व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा
पूर्ण विके/तनहुँ
गाउँघरमा गाईभैंसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा संकटमा परेको छ ।
कास्कीको रुपा गाउँपालिका-७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आउनुभएको छ । तर बजार नपाएपछि उहाँ बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्नुहुन्छ । पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताउनुभयो ।
उहाँसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।”
“आफूहरूले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुइ वटासम्म ठेकी बनाउने गर्दछौँ ।”
कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरूले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताउनुभयो । “गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने ?, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्र्छौ”, उहाँले भन्नुभयो ।
हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरूको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताउनुभयो । “गाउँमा बाबुबाजेले यही पेशा गर्दै आउनुभएको थियो”, स्थानीय रामबहादुर विश्वकर्माले भन्नुभयो ।

समूहगत रूपमा छलफल भएअनुसार आफूहरू कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । रामबहादुरले भन्नुभयो, “समूह बनाएर बाँडिएर फरक-फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।”
केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरूसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका-४ रम्घाका श्रीकृष्ण सोतीले बताउनुभयो । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उहाँको भनाइ छ ।
“ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ तर राम्रो भनेर दुइ वर्षअघि किनेको फुट्यो”, सोतीले भन्नुभयो, “त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाएर किनेको छु । अब भने ५/७ वर्ष केही नहोला भन्ने ठानेको छु ।”
आफूहरूले परम्परागत रूपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भएपनि लगानी अभावका कारण दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताउनुभयो । गाउँका अधिकांश मानिस साक्षर मात्र छन् । एसएलसी पास गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उहाँको भनाइ छ ।
यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछ । ठेकीको प्रतिमाना रू चार सय, गिलास, कचौरा र कपको आकारका आधारमा रू एक हजारदेखि दुइ हजार पाँच सयसम्ममा बिक्री हुन्छ । काठका यस्ता सामान बनाउँदा काठ घुमाउने भैँसी या राँगोको छाला -तोला), र फलामका बाँक, भाँडी र विनीलगायतका सामानहरू आवश्यक पर्दछ ।










