“युट्युबमा राखिएको भिडियो हेरेर सिकेको सीपले दिलायो रोजगारी”

महिलाहरुलाई रोजागरीको थलो बन्दै आँवुखैरेनीको औद्योगिक ग्राम

तनहुँ : औद्योगिक ग्रामको स्थापनासँगै आँबुखैरेनी गाउँपालिकाका महिलाहरु घरायसी कामकाजबाट निस्केर उत्पादनशील काममा सक्रिय भएका छन् । युट्युबमा राखिएका भिडियोहरु हेरेर सीप सिक्दै मुढा, नाङ्लो जस्ता बाँसजन्य सामग्री उत्पादनमा जुटेका उनीहरु स्थानीय स्रोत साधानको प्रयोग गर्दै आर्थिक आत्मनिर्भरसमेत बन्न थालेका छन् ।
‘पहिले घरायसी काममै सिमित थिएँ’, आँबुखैरेनी गाउँपालिका–३ ढकालटारकी गौरी गुरुङ भन्छिन्, ‘अहिले मुढा बनाएर कमाएको पैसाले घर चलाउन र श्रीमान्लाई सहयोग गर्ने भएकी छु ।’
युट्युबमा भिडियो हेरेर मुढा बनाउन सिकेको बताउने गुरुङ अहिले व्यवसायिक रुपमा बाँसजन्य सामाग्री उत्पादन गर्नमा व्यस्त छिन् । तीन महिनाअघि टुथपिक र चपस्टिक बनाउने तालिम लिएकी गुरुङले युट्युबमा राखिएको भिडियो हेरेर मुढा बनाउन पनि सिकिन् ।
‘हातमा केही सीप भएपछि कतै रोजगारी पाइहाल्छु कि भन्ने आशामा थिएँ । गाउँपालिकाले घरनजिकै स्थानीय उत्पादनको प्रयोग गरी औद्योगिक ग्राम सञ्चालनमा ल्याएपछि म अहिले घरको कामधन्दा सकेर दिउँसोको समयमा मुढालगायत विभिन्न सामाग्री बनाउने काम गर्छु’, उनले भनिन्, ‘औद्योगिक ग्रामले हामीलाई रोजगारी दिएको छ तर, यहाँ जडान गरिएका मेशिन बिग्रिँदा बाँसबाट आवश्यक सामग्री तयार गर्न निकै गाह्रो भएको छ ।’
२८ वर्षीया गुरुङ मात्र होइन, २६ वर्षीया रश्मि नेपालीले पनि यही रोजगारी पाएकी छन् । उनी भन्छिन्, ‘पहिले समय बिताउने काम थिएन । अहिले भने मुढा बनाएर ३ महिनामा करिब ४० हजार रुपैयाँ कमाउन सफल भएकी छु ।’
औद्योगिक ग्राममा रोजगार पाएपछि आफूमा पनि आँट आएको नेपाली बताउँछिन् । ‘पहिला घरधन्दामै समय बित्थ्यो। आफ्ना लागि खर्च जोहो गर्न पनि समस्या थियो’, उनले भनिन्, ‘अहिले आत्मबल बढेको छ । घरको काम सकेर औद्योगिक ग्राममा आएर आफूले सिकेको सीपको उपयोग गर्दा आमदानीको राम्रो माध्यम बनेको छ ।’
स्थानीय महिला, विशेषगरी पिछडिएको वर्गका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले २०८१ असारबाट औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको हो । यहाँ हाल बाँसजन्य सामग्री बनाउने काममा १२ जना र फलामजन्य सामग्री तयार गर्नेमा ४ जनाले रोजगारी पाएका छन् ।
यस्तै उत्पादित वस्तुको बजार फराकिलो नहुनु चिन्ताको विषय बनेको ६० वर्षीया सानुमाया भुजेल बताउँछिन् । ‘अहिले हामीले बनाउने बाँसजन्य सामग्री हाम्रै पालिकाभित्रबाट मात्रै माग आउँछ’, उनले भनिन्, ‘यहाँ उत्पादित सामग्री पालिका बाहिराका बजार क्षेत्रमा पनि पठाउने व्यवस्था भए आम्दानी पनि राम्रो हुने थियो र धेरैले रोजगारी पनि पाउने थिए ।’
सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि ‘एक स्थानीय तह : एक औद्योगिक ग्राम’ बनाउने नीतिअनुसार १२० वटा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । सरकारको उक्त नीतिअनुसार सञ्चालनमा आएको तनहुँको आँबुखैरेनी गाउँपालिकाको औद्योगिक ग्रामबाट बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु भएको छ । करिब ९० रोपनी क्षेत्रफलमा २ वटा टहरा निर्माण गरी बाँसबाट सोफा सेट, झोलुङ्गा, डाइनिङ सेट, मुढा, नाङ्लो लगायतका सामग्री र फलामजन्य व्यायाम सामग्री, ठेलागाडा, पिङ, कृषि औजार, डेक्सबेन्च लगायतका सामग्री पनि उत्पादन गरिन्छ ।
स्थानीय स्रोत र साधन प्रयोग गरी उत्पादन गर्ने र गाउँमै रोजगारीको अवसर सिर्जना गरी आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्य रहेको औद्योगिक ग्रामका मेकानिकल इन्जिनियर बिमलबाबु रानाले बताए । ‘व्यवस्थित रुपमा उद्योगकै रुपमा चल्नको लागि भौतिक संरचनाको अपुग छ’, उनले भने, ‘पालिकाले नै सधैं सहयोग गर्दा अप्ठ्यारो हुन्छ । त्यसैले पब्लिक पाट्नरसिपको योजनाबाट अगाडि बढ्नुको लागि छलफल भइरहेको छ ।’
यस्तै, स्थानीय जनशक्ति, सीप, स्रोतसाधन र आधुनिक उपकरण प्रयोग गरी बाँस र फलामजन्य सामग्री उत्पादन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘गाउँमै उपलब्ध स्रोत र सीपलाई उपयोग गर्दै आधुनिक उपकरणमार्फत माग भएअनुसारको सामग्री उत्पादन थालिएको हो’, उनले भने, ‘गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसाग जोड्ने हाम्रो लक्ष्य छ ।’
औद्योगिक ग्रामको स्थापना मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत गरिएको हो । उनले भने, ‘नवीनतम् ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गरेको हो । यसमा प्रदेश सरकारको आर्थिक सहयोग प्राप्त भएको छ ।’
संघ, प्रदेश र पालिकाको लगानीमा उक्त औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको छ । उनका अनुसार हालसम्म संघको एक करोड ९० लाख र प्रदेश र पालिकाको साझेदारीमा एक करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । औद्योगिक ग्रामलाई दिगो र स्थायी रूपमा सञ्चालन गर्न ‘कम्पनी मोडल’मा लैजाने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
आगामी दिनमा १० वटा साना तथा मझौला उद्योग थपेर स्थानीय स्तरमै एक सय जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker