आयुर्वेद उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दो, जनशक्ति र पूर्वाधारको अभाव

भञ्ज्याङ समाचारदाता/दमौली

एक वित्तीय संस्थामा सेवा लिन जाँद भर्‍याङ ओर्लने क्रममा खुट्टाको व्यालेन्स नमिल्दा ढाँड सडि्कएर लौरो टेकेर हिड्नुपर्ने अवस्थामा पुगेका तनहुँको व्यास-१ भादगाउँका ६६ वर्षीय गंगाप्रसाद पोख्रेल हप्तादिनदेखि फिजियोथेरापी उपचार सेवा लिइरहेका छन् । हप्तादिनको उपचारपछि अहिले पुरानै अवस्थामा हिड्न सक्ने अवस्थामा पुगेको उनि बताउँछन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याए लगत्तै केन्द्रमा उपचारका लागि आइपुगेका पोख्रेलले हप्तादिनको नियमित उपचारपछि ठूलो राहतको महशुस गरेका छन् । उनले भने, ‘सहज उपचारको खोजीमा आयुर्वेद स्वास्थ्य केन्द्र आइपुगेको थिए, यही थेरापी सेवा सुरु गरिएको जानकारी भएपछि सेवा लिए, अहिले स्वास्थ्यमा सुधार आएको छ ।’

यस्तै विगत पाँच वर्षदेखि नशा सम्बन्धी समस्याले पीडित बनेका मध्यनेपाल नगरपालिका-९ लमजुङका २८ वर्षीय सरोज रानाभाटलाई पनि ठूलो राहत मिलेको छ । ढाँडको समस्याबाट ग्रसित बनेका सरोज उपचारका लागि पोखरा, काठमाडौं, भरतपुर लगायतका विभिन्न अस्पतालमा पुगेर उपचार गर्दा पनि समस्याको समाधान नभएपछि अहिले आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीमा आइपुगेका छन् ।

‘ढाँडको नशा सम्बन्धी समस्याले म निकै पीडित बने । उपचारका लागि धेरै रकम समेत खर्च भयो तर, निको हुन सकेन । अस्पतालले दिएको औषधी, ल्याब परीक्षणका रिपोर्ट सबै जलाएर अब कतैपनि जान्न भनेर घरै बसेको थिए’, उनले भने, ‘आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदीक उपचारबाट समस्याको समाधान हुन्छ भन्ने थाहापाएपछि बिगत १५ दिनदेखि उपचार सेवा लिइरहेको छु । अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएसंगै उपचार सेवा लिन आउनेको संख्या पनि बढ्दै गएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले बताए ।

‘पछिल्लो वर्षहरुमा केन्द्रमा उपचार सेवा लिन आउनेको संख्या समेत बढेको छ’, प्रमुख डा. मण्डलले भने, ‘अहिले दैनिक ६० देखि सय जना भन्दा बढी सेवाग्राही उपचारका लागि आउने गर्नुभएको छ । म आफै उपचार सेवा प्रवाहमा खट्टएिको छु । आयुर्वेद उपचार पद्धतिमा सेवाग्राहीको पनि आकर्षण बढ्दै गएको छ ।’

अधिकांश सेवाग्राहीहरु विभिन्न अस्पताल धाएर पनि रोग निको नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा आइपुग्ने गरेका छन् । ‘सुरुमै उपचार लिन आए रोगको पहिचान गरी चाडो निको गराउन सकिन्छ’, डा. मण्डलले भने, ‘यहाँ आइपुग्दा सेवाग्राहीको स्वास्थ्यमा २/३ वटासम्म रोगका समस्या देखिने हुँदा लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था आएको छ ।’

गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याएपछि केन्द्रले आन्तरिक स्रोतबाट आवश्यक अन्य उपकरणको व्यवस्थापन गरी उपचार सेवा प्रवाह गरेको केन्द्रका सुचना अधिकारी सोमकान्त पौडेलले बताए । केन्द्रले समय-समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको उनले बताए ।

स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०७८/०७९ मा ७३ हजार ५१४ जनाले उपचार सेवा लिइएका छन् । आव २०७७/०७८ मा ५५ हजार ८४२ जनाले उपचार लिएका थिए भने २०७६/०७७ मा ३८ हजार ५८५ जनाले स्वास्थ्योपचार सेवा लिएको सुचना अधिकारी पौडेलले बताए । स्वास्थ्य केन्द्रबाट स्वर बसेका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापी लगायत सेवा लिन सेवाग्राही आउने गरेका छन् ।

केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा मण्डलले बताए । केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।

आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फ आकर्षण बढ्दै गएका छने । एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेको केन्द्रले जनाएको छ ।

यस्तै, आयुर्वेद स्वास्थ्य उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दै गएपनि केन्द्रमा दरवन्दी अनुसार पदपूर्ति नहुनु, आवश्यक भौतिक पूर्वाधारको अभाव, विद्युतको वैकल्पिक व्यवस्था नहुनु, ढुवानी तथा प्राविधिक जनशक्तिमा तालिमको अभाव लगायतका समस्या केन्द्रले झेल्दै आएको छ ।

केन्द्रको समस्याका विषयमा सम्वन्धित निकायमा नियमानुसार जानकारी तथा अनुरोध गरिएको, स्थानीय नियकायहरुसँग समन्वय गरी नागरिक आरोग्य केन्द्र स्थापना गरिएको, कर्मचारीहरु करारमा नियुक्ति गरी सेवा प्रवाह गर्दै आएको केन्द्रका प्रमुख डा. मण्डलले बताए।

आयुर्वेद सेवा सम्वन्धी भ्रमात्मक विज्ञापन तथा भ्रम, कार्यक्रमहरुको अभिमुखिकरण नहुनु, भौगोलिक कठिनाई, कार्यविधि एवं निर्देशिका बमोजिम न्यून बजेटको व्यवस्था, पुर्नताजगी तालिम विहिन जनशक्ति, न्युन गुणस्तरीय आयुर्वेद औषधीहरुको उत्पादन, फिजियोथेरापी संचालनको लागि जनशक्तिको अभाव जस्ता कारणले सेवालाई प्रभावकारी बनाउन नसकिएको केन्द्रले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker