गण्डकी प्रदेशको बजेटमा पर्यटन : पूर्वाधार विकासदेखि तालको “कनेक्सन ट्रेल”

भञ्ज्याङ समाचारदाता/पोखरा

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखी विभिन्न योजना अघि सारेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) द्वारा प्रस्तुत ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेटमा पर्यटनका विविध विषयलाई समेटिएको छ ।

सरकारले गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तब्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारमा जोड दिएको छ । पर्यटकीय पूर्वाधार सेवाको गुणात्मक वृद्धिका लागि आवश्यक व्यवस्था मिलाउने र स्थानीय तहसँगको समन्वयमा प्रदेशभर रहेका प्रमुख तालको कनेक्सन ट्रेलको विकास गर्ने अर्थमन्त्री बरालले बताउनुभयो ।

त्यसैगरी एक एक स्थानीय तह एक प्रमुख पदमार्ग निर्माण, पवित्र धार्मिकस्थल रिडीदेखि लिगलिगकोटसम्मको गण्डकी ट्रेल, व्यास गुफा, छाब्दी कर्लुङ, रामकोट, बन्दीपुर हिलेखर्क, छिम्केश्वरी पदमार्ग, बेलङ्गा, पञ्चकोट पदमार्ग, हटिया बूढीकोट गोरखा पदमार्ग, देवघाट मौलाकाली, देवचुली चरम पुवाकोट नारी भञ्ज्याङ दाउन्ने महाभारत पदमार्ग लगायतको सम्भाव्यता अध्ययन गरी पदमार्ग विकास गुरुयोजना निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

प्रदेशका प्रमुख पर्यटकीय गन्तब्यमा पूर्वाधार विकासका कार्यक्रम अगाडि बढाइने र त्यसका लागि रु दुइ करोड २० लाख बजेट विनियोजन गरिएको मन्त्री बरालले बताउनुभयो । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि प्रदेशभित्र सञ्चालनमा रहेका घरबास (होमस्टे) कार्यक्रमलाई मानक निर्धारण गरी स्थानीय संस्कृति, वेषभूषा र कृषि उत्पादनसँग आबद्ध गरिने सरकारले जनाएको छ । होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्न प्रयोगलाई अनिवार्य बनाइ एग्रो टुरिज्म प्रवर्द्धन गर्ने विषयलाई समेटिएको छ ।

प्रदेशको आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक निजी तथा गैह्रसरकारी क्षेत्रसँगको सहकार्य र साझेदारीमा प्रभावकारी पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ भने लमजुङको क्होलासोथार, बागलुङको पञ्चकोट कास्कीको पुम्दीकोट, बेगनास, बराहक्षेत्र काहुँको बुद्धमण्डला, गोरखाको लिगलिगकोटलगायतका क्षेत्रलाई पर्यटनका नयाँ गन्तब्यका रुपमा विकास गर्ने भनिएको छ ।

पर्यटन सम्बद्ध सूचना र विपद्बाट पर्यटनमा पर्न जाने असर एवं पूर्वतयारी लगायतको सूचना आदानप्रदानमा सहजता ल्याउन एकद्वार सूचना प्रणाली विकास गरिने र विपत् तथा आपत्कालीन समयमा पर्यटकको तत्काल उद्धारका लागि आवश्यक बजेटको व्यवस्था गरेको वक्तव्यमा उल्लेख छ ।

प्रदेशमा साहसिक गतिविधिका रुपमा रहेका क्यानोनिङ, जलयात्रा, जिपलाइन, बञ्जीजम्प, बीच टुरिज्म तथा वाइल्ड लाइफ टुरिज्मलाई साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाइ प्याराग्लाइडिङलाई वैकल्पिक स्थानको खोजी गरी थप पर्यटकीय गतिविधि बढाइने बजेटमा उल्लेख छ ।

त्यसैगरी प्रचलित कानूनबमोजिम दर्ता भई प्रदेशभित्र इजाजतपत्र लिइ सञ्चालनमा रहेका तर कोभिड-१९ तथा अन्य विविध कारणले नवीकरण हुन नसकेका ट्राभल तथा ट्रेकिङ एजेन्सिको नवीकरण गर्ने व्यवस्था गरिने सरकारले जनाएको छ । उद्यमशीलता विकास, उद्यमीलाई उद्योगधन्दा स्थापना तथा सञ्चालनका लागि आवश्यक सहयोग समन्वय र सहजीकरणका लागि घरेलु तथा साना उद्योग कार्यालयलाई पुनःसंरचना गरी ‘विजनेश इन्क्युवेशन सेन्टर’ का रुपमा विकास गर्ने उल्लेख छ ।

पूर्वाधार विकासअन्तर्गत पोखरा आउने पर्यटकको आवागमनलाई सहज बनाउन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लेकसाइड र लेखनाथसम्म पुग्नसक्ने वैकल्पिक मार्ग सम्बन्धमा सभाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख छ ।

पर्यावरणीय संरक्षणअन्तर्गत तालतलैया सिमसार क्षेत्र तथा वन क्षेत्रको जैविक विविधता संरक्षण गर्न सोसम्बन्धी तथ्याङ्क अभिलेखीकरण गरिने र ताल प्राधिकरणमार्फत तालको संरक्षण एवं सौन्दर्यकरणका लागि सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि रु दुइ करोड विनियोजन गरेको बजेटमा उल्लेख छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker