व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

पूर्ण विके/तनहुँ

गाउँघरमा गाईभैंसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा संकटमा परेको छ ।

कास्कीको रुपा गाउँपालिका-७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आउनुभएको छ । तर बजार नपाएपछि उहाँ बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्नुहुन्छ । पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताउनुभयो ।

उहाँसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।”

“आफूहरूले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुइ वटासम्म ठेकी बनाउने गर्दछौँ ।”

कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरूले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताउनुभयो । “गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने ?, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्र्छौ”, उहाँले भन्नुभयो ।

हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरूको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताउनुभयो । “गाउँमा बाबुबाजेले यही पेशा गर्दै आउनुभएको थियो”, स्थानीय रामबहादुर विश्वकर्माले भन्नुभयो ।

समूहगत रूपमा छलफल भएअनुसार आफूहरू कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । रामबहादुरले भन्नुभयो, “समूह बनाएर बाँडिएर फरक-फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।”

केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरूसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका-४ रम्घाका श्रीकृष्ण सोतीले बताउनुभयो । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उहाँको भनाइ छ ।

“ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ तर राम्रो भनेर दुइ वर्षअघि किनेको फुट्यो”, सोतीले भन्नुभयो, “त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाएर किनेको छु । अब भने ५/७ वर्ष केही नहोला भन्ने ठानेको छु ।”

आफूहरूले परम्परागत रूपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भएपनि लगानी अभावका कारण दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताउनुभयो । गाउँका अधिकांश मानिस साक्षर मात्र छन् । एसएलसी पास गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उहाँको भनाइ छ ।

यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछ । ठेकीको प्रतिमाना रू चार सय, गिलास, कचौरा र कपको आकारका आधारमा रू एक हजारदेखि दुइ हजार पाँच सयसम्ममा बिक्री हुन्छ । काठका यस्ता सामान बनाउँदा काठ घुमाउने भैँसी या राँगोको छाला -तोला), र फलामका बाँक, भाँडी र विनीलगायतका सामानहरू आवश्यक पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker