तनहुँमा ४४५ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा
भञ्ज्याङ न्यूज

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको हो ।
सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो ।
चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइएको हो। जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
जिल्लामा कार्यान्वयनमा रहेका महत्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्यसम्पन्न भइसकेको, दुइ निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु तीन करोड ८१ लाखको लागतमा भीमाद-१ र घिरिङ-२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, रु एक करोड ८९ लाखमा शुक्लागण्डकी-९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, रु एक करोड १८ लाखमा भीमाद-५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ ।
त्यसैगरी रु एक करोड २९ लाखमा शुक्लागण्डकी-१० स्थित लोकदीटार सिँचाइ योजना, रु एक करोड २१ लाखको लागतमा देवघाट-१ स्थित बेसारघारी सिँचाइ योजना र रु ७९ लाख ४८ हजारको लागतमा भीमाद-७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिनुभयो ।










