तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट आधादर्जन बढि आकांक्षीको नाम चर्चामा
भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसंगै उपनिर्वाचन हुने भएको छ । तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि अहिले कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न थालेका छन् ।
रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराइ र ध्रुब वाग्ले तनहुँ-१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले पनि उम्मेदवारको दाबी गरेका छन् ।
कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल पनि उम्मेदवारको आकांक्षीमा उभिएका छन् भने नेविसंघका पूर्व महामन्त्री दिपक भट्टर्राई पनि यस क्षेत्रमा उपनिर्वाचनका लागि आकांक्षा देखाएका छन् ।
केन्द्रीय सदस्य भट्टराइ निर्वाचन गतिविधिका लागि सामाखुसीमा सम्पर्क कार्यालय समेत खोलिसकेका छन् । भट्टराइले १५ फागुनमा सभापति शेरबहादुर देउवालाई भेटेर तनहुँ-१ को उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गरिसकेका छन् । सभापतिले तनहुँ-१ को उपनिर्वाचन जितेर आउने शुभेच्छा दिइसकेको भट्टराइले बताउने गरेका छन् ।
‘मंसिरमा भएको चुनावमा प्रत्यक्षमा तीन जनाको नाम सिफारिस भएको हो । रामचन्द्र दाइ राष्ट्रपति बन्नुभयो । शंकर भण्डारी तनहुँ-२ बाट जित्नुभएको छ,’ भट्टराइले भने, ‘प्रतिनिधि सभाको उम्मेदवार हुनका लागि समानुपातिकमा नबस्ने र राष्ट्रिय सभामा नजाने निर्णय लिएको हुँ ।
केन्द्रीय सदस्य हुनु साथै अन्य आकांक्षी भन्दा पार्टी वरियतामा माथि रहेकाले भट्टराइको सम्भावना बढी रहेको कांग्रेसका नेताहरु बताउँछन् । नेविसंघका पूर्व अध्यक्ष समेत रहेका भट्टराइले २०७४ को निर्वाचनमा प्रदेश सभामा पराजित भएका थिए । संघको टिकट भने उनले हालसम्म पाएका छैनन् ।
तनहुँ-१ मा प्रत्यक्षको उम्मेदवार हुन हरेक पटक आकांक्षा राख्ने तर प्रत्यक्षको टिकट पाउनबाट वञ्चित पुराना नेता रामचन्द्र पोखरेलले पनि दाबी राखेका छन् । २०४८ सालदेखि प्रत्यक्षको टिकट प्राप्त गर्न नसकेको उनले सुनाए ।
‘प्रत्यक्ष उम्मेदवार हुन अहिलेसम्म पाएको छैन । मेरो दाबी स्वभाविक हो,’ पोखरेलले भने, ‘आकांक्षा राख्ने सबै साथीहरुका विचमा आ-आफ्नो धारणा राख्छौं । एउटा निर्णयमा पुगिएला ।’
यस्तै, पूर्व जिल्लासभापति रघुनाथ पौडेल पनि उपनिर्वाचनमा आफुलाई पार्टीले उम्मेदवार बनाउने बताउँछन् । २०३२ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिएका पौडेलले २०५३ देखि २०६७ सालसम्म अविछिन्न रुपमा ३ कार्यकाल सभापतिको रुपमा कार्य सम्पादन गरी कांग्रेस तनहुँको संगठनलाई वलियो र धारिलो बनाएका थिए ।
नेपाली काग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनमा महासमिति सदस्य भई कार्य सम्पादन गरेका पौडेल हाल महासमिति सदस्य छन् । १५ बर्षसम्म पार्टीको जिल्ला सभापति भएर पार्टीको सेवा गरेका उनले हालसम्म कुनै पनि किसिमको लाभको पदमा बसेर काम नगरेको बताउँछन् ।
उनले भने, ‘पार्टीमा न्याय, विवेक, योग्यता र मूल्याङ्कनको आधार बनाएर काम गर्ने हो भने इच्छा गरेका सबै व्यक्तिहरुको तुलनात्मक अध्ययन गरेर पब्लिकसँग मत तान्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएसँगै आगामी उपनिर्वाचनमा पार्टीको विजय सुनिश्चित हुन्छ ।’









