तनहुँ र कास्की जोड्न मसिना खोलमाथी झोलुङ्गे पुल निर्माण शुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका-२, एक्लेखेत र कास्कीको पोखरा महानगरपालिका-३२, को मजुवालाई जोड्ने मसिना खोलामाथि झोलुङ्गे पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय, तनहुँ गण्डकी प्रदेशको आयोजनामा ४४ मिटर लम्बाइ, १.६ मिटर चौडाइ भएको झोलुङ्गे पुल १३ लाख १३ हजार ८९८ रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । पुल आगामी २०७८ साल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुल निर्माणसँगै कास्कीको पोखरा महानगरपालिका-३२ का मजुवा, छुची, तल्लोगगनगौडाका बासिन्दाका साथै तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं १ र २ का एक्लेखेत, तार्कुडाँडा, भङगारा, मकनपुर, भुजीकोट र थप्रेकका बासिन्दा लाभान्वित हुने छन् ।
मसिना खोला -कोत्रेखोला) द्वारको मुखमाथि निर्माणाधीन झोलुङ्गे पुलको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शिलान्यास गरेकी छन् । सो अवसरमा उनले तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिका जोड्ने यस पुलको निर्माण गर्न आफूले विगत १० वर्षता निरन्तर प्रयास गर्दै आएको बताइन् ।
निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै कोइरालाले पुललाई केवल आवतजावत गर्नका लागि मात्र नभई उत्पादित वस्तुको आयातनिर्यातमा उपयोग गर्ने गरी उत्पादनमा लाग्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा मसिना खोला झोलुङ्गे पुल निर्माण सहयोग समितिका अध्यक्ष चक्रबहादुर ढकाल, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गाना लगायतले निर्माण कार्यलाई गुणस्तरीय बनाउँदै समयमा नै सक्नुपर्नेमा जोड दिएका थिए ।










