खरको छानो फेरेर दशैं मनाउँदैछन् विपन्न

व्यास नगरपालिका–५ चिन्तुटारका चन्द्रबहादुर दरैको खरको छाना भएको घर छ । वर्षौँदेखि उहाँले सोही खरको छानामुनि जीवन निर्वाह गर्दै आउनुभएको छ । खरको छाना जोखिमपूर्ण भए पनि आर्थिक अवस्थाकै कारण छाना फेर्न नसकेको दरैले बताउनुभयो । “सबैभन्दा बढी डर आगलागीबाट हो, छाना फेर्न नसक्दा वर्षौँदेखि खरको छानामै ओत लागियो”, उहाँले भन्नुभयो, “पानी पर्दा पनि चुहिने समस्या त छँदैछ ।”

सोही वडाको चुँदेर निवासी अनिता थापाको पनि खरले छाएको घर छ । वर्षात्का समयमा खरको छाना चुहिएर समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो “ठूलो पानी पर्दा चुहिएर साह्रै समस्या छ, आगलागीको जोखिम पनि हुने सुनिन्छ”, उहाँले भन्नुभयो । मजदुरी गरेर घरखर्च चलाउँदै आउनुभएका चिन्तुटारका सुकबहादुर दरैले जस्ताको पाताले घर छाउने हैसियत नभएको बताउनुभयो ।

“दैनिक काम नगरे छाक टार्नै मुस्किल हुन्छ, जसोतसो जे छ त्यहीअनुसार नै जीवन निर्वाह गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । अब उहाँहरु खरको छानामुनि बस्नुपर्दैन । उहाँहरुले अब नयाँ जस्तापाताले घर छाएर दशैँ मान्न पाउने हुनुभएको छ । खरको छानामुक्त अभियानअन्तर्गत व्यास –५ ले विपन्न परिवारलाई जस्तापाता प्रदान गरेको छ । वर्षौँदेखि खर र फुसको छानामुनि बसोबास गर्दै आएका विपन्न परिवार पहिचान गरी खरको छानामुक्त अभियान सुुरु गरिएको व्यास–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “खरको छाना जोखिम भएकाले सर्वसधारणलाई सुरक्षित बनाउन नगरपालिकाले जस्ताको छाना छाउने काम सुरु गरेको छ”, उहाँले भन्नुभयो ।

व्यास –५ ले विनियोजन गरेको बजेटबाट सर्वसाधारणलाई जस्तापाता वितरण सुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो । वडाबाट विनियोजिन गरिएको रु १० लाखको बजेटबाट जस्तापाता वितरण थालिएको छ । खरको छानामुक्त बनाउन वडामा रु १९ लाख २७ हजार २६९ बजेट आवश्यक पर्ने र बाँकी रकम भने नगरपालिकाले विनियोजन गरेको छ ।

“खरको छानामुक्त वडा बनाउने अभियानअन्तर्गत खरको छानामुनि बस्दै आएका नागरिकको तथ्याङ्क सङ्कलन गरी जस्तापाता वितरण सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यही वर्षभित्र वडा खरको छानामुक्त बनाउँछौँ ।” वडा कार्यालयले पहिलो चरणमा २८ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । खरको छानामुक्त बनाउनका लागि प्रदेश सरकारबाट पनि लाभग्राही छनोट भइआएकाले दोहोरो नपर्ने गरी वितरण गरिने जनाइएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीको सुरक्षा नगरपालिकाको दायित्व भएकाले खरको छाना भएका सबै घरलाई जस्तापाताले छाउने जानकारी दिनुभयो । खरको छानामुक्त बनाउन नगरपालिकाले बजेट विनियोजन गरेको र त्यसको सुरुआत व्यास–५ बाट भएको उहाँले बताउनुभयो । “खरको छाना हुँदा आगलागीलगायतका जोखिम हुन्छ, सोहीबमोजिम खरको छानामुक्त बनाउने नगरपालिकाको अभियान हो”, उहाँले भन्नुभयो, “सबै वडामा यो अभियान सञ्चालन हुन्छ ।” नगरपालिकाले बोलपत्र प्रक्रियाबाट जस्तापाता खरिद गरिसकेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker