टपरी बनाउन अनुदानमा मेसिन, बन्दिपुरका होटलहरुमा टपरीको प्रयोग गरिने
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले सालको पातबाट टपरी बनाउन अनुदानमा मेसिन उपलब्ध गराएको छ । गाउँपालिकोले दुइ लाख १३ हजार ५०० रुपैयाँको मेसिन खरिद गरी महिला उद्यमी समुहलाई प्रदान गरेको हो ।
बन्दिपुर गाउँपालिका-६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई अनुदानमा मेसिन उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फ वडा नं. ६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेसिन हस्तान्तरण गरी तालिम समेत प्रदान गरिएको छ । तालिमको गाउँपालिकाका अध्यक्ष थापाले शुभारम्भ गर्दै सुकाएको सालको पातलाई मेसिनमा राखेपछि टपरी तयार गर्न सकिने र यसबाट समुहले राम्रो प्रतिफल लिन सक्ने बताए ।
सुरुमा मानिसले चार वटा पातलाई सिन्काले सिलाएर मेसिनमा राख्नुपर्छ । तालिममा १२ जना सहभागी छन्। समुहले उत्पादन गरेको टपरी बन्दिपुर कोसेली घरमा राखेर पनि बिक्री वितरणको व्यवस्था मिलाइएको गाउँपालिकाका कार्यक्रम अधिकृत दिनेश पौडेलले बताए।

यस्तै, बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष थापाले बताए । प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने वातावरण प्रदुषण पनि नहुने र मलको रुपमा पुनः टपरीलाई प्रयोग गर्न सकिने भएकाले यो कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
बन्दिपुर-२ बसपार्कस्थित टुँडिखेल चोकमा बन्दिपुर कोसेली घर निर्माण गरिएको छ । गाउँपालिकाले महिलाहरूलाई आयआर्जनतर्फउन्मुख गराउन थालेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।










