश्वर पोखरेलले महाधिवेशनका बन्दसत्रका प्रक्रिया आरम्भ गर्नुभयो । उहाँले बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्षमण्डल घोषणा गरिएको छ । सो मण्डलमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव इश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको अध्यक्षमण्डलको प्रस्ताव गर्दा हलले प्रस्ताव पारित गरेको थियो । यससँगै विद्यमान केन्द्रीय कमिटीको विघटन भएको छ । महाधिवेशनमा माइन्युट लेखनका लागि सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य सूर्य थापा, विष्णु रिजाल, मनोजजङ्ग थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ । बन्दसत्रको थालनीमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना गरिएको थियो । अध्यक्ष ओलीको सम्बोधन र विदेशी नेताहरूको मन्तव्यका समयमा सञ्चारकर्मीलाई हलभित्र सहज पहुँच दिइएको थियो ।

सहमतिमा नेतृत्व चयन हुने

एमालेको महाधिवेशनमा सबै पदहरु सहमतिमा चयन हुने देखिएको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशन तोकिएकै मितिमा सहमतिका साथ नेतृत्व चयन गरेर सम्पन्न हुने जानकारी दिनुभयो । एमालेको महाधिवेशन १० गते सुरु भई मङ्सिर १२ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित कार्यतालिका बनाइएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker