बुल्दीखोला सरसफाई अभियान : ८ हजार किलो फोहर संकलन

दमौली : बुल्दीखोला सरसफाई अभियान अन्तर्गत शनिबार आठ हजार भन्दा बढी किलो फोहर संकलन गरिएको छ । तनहुँका सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा शनिबार भएको वृहत सरसफाइ अभियानबाट आठ हजार १६८ किलो फोहर संकलन गरिएको हो ।
बुल्दीखोलालाई स्वच्छ र सफा बनाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित व्यास नगरपालिका–१ करङकाठबाट व्यास नगरपालिका–२ स्थित आदिकवि भानुभक्त क्याम्पस जाने कल्भर्टसम्म भएको सरसफाइ अभियानबाट उक्त मात्रामा फोहर संकलन भएको हो । सरसफाइका क्रममा व्यास नगरपालिका–२ स्थित बाल मन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ । बाल मन्दिरका विद्यार्थीले १२१५.८२ किलो फोहर संकलन गरेका छन् ।
त्यस्तै व्यास नगरपालिका–१ स्थित लर्ड बुद्ध एकेडेमी द्वितीय भएको छ । लर्ड बुद्धका विद्यार्थीले १२०४.२२ किलो फोहर संकलन गरेका छन् । प्रथम भएको बाल मन्दिरलाई रु दश हजार र द्वितीय भएको लर्ड बुद्धलाई नगद रु पाँच हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । सरसफाइ अभियानमा १७ टिमको सहभागिता थियो ।

सरसफाइ अभियानका क्रममा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न टोल विकास संस्था, विद्यार्थी, खेलाडी, विभिन्न क्लवको सहभागिता रहेको थियो ।
यसअघि कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिकालाई फोहरमैला व्यवस्थापन कार्यका लागि यस्ता अभियानले सहयोग पुग्ने उल्लेख गरे । व्यास नगरपालिकाले घरबाटै फोहरको वर्गीकरण गरी फोहर संकलन गर्ने कार्य गरिरहेको र फोहरलाई मोहरमा परिवर्तन गरेको नगरप्रमुख न्यौपानेको भनाइ थियो। बुल्दीखोला वृहत सरसफाइ अभियानले आम मानिस जनचेतना वृद्धि गर्न सहयोग पुग्ने न्यौपानेले उल्लेख गरे ।
सामाजिक अभियान्ता गफ्फारले बुल्दी खोला सफा र कञ्चन हुनुपर्छ भन्ने मान्यतासहित आफू निरन्तर यो अभियानमा लागेको बताए। मासिक रुपमा बुल्दीखोलामा नियमित रुपमा सरसफाइ भइरहेको जानकारी गराउँदै उनले वर्षको एकपटक सबैलाई सहभागी गराएर वृहत रुपमा सरसफाइ गर्ने अभियान विगत वर्षदेखि सुरु गरेको बताए। सरसफाइ अभियानलाई प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउन पुरस्कारको व्यवस्था गरिएपनि यसको मुख्य उद्धेश्य भनेको जनचेतना नै भएको उनको भनाइ थियो ।










