तनहुँको पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटधाममा स्नान गर्नेको भीड

तनहुँको पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।

भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताउनुभयो ।

साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।

औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसीसमेत मनाउँछन् । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै महत्व नभएको बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ ।

महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीका लागि उचित समय नभएको बताउनुभयो ।

तनहुँ, चितवन र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker