विद्युत पोल स्थान्तरण गर्न ठेक्का लागेन : राजमार्ग विस्तार कार्यमा अवरोध
नारायण खड्का/तनहुँ

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्य अगाडि बढाइएको छ । रामार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-जामुने पूर्वीखण्ड र जामुने-पोखरा पश्चिमखण्ड गरी दुइ खण्डमा अहिले सडक विस्तारको कामलाई तीब्रता दिइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पृथ्वीराजमार्ग विस्तार कार्यमा अहिले सडक चौडा बनाउने, पुल, कल्भर्ट निर्माण तथा टेवा पर्खाल लगाउने कार्य भइरहेको छ । तर, सडक सिमा भित्र रहेका विद्युत पोलहरु स्थान्तरण नगरिदा भने काममा अवरोध आउन थालेको छ ।
सडक विस्तार कार्य चलिरहदा सरकार पक्षबाट सडक सिमा भित्रका भौतिक पूर्वाधार नहटाइनु तथा विद्युत पोल स्थान्तरण नगरिदिदा काममा अवरोध आउन थालेको छ । सडकको स्तारोन्नती कार्य सुरु हुनु पूर्व नै विद्युत पोल स्थान्तरण गरिसक्नुपर्नेमा हालसम्म सो कार्य हुन नसक्दा सडक स्तरोन्नतीको प्रगति देखाउन नसकिएको निर्माण पक्षले बताउन थालेको छ ।
सडक सिमा भित्रका विद्युत पोल स्थान्तरणका लागि नेपाल विद्युत प्राधिकरणले बोलपत्र आव्हान गरेपनि अझै टुंगोमा पुग्न सकेको छैन । प्राधिकरणले आव्हान गरेको बोलपत्र अनुसार पश्चिमखण्डको ठेक्का प्रक्रिया अगाडि बढेपनि पूर्वीखण्ड तर्फ रीतपूर्वक बोलपत्रको निवेदन नपरेका कारण पुनः दोश्रो पटक बोलपत्र आव्हानको सूचना प्रकाशित भएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख मेखराज जोशीले बताए ।
‘राजमार्गको पश्चिम खण्डका विद्युत पोल स्थान्तरण तथा अपग्रेडका लागि आव्हान गरिएको बोलपत्रमा रीतपूर्वक निवेदन परेका कारण ठेक्का प्रक्रिया अगाडि बढेको हुँदा यस खण्डमा अब चाडैन काम अगाडि बढ्ने छ’, प्रमुख जोशीले भने, ‘राजमार्गको पूर्वीखण्ड (आँवुखैरेनी-जामुने)मा भने दुइ वटा निवेदन दर्ता हुन आएका र ती निवेदन पनि रीत नपुगेका कारण अस्वीकार भएकाले पुनः गत आइतबार दोश्रोपटक १५ दिनको समय तोकेर बोलपोत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।’
प्रमुख जोशीका अनुसार सूचना प्रकाशित भएको १५ दिन भित्र रीतपूर्वक बोलपत्रको निवेदन परेमा करिब डेढ महिना भित्र ठेक्का प्रक्रिया पुरा गरी पोल स्थान्तरणको काम शुरु गर्न सकिन्छ । यदि यो पटक पनि रीतपूर्वक निवेदन नपरेमा प्रक्रिया पुरा गरी काम गर्दा अझै केही महिना लाग्न सक्ने उनले बताएका छन् ।
सडक निर्माण पक्षले कामलाई तीर्वता दिईरहदा नेपाल विद्युत प्राधिकारण मातहत रहेका पोलहरु नहटाइदा आयोजनाले कामको प्रगति देखाउन नसकेको पूर्वीखण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए । उनले भने, ‘सडक बिस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाइएपनि समग्र योजनाको प्रगति अपेक्षित नहुनुमा विद्युत पोलको समस्य प्रमुख कारक रहेको छ ।’
प्रमुख सुवेदीले भने, ‘सडक विभागले लागत अनुमान गर्दा विद्युत पोल स्थानन्तरण भनेको र विद्युत प्राविधिकरणले पुरानो ९ मिटरका पोलको सट्टामा १३ मिटर उच्चाइका नयाँ पोलहरु राख्नु पर्ने तर त्यसका लागि प्रयाप्त बजेट नभएको भन्दै पोल हटाउन ढिला गरिदिदा काममा समस्या देखिन थालेको छ।’
विद्युत प्राधिकरणले हटाउन पर्ने पोलको स्टमेट निकालेर टेण्डर प्रक्रिया अगाडि बढाएपनि टेण्डर लाग्न सकेको छैन । चालु आर्थिक वर्षभित्र पूर्वी खण्डका सबै विद्युतका पोलहरु स्थानन्तरण हुने अनुमान गरिएपनि अहिलेसम्म ठेक्का लाग्न नसक्दा सडक विस्तार कार्यमा अवरोध आउन थालेको छ । निर्माण पक्षले राजमार्गको पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनीबाट बरादी पुलसम्मको करिव ७ किलोमिटर सडकखण्ड जानवरी १५ बाट कालोपत्रे गर्ने तयारी गरेपनि विद्युत पोलकै कारण काम अगाडि बढाउन नसकिने अवस्था रहेको बताउने गरेको छ ।
तनहुँ खण्डमा करिव २ हजार २ सय नयाँ विद्युत पोलहरु राख्नुपर्ने अनुमान गरिएको छ । विद्युत पोल स्टमेटमै ढिलाई भएका कारण समयमा विद्युत पोल हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताएका छन् । विद्युत पोल हटाउनका लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको हुँदा हाललाई आवश्यकता अनुसार आन्तरिक रुपमा विद्युतका पोलहरु हटाएर कामलाई अगाडि बढाइएको छ ।
साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनको बनाउने क्रममा पूर्वी खण्डमा ४ वटा ठुला र १३ वटा साना पुलहरु निर्माण गरिने भएको छ । हाल २ वटा ठुला र ३ वटा साना पुल निर्माणधिन अवस्थामा छन् भने २ वटा साना पुल निर्माण सम्पन्न भएका छन् । राजमार्गको पूर्वीखण्डमा १७० वटा कर्ल्भर्ट बन्नेमा ३० वटा निर्माण सम्पन्न भईसकेका छन् भने ३२ वटा कल्भर्ट निर्माणाधिन अवस्थामा छन् ।
आयोजनाले पूर्वीखण्डमा करिव ५०५ वटा भौतिक संरचना भत्काउने भएको छ । दमौली र डुम्रे खण्डलाई नसमेटि ६ करोड ५४ लाख रुपैयाँ बराबरको मुआब्जा व्यहोर्नुपर्ने आयोजनाले बताएको छ । भत्काउन भनिएका ३८० भौतिक संरचनामध्ये २५० जनाले मुआब्जा लिइसकेका छन् भने १३० जनाले पहिलो किस्तामात्रै लिएका र ३८० मध्ये ३/४ वटामात्रै घर तथा टहरा भत्काउन बाँकी रहेको पूर्वीखण्डका आयोजना प्रमुख सुवेदीले बताए ।
पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्रका भौतिक संरचनाहरु प्रभावित हुने छन् । आयोजनाले बजार क्षेत्रमा सर्भिस लेन सहित ६ लेनको र ग्रामीण क्षेत्रमा ४ लेनको सडक बिस्तार गर्ने गरी काम अगाडि बढाएको छ ।
चार लेनमा विस्तार हुन लागेको मुग्लिन-पोखराको दूरी करिब ८८ किमि छ । आयोजनाले आँबुखैरेनी-जामुनेको ४१ किलोमिटरलाई पूर्वी खण्ड र जामुने-पोखराको ३९ किलोमिटरलाई पश्चिम खण्ड गरी दुइ खण्डमा विभाजन गरेको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले वि.सं. २०७८ जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता गरेको छ । यस्तै, पूर्वी खण्ड निर्माणका लागि अर्को चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले वि.सं. २०७८ वैशाख २ गते ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ ।










