असोजमै मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित रहन प्रशासनको आग्रह

भञ्ज्याङ न्यूज

हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएको छ । केही दिनको अविरल वर्षासँगै हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको स्थानीयले बताएका छन् ।

मनाङ गाउँस्थित तिलिचो होटलका सञ्चालक ६१ वर्षीय कर्म गुरुङले यसअघि असोज पहिलो साता नै हिउँ परेको थाहा नपाएको बताए । ‘हिउँ २ इन्च जति जमेको छ । हामी पनि बाहिर निस्केका छैनौं । पर्यटकलाई पनि बाहिर ननिस्कन आग्रह गरेका छौं‚’ उनले भने ।

उनका अनुसार वेदर फोरकास्टले शनिबारसम्म हिउँ देखाएको छ । उनका अनुसार यसअघि २०७१ मा असोज तेस्रो साता हिमआँधी (हुदहुद) आएका कारण धनजनमा क्षति पुर्‍याएको थियो ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि मनाङमा हिमपात भएको बताए । ‘बिहान त हिउँमात्रै परेको थियो । अहिले हिउँ र पानी दुवै परिहेको छ‚’ उनले भने । उनका अनुसार हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ; चिसो बढेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार हिउँ परेपछि पर्यटक रोकिएका छन् । मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा विदेशी पर्यटक रहेको उनले बताए । उनका अनुसार थोराङ्ला पास (५,४१६ मि.) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायत ठाउँमा डेढ सय पर्यटक रहेको अनुमान छ ।

तिलिचो ताल (४,९१९ मि.) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतमा पनि पर्यटक रहेको अनुमान छ । ‘पर्यटकलाई जहााको होटलमा बसेको हो, त्यहीं बस्न र यात्रा अघि नबढाउन भनेका छौं‚’ उनले भने । उनका अनुसार सन् २०१४ अक्टोबर तेस्रो साता हिमआँधी आएर पर्यटकको मृत्यु भएको थियो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि.) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखिको देखिन डाँडाकाँडामा पनि हिमपात भएको छ । उनले एक सूचना जारी गरी हिमपात र बाढीपहिरोबाट जोगिन आग्रह गरेका छन् ।

उनका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण मनाङमा समेत भारी वर्षा भइरहेको साथै नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायत उच्च भूभागमा हिमपात भइरहेको छ ।

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री तथा स्थानीय बासिन्दालाई हिउँ तथा वर्षात्‌को ख्याल तथा पूर्वजानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको उनले बताए ।

उनका अनुसार नदी तटमा रहेका बस्तीका बासिन्दाहरूले पूर्वसावधानी एवं सतर्कता अपनाउन र कोही पर्यटक अलपत्र परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय तथा चेक पोस्टमा खबर गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोस्ट साथै गाउँपालिकाहरूले आ-आफ्नो क्षेत्रभित्र आवश्यक सहयोग, समन्वय एवं सूचना प्रदान गरी विपद् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ । वर्षात् रोकिनासाथ बाटोघाटो ठीक दुरुस्त सुचारु गराउन जनशक्तिसहित उपकरण तयारी अवस्थामा राख्न सरोकारवाला सबैमा मनाङ प्रशासनले अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण बेंसीसहर-चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिरोले सडक बगाउनुका साथै सडकमा पहिरो खसेपछि बुधबारदेखि यातायात सेवा अवरुद्ध छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker