सडकको स्तरोन्नती चुनावी नारा मात्रै, सर्वसाधारण भन्छन् : ‘हामीलाई भोट बैंक मात्र बनाइयो, विकासको अनुभूति गर्न पाइएन’
भञ्ज्याङ न्यूज

तनहुँको भानु मार्ग अन्तर्गत चन्द्रावती-पोखरीछाप सडक खण्ड विस्तार गरिएको करिब ३० वर्षबितेको छ । यो सडक खण्ड स्तरोन्नती गर्ने विषय यस अबधिका हरेक निर्वाचनमा नेताहरुको चुनावी एजेण्डा र नारा बन्दै आएको भएपनि अहिलेसम्म सडक अवस्थामा सुधार हुन सकेको छैन।
जिल्लाको पूर्वीउत्तर क्षेत्रका बासिन्दालाई सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ पृथ्वीराजमार्गको डुम्रेबाट भानु मार्ग विस्तार गरिएको हो । तनहुँका गाउँगाउँमा कच्चि सडक विस्तार गरिएपनि स्थानीयले सहज रुपमा उपभोग गर्न भने पाएका छैनन् ।
भानु मार्गको चन्द्रावतीबाट भानु नगरपालिकाको वडा नं. १२ र १३ का ग्रामीण क्षेत्रमा कच्चि सडक विस्तार गरिएका छन् । सडकलाई बिकासको पहिलो खुड्किलोको रुपमा पनि लिइन्छ । ग्रामीण क्षेत्रलाई सडकसञ्जालसंग जोड्नका लागि खनिएका सडकको समयमै स्तरोन्नती हुन नसक्दा र्सवसाधारणले सुविधा भन्दा बढि दुःख झेल्दै आएका छन् ।
हिउँदको समयमा धुलो र वर्षायाममा हिलोको समस्या सामान्य जस्तै बनेका ग्रामीण कच्चि सडक अहिले सानो झरी पर्दा यातायातका साधान समेत चल्न नसक्ने अवस्थामा पुगेका छन् । भानु मार्गको चन्द्रावती-पोखरीछाप-ठूलोढुंगा खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्ने काम अगाडि बढाइएपनि अहिले अलपत्र अवस्थामा रहेको भानु-१३ पोखरीछापकी गुनुमाया गुरुङ बताउँछिन् ।
‘निर्माणपक्षले सडक कालोपत्रे, नाला निर्माण लगायतका पूर्वाधार तयार गर्ने जिम्मा लिएको समय सकिएको करिब वर्षदिन बित्नै लागेपनि प्रगति सून्य अवस्थामा छ’, उनले भनिन्, ‘सडक खनेको लामो समय बितेपनि स्तरोन्नती हुन नसक्दा निकै दुःख कष्ट झेल्नुपरेको छ ।’
‘चुनावका समयमा विभिन्न राजनीतिक दलका नेताहरु हामीलाई भोट दिनुस् हामी गाउँमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको सहज व्यवस्थापन गर्र्छौ भन्ने गरेपनि व्यवहारमा त्यो भएको छैन’, गुरुङले भनिन्, ‘गाउँका बासिन्दालाई विकास दिनुभन्दा पनि भोट बैंकको रुपमा मात्र प्रयोग गरिएको छ । चुनावका बेला भोट माग्दै आउने नेताहरुले जितेर गएपछि हाम्रो समस्यामा कुनै चासो नदिएको, फोन गर्दा समेत नउठाउने, कतै भेट भइहालेमा हामीले कुरा गर्न खोज्दा समेत तर्केर हिड्ने गर्छन ।’
उनले भनिन्, ‘चुनाव जितेर गएका नेताहरु कत न गाउँ आएपनि यहाँका समस्याका विषयमा कुनै चाँसो नदिने माला लगाउने, भाषण गर्ने र यो गर्छु, त्यो गर्छु भन्ने गर्छन तर व्यवहारमा केही हुँदैन । हामी गाउँलेलाई भ्रममा पारेर आफ्नो सत्ताको सिढी चढ्ने खेलमात्रै खेलेका छन् ।’
२०४९ सालमा भानु मार्गको चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएका छन् । यो सडकको १० किलोमिटर खण्ड २०७८ माघ १५ गतेभित्र कालोपत्रे, नाला निर्माण तथा ग्याबिङ्ग जाली भर्ने लगायतका कार्य सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता गरिएको थियो ।
शंकरमाली कन्ट्रक्सन काठमाडौंले उक्त सडक खण्डको स्तरोन्नतीका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको भएपनि ठेक्काको समयसिमा सकिदा १० प्रतिशत पनि भौतिक प्रगति गर्न सकेको छैन । निर्माण पक्षले पहिलो चरणमा नियमानुसार पेश्की स्वरुप २ करोड ६८ लाख ६४ हजार १११ रुपैयाँ निकासा लिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
सार्वजनिक खरिद ऐनको १२औं संशोधन आएपछि निर्माण पक्षलाई २०८० असार मसान्तसम्म म्याद थपिएको छ । उक्त सडक खण्ड कालोपत्रे लगायतका कार्य गर्न शंकरमालीले आफ्नो प्रतिनिधि मार्फत काम गराउँदै आएको र ठेक्का सम्झौता लगत्तै काम अगाडि बढाउने प्रयास गरेपनि विभिन्न समस्या झेल्नुपरेको गुनासो निर्माण पक्षले गर्दै आएको छ ।
सडक दयनीय अवस्थामा पुग्ने स्थानीय सरकार, राजनीतिक दलका नेता तथा अन्य सरोकारवाला निकायले सडक निर्माणमा ताकेता नदिनु, काम भए नभएको अनुगमन नगर्नु, विकास निर्माणमा राजनीति गर्नुजस्ता कारणहरु रहेको भानु-१३ चनौटेका कृष्ण बहादुर कार्की बताउँछन् ।

‘सडक खनेको वर्षौ समय बितेको छ । यही सडकको स्तरोन्नती गर्छौ भन्दै चुनाव जितेर गएका नेताहरु अझै पनि यही कुरा गर्दै गाउँमा भोट माग्न आएका छन्’, कार्कीले भने, ‘नेताहरुले चुनाव जित्दै गए तर, हाम्रो समस्या समाधान गरेनन् । चुनाव जितेर गएका नेताहरुले आफ्नो जीवनस्तर परिवर्तन गरे तर हामी सर्वसाधारणको दैनिकीमा कुनै परिवर्तन आउन सकेको छैन ।’
यस्तै, सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरुले सडकको स्तरोन्नतीमा ध्यान नदिएको यातायात व्यवसायी बाबुलाल गुरुङको गुनासो छ । उनले भने, ‘चुनावको समयमा भोट माग्न मात्र गाउँ पस्ने नेताहरु अन्य समयमा फर्किएर पनि नआउने र गाउँको विकास तथा समास्या समाधानमा सहजिकरण गरेका छैनन् । अबको निर्वाचनमा हामीले पनि पुराना नेताहरुलाई भेट दिन सोच्नुपर्ने अवस्था आएको छ।’
समयमै सडकको स्तरोन्नती नहुँदा यात्रुहरुलाई समयमै सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन नसक्नु, सवारी साधान चाडैन थोत्रिने जस्ता समस्या झेल्नुपरेको अर्का यातायात व्यवसायी अक्बर मियाँको दुखेसो छ ।
‘गाउँगाउँमा कच्ची सडक त खनिएको छ । सडक खनेपछि स्थानीयले यातायातका साधान सञ्चालन गर्न जोड दिन्छन्’, व्यवसायी मियाँले भने, ‘सडक खनेपछि लाखौ रुपैयाँ खर्चिएर खरिद गरिएको सवारी साधान सञ्चालन त गरिन्छ तर सडकको स्तरोन्नती नहुँदा लगानी पनि उठाउन नपाउँदै सवारी साधान थोत्रो भएर काम नलाग्ने अवस्थामा पुग्ने गरेका छन् ।’
प्रदेश सरकार अन्तरगत रहेको उक्त सडक निर्माण पक्षको लापरवाहीका कारण हालसम्म सडक निर्माण कार्यले गतिलिन सकेको छैन । यता सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्सनले भने आफुले कामको जिम्मा लिए लगत्तै कोभिड-१९ संक्रमण फैलिपछि मुलुक लकडाउनको अवस्थामा पुगेकाले आवश्यक मजदुर समेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउने गरेको पूर्वधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरे बताउँछन् ।
भानु मार्ग हुँदै गण्डकी प्रदेशकै नमुना समुदायीक होमस्टेका रुपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे जाने गरिन्छ । सडकको स्तरोन्नती नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसक्ने अवस्था भएको छ । यसै मार्ग हुँदै तनहुँको दोश्रो अग्लो पहाड मिर्लुङकोट, शहीदको गाउँका रुपमा परिचित पुलिमराङ लगायतका ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्न जाने बाटोको अवस्था नाजुक बन्दै गएको छ ।
निर्माण पक्षले उक्त सडक खण्डमा केही ठाउँमा सडक सिमालाई चौडा बनाउने, ग्याबिङग जाली भर्ने तथा केही मात्रमा नाला निर्माणको काम गरेपनि अन्य काम हुन सकेको छैन ।
यस्तै, शंकरमालीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा-हर्कपुर मोटर मार्गको पनि सोही मितिमा ठेक्का सम्झौता गरेपनि काम सम्पन्न गरेको छैन। दुलेगौंडा-हर्कपुर मोटर मार्गमा जम्मा ४० प्रतिशतको हाराहारीमा कामको प्रगति भएको र तत्काल काम अगाडि बढाउने प्रतिवद्धता सहित अगामि असार मसान्तसम्म समय थप गरिएको पूर्वाधार कार्यालयले जनाएको छ ।










