सयपत्री फूल खेतीले फेरिंदै आँवुखैरेनीका महिलाको आर्थिक अवस्था

तीन वर्षमा ४५ रोपनीमा विस्तार, ४५ महिला सामूहिक उद्यममा आबद्ध

आँवुखैरेनी : दसैँको चहलपहल बढेसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका बारीमा फुलेका सयपत्रीले गाउँलाई पहेँलपुर बनाउँदै लगेको छ । फूलले बारी ढाकिएसँगै यहाँका महिलालाई उत्पादन र बिक्रीको चटारो थपिएको छ । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनीमा फैलिएको छ भने ४५ महिला सामूहिक उद्यममार्फत आम्दानीको बाटोमा अघि बढेका छन् ।

पहिले दसैँ–तिहारका लागि बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकामा अहिले स्थानीय बारीमै उत्पादित सयपत्री बजारमा पुग्न थालेको छ । सामूहिक खेतीमा आबद्ध महिलाले गत शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काम सुरु गरेका हुन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि उनीहरूमा थप उत्साह जागेको छ ।

महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूल माग गरेपछि बिक्रीका लागि फूल टिप्न थालिएको हो । स्थानीय उत्पादनले बजार पाउन थालेपछि फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने सम्भावना पनि बढेको उनले बताइन् ।

अध्यक्ष गुरुङले भनिन्, ‘पहिलो टिपाइमै ५० किलो फूलको माग आएको छ । यसले हामीलाई फूलखेतीलाई अझ व्यवस्थित रूपमा अघि बढाउन हौसला दिएको छ ।’

महिलालाई सामूहिक उद्यममा आबद्ध गराई स्थानीयस्तरमै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको खेतीले उनीहरूको आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको छ । सामूहिक रूपमा काम गर्दा श्रम, सीप र अनुभव आदानप्रदान गर्न सहज भएको छ । आफ्नै गाउँको जमिन र उपलब्ध स्रोतसाधन उपयोग गरेर आम्दानी गर्न पाउँदा महिलालाई उद्यमशील बन्ने अवसरसमेत मिलेको छ ।

अध्यक्ष गुरुङका अनुसार सयपत्री फूल प्रतिकिलो चार सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । उत्पादनलाई निरन्तरता दिँदै बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढाउन सकिने उनको विश्वास छ । स्थानीयस्तरमा फूल उत्पादन हुन थालेपछि बजारको माग पूरा गर्न बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउनसमेत सहयोग पुगेको उनले बताइन् ।

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा तीन वर्षदेखि व्यावसायिक सयपत्री खेती हुँदै आएको छ । महिलाको सहभागितामा खेतीको क्षेत्रफल विस्तार हुनु सकारात्मक रहेको उनले बताए ।

‘फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या छैन’, केसीले बताए । बजारको सम्भावना देखिएकाले उत्पादनलाई थप व्यवस्थित बनाउन र खेतीको विस्तारमा जोड दिन सकिने उनको भनाइ छ ।

दसैँ–तिहारजस्ता चाडपर्वमा सयपत्री फूलको माग बढ्ने भएकाले आँधीमूल यानचोकका महिलाका लागि यो खेती आम्दानीको महत्त्वपूर्ण आधार बन्न सक्ने देखिएको छ । तर, खेतीलाई दीर्घकालीन उद्यमका रूपमा स्थापित गर्न उत्पादनको गुणस्तर, बजारसँगको नियमित सम्बन्ध र बिक्री व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।

स्थानीय उत्पादनलाई स्थानीय बजारसँग जोड्दै व्यावसायिक खेती विस्तार गर्न सके सयपत्री फूलले गाउँलाई सजाउने मात्र होइन, महिलाको आर्थिक आत्मनिर्भरता बलियो बनाउने आधारसमेत तयार गर्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker