भानु स्मृति पार्कको डिपिआर तयार

भञ्ज्याङ समाचारदाता/दमौली

आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति पार्क निर्माण गरिने भएको छ । भानु नगरपालिका-४ पुरनडिहीमा भानु स्मृति पार्क निर्माण गर्न लागिएको हो ।

भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति पार्क निर्माणका लागि डिपिआर तयार भएको छ ।

सहरी विकास मन्त्रालयले संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत पार्कको डिपिआर तयार गरेको रानाभाटले बताए । उनले भने, ‘भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई पूरा गराउनका निमित्त भानुस्मृति पार्कको निर्माण गर्न लागिएको हो ।’

पार्क निर्माणका लागि करिब रू तीन करोड बजेट आवश्यक पर्ने देखिएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्षमा रू एक करोड ५० लाखका लागि बोलपत्र आहृवान भइसकेको छ । उनले भने, ‘चालु आर्थिक वर्षमै निर्माण सुरु गर्ने लक्ष्य छ भने तीन वर्षभित्र पार्क निर्माण हुनेछ ।’ पार्कमा भानुभक्त आचार्य, मोतीराम भट्ट र भानुभक्तलाई चिनाउने घाँसीको मूर्ति निर्माण गरिनेछ ।

त्यस्तै हल, मन्दिर, पानीको फोहरा, सानो चिडियाखाना र बालबाटिका पनि पार्कभित्र निर्माण हुनेछन् । जन्मस्थल विकास समितिकै मातहत रहेको १४ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ । गत वर्षनै निर्माण सुरु भइसक्नुपर्ने मन्त्रालयबाट बजेट विनियोजन नहुँदा काम ढिलाइ भएको रानाभाटले बताए ।

जन्मस्थल विकास समितिकै सक्रियतामा चुँदीरम्घालाई सप्तधामका रुपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको छ । र्’पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ र त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।’

समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रू एक करोड बजेट आवश्यकपर्ने अनुमान गरिएको छ । शिखर कटेरीमा भानुभक्तको घर खण्डहरमा अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूला-ठूलाकाँडा सहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जंगलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माण गर्ने भनेको लामो समय भइसकेपनि काम सुरु नभएकाले समितिकै सक्रियतामा अब घर निर्माण थालिने रानाभाटले बताए ।

‘घर निर्माण गर्ने भनेर शिलान्यास भएको लामो समय भयो, काम भएन’, उनले भने, ‘अब समितिले आफैले घर निर्माण कार्य थाल्छ ।’ भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजना अनुसार रू तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापिठमा कच्चीबाटो रहेकाले वर्षायाखममा आवतजावत गर्न कठिनाई भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउँछन् ।

विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीय निराश छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker