महिला कैदीबन्दिको गुनासो : “सेनिटरी प्याडसमेत पाइएन”
निशा थापा मगर/दमौली

जिल्ला कारागार तनहुँमा लागुऔषध ओसारपोसार गरेको मुद्दामा ५ वर्षको सजय काटिरहेकी ३५ वर्षीय महिला अहिले विभिन्न स्वास्थ्य जटिलता झेल्दै बसेकी छन् । उनी यौन रोग समस्यसंगै दीर्घरोगबाट पनि पीडित छन् ।
१२ वर्षै भारतमा बेचिएकी उनी १८ वर्ष पुग्दा उद्दार भयो । उनले भनिन्, ‘मलाई एचआइभी रोग लागेपछि उनीहरुले मलाई छाडिदिए । त्यसपछि नेपाल फर्किएर एचआईभी सम्बन्धी जनचेतना फैलाउने संस्थासंगै बस्ने र काम गर्ने गरे ।’
आफु लागुऔषध प्रयोगकर्ता नरहेको बताउने उनले पैसाको लागि मात्र लागुऔषध ओसारपोसार गरेको बताइन् । उनले भनिन्, ‘बुटवलबाट पोखरा लागुऔषध पुर्याउन आउँदा म समातिए र अहिले सजय काट्दै छु ।’ यौनरोग लागेसंगै निरन्तर पानी बग्ने समस्यको अपरेसनको लागि पैसा आवश्यक पर्नेहुँदा लागुऔषध ओसारपोसारमा लागेको उनको भनाई छ ।
‘पहिला त बसेको ठाउँमा पानी नै पानी हुन्थ्यो, कुनै कपडा, प्याम्पर्स र प्याडले पनि धान्दैनथ्यो’, उनले भनिन्, ‘एक पटक उपचार गरिसके अहिले प्यार्म्पर्सले धानेको छ । अब अपरेसन गर्नुपर्ने भएकाले अपरेसनको लागि पैसा चाहिएकाले त्यो काम गरेकी थिए ।’
अहिले उनले २४औं घण्टा प्याम्पर्सको प्रयोग गर्ने गरेको बताउँछिन् । ‘दिनरात प्याम्पर्सको प्रयोग गर्न गाह्रो हुन्छ, अझ महिनावारीको समयमा बढि रगतबग्नेसंगै पेट दुखेर असैय पीडा हुन्छ’, उनले भनिन्, ‘पाठेघर पनि झर्ला जस्तो हुन्छ । यहिको आमाले तातोपानी दिनुहुन्छ र डाक्टरले दिएको औषधी खान्छु अनि केही आराम हुन्छ ।’
यस्तै, मानव बेचविखनमा १० वर्षको सजय काटिरहेकी २२ वर्षीय महिला अन्य समयभन्दा महिनावरीको समयमा कारागारमा अलि असहज हुने बताउँछिन् । ‘महिनावरी मध्यरात, दिउँसो जति बेला पनि हुन सक्छ’, उनले भनिन्, ‘रातीको समयमा रगत बग्न लाग्यो र बाँकी प्याड छैन भने सुतिरहेकालाई उठाएर प्याड माग्नुपर्ने हुन्छ ।’
कारागारमा प्याड उपलब्ध नहुने हुँदा कार्यालय सहयोगीको हातमा पैसा दिएर प्याड ल्याउने गरेको उनले बताइन् । उनले भनिन्, ‘कास्की कारागारमा हुँदा विभिन्न संघसंस्थाले प्याड दिने गर्दथे तर तनहुँमा त्यस्तो पाइएन ।
कारागारमा कमाएको पैसाले प्याड किन्न नि धौ-धौ हुन्छ । कहिलेकाही त कपडा पनि प्रयोग गर्ने गरेका छौं । कारागारबाटै प्याड उपलब्ध गराइदिए हामीलाई सहज हुने थियो ।’
कारागारमा स्वास्थ्यकर्मी नभएकाले पनि महिनावारीको समयमा देखिने समस्यको घरेलु विधीबाटै उपचार गर्नुपर्ने बाँध्यता रहेको ४५ वर्षीय महिलाले बताइन् । उनले भनिन्, ‘सानो सानो समस्य भएपनि हडकडि लगाएर दमौली अस्पताल जानुपर्छ, भरु यहि तातोपानी र कारागारमै उपलब्ध औषधी खाएर बस्ने गरेका छौं ।
जटिल समस्य आए मात्र अस्पताल जाने पनि गरेका छौं ।’ कारागारमा स्वास्थ्यकर्मीको पद ३ वर्षेखि रिक्त छ । स्वास्थ्यकर्मीको माग गरिरहेपनि पदपुर्ति हुन नसकेको कार्यालयले जनाएको छ ।
यस्तै, महिनावारी र महिला स्वास्थ्य सम्बन्धी समस्य लिएर आफुकहाँ कुनैपनि कुरा नआएको कारागारका प्रमुख नारायण अधिकारीले बताए। उनले भने, ‘दुइ महिला कार्यालय सहयोगी हुनुहुन्छ, उहाँहरुसंग नै सबै आवश्यक सामाग्री मगाउनु हुन्छ । यस्तो समस्य आयो सम्बोधन गरिदिनुपर्यो भनेर मसम्म आएको छैन ।’
जिल्ला कारागार तनहुँमा गत फागुन महिनादेखि महिला कैदीबन्दि राख्न सुरु गरिएको छ । करिव २० वेड क्षमता रहेको कारागारमा तनहुँ, गोरखा र रुपन्देहीका १५ जना महिला कैदीबन्दि राखिएको प्रमुख अधिकारीले बताए ।
‘कारागारमा महिलालाई निःशुल्क प्याडको व्यवस्था गरिएको छैन’, उनले भने, ‘हामीलाई कसैले पनि प्याडको व्यवस्था गरिदिनु भन्नुपनि भएन । अब हामी यस विषयमा पनि सोच्ने छौं ।’










