तनहुँका ९२.८ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच

दमौली । तनहुँका ९२.८ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा चार हजार ७८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिइन । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ ।
हालसम्म जिल्लाका १५ हजार ९९४ घरमा निजी धारा जडान भएका छन् । सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार ७८० जना लाभान्वित भएका उनले बताइन ।
उक्त आर्थिक वर्षमा संघीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुनःस्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो । कार्यालयले कार्यान्वयन गर्ने योजना संख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताइन । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् ।
उक्त आर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताइन ।










