लायन्सद्वारा पञ्चमुनिलाई “भेन्डिङ मेसिन” हस्तान्तरण
भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई ‘भेन्डिङ मेसिन’ उपलब्ध गराइएको छ । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ एम नेपालले विद्यालयलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।
छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड उपलब्ध गराउने उद्देश्यले क्लबले ‘भेन्डिङ मेसिन’ हस्तान्तरण गरेको जोन चियर पर्सन सुमन सापकोटाले बताए। उनका अनुसार मेसिनबाट छात्राहरु आफैले कार्ड राखेर सेनेटरी प्याड निकाल्न सक्ने छन् ।
विद्यालयका ११/१२ संयोजक लक्ष्मण पुरीले विद्यालयमा ‘भेन्डिङ मेसिन’ र प्याड नष्ट गर्ने दुबै मेसिन उपलब्ध भएको हुँदा छात्रा विद्यार्थीको सहजताका लागि ‘चेन्जिङ रुम’ स्थापन गरी अगाडी बढ्ने बताए । ‘हामीले प्याड त उपलब्ध गराएका थियौ । तर, व्यवस्थित रुपमा वितरण गर्न सकेका थिएनौ ।
लायन्सले भेन्डिङ मेसीन दिएपछि हामीलाई अब सहज हुने भएको छ’, उनले भने, ‘विद्यालयले छात्रा विद्यार्थीहरुका लागि चेन्जिङ रुप स्थापना गर्ने छ । उक्त ठाउँमा भेन्डिङ मेसिनबाट विद्यार्थीले प्याड निकाल्ने छन् भने डिस्पोज मेसिनबाट प्याडलाई नष्ट गर्न सक्ने छन् ।’
‘भेन्डिङ मेसिन’ लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ एम नेपालका अध्यक्ष भिमलाल पौडेल, डिष्ट्रिकका सचिव बलराम सुवेदी, डिष्ट्रिक चिफ मोतिप्रसाद पौडेल, लायन्स बुद्धि थापा, प्रदिप थापा लगायतको टोलिले विद्यालयका सहायक प्रधानाध्यापक विमल जोजिजु र ११/१२ संयोजक पुरीलाई हस्तान्तरण गरेका थिए ।










