वडाध्यक्षले गरे सेवाग्राही माथि हातपात, राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजियो : वडाध्यक्ष श्रेष्ठ

तनहुँको भिमाद नगरपालिका-८ का वडाध्यक्षले एक सेवाग्राही माथि हातपात गरेका छन् । वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडाबासी चिरञ्जीवी खनाललाई हातपात गरेका हुन् । खनाललाई वडाध्यक्ष श्रेष्ठले मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत अपलोड भएको छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा सेवाग्राही खनालले आफुमाथि गरेको अभद्र क्रियाकलापको भाग हटाएर आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजेको वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।

हकवालाको सिफारिस लिन पुगेका खनाललाई वडाध्यक्ष श्रेष्ठले हातपात गरेको आरोप लागेको छ। तर वडाअध्यक्ष श्रेष्ठले भने खनालले आफुमाथि अपशब्द बोली हातपात गरेपछि प्रतिरक्षामा उत्रनुपरेको बताएका छन् ।

सोही वडामा बसोवास गर्ने सावित्रि दमै नामकी एकल अपांगता भएकी महिला करिब २० वर्षेखि बस्दै आएको जमिन सेवाग्राही खनालले आफ्नो भनि दावी गर्न थालेपछि वडाध्यक्ष र खनाल बीच विवाद सृजना भएको बताइएको छ । ‘२०७२ सालको गोरखा भुकप्पले सावित्रीको घर भत्काएपछि वडाबाट पहिलो र दोस्रो किस्ता लिएर सोही जग्गामा घर बनाउूदै गर्दा खनालले आएर रोकेका छन् । घर बनाउन रोकेपछि वडा कार्यालयमा खनालमाथी ती महिलाले उजुरी हालेकी छन्’, वडाध्यक्ष श्रेष्ठले बताए ।

‘एकल महिलाको बसोवासका लागि सबै मिलेर छलफल गरौ भन्दा खनाल मान्दै नमानी मेरो काम गर्दिनुस् म जान्छु भोली छलफल गरौला भन्न थाले’, वडाध्यक्षले भने, ‘उजुरी परेको छ आजै टुङ्गो लगाउ भन्दा म दिंदै दिन्न मेरो जग्गा भन्दै अपशब्द प्रयोग गरी म माथी जाइलागे ।’

खनाल हातपातमा उत्रिएपछि प्रतिरक्षा गरेको बताउँदै वडाअध्यक्ष श्रेष्ठले भने, ‘फोटो र भिडियोमा सेवाग्राहीको व्यवहार नदेखाइ मेरो मात्र खिचियो । कसरी हुन्छ मलाई फसाउने र मेरो चरित्रहत्या गर्ने हिसावमा भिडियो खिचेर र्सार्वजानिक गरिएको छ ।’

यता सेवाग्राही खनाल भने, आफु अन्तिमसम्म नम्र भएर बोल्दापनि वडाध्यक्षले नै हातपात गरेको आरोप लगाएका छन् । खनालले भने, ‘म हकवालाको सिफारिस लिन गएको थिए, वडामा सबै काम भएर राजश्व पनि तिरेर रसिद लिइसकेको थियो । सिफारिस पत्रमा हस्ताक्षरका लागि वडाअध्यक्षको कार्यकक्षमा गएको तर उहाँले हस्ताक्षर गर्न मान्नुभएन । उहाँले उल्टै मेरो जग्गामा अर्कैलाई घर बनाउन दिनुपर्छ भन्न थाल्नु भयो ।’

खनालले भने, ‘यो विषयमा भोली आएर सल्लाह गरौला आज मलाई हतार छ मेरो यति काम गर्दिनुस् भन्दा, छलफल नगरी हस्ताक्षर गर्दिन भन्नुभयो । उसोभए यो रसिद लिनु र मैले तिरेको पैसा फिर्ता दिनुस भन्दा उल्टै मसंग झर्किएर अपशब्द बोल्दै हातपातमा उत्रिनु भयो ।’

यस घटनाका विषयमा भिमाद नगरपालिकाका नगरप्रमुखले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्ने बताएका छन् । उनले भने, ‘सामाजिक सञ्जालमा राखिएको तस्विर र भिडियो एकपक्षीय ढंगले राखिएको देखिएको छ । यस विषयमा दुबै पक्षसंग छलफल गरी सत्यतथ्य के हो भनि पहिचान गरी सोही अनुसार कारवाही अगाडि बढाउने छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker