तनहुँ-१ उपनिर्वाचन : नयाँ अनुहारका उम्मेदवार बीच रोचक चुनावी प्रतिस्पर्धा
भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार विभिन्न ९ वटा दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा हुन लागेको उपनिर्वाचनको र्सवत्र चासो र चर्चाको विषय बनेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ता गर्ने समय भित्र विभिन्न दलका ९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाली कांग्रेसबाट गोविन्द भट्टराइ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ-१ निर्वाचन क्षेत्रको ४२ वडाका ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र कायम गरिएको छ । एक लाख २३ हजार ३०५ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा अहिले नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । नयाँ अनुहारका यी पार्टीका उम्मेदवारबीच रोचक चुनावी प्रतिस्पर्धा हुने चर्चा चल्ने गरेको छ।
उम्मेदवारी मनोनयन दर्ता गराउँदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले आफूलाई रामचन्द्र पौडेलको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेका छन् । सत्ता गठबन्धनका साँझा उम्मेदवार भट्टराइ सत्ता गठबन्धन र कांग्रेसभित्र व्याप्त अन्तरकलह अहिले नभएको दाबी गरेका छन् ।
साइत हेराएर दिउँसो ३ः१४ बजे उम्मेदवारी दर्ता गर्न पुगेका भट्टराइको प्रस्तावकमा रघुनाथ पौडेल र समर्थकमा सरिता गुरुङ रहेका छन् । आफु अन्य पार्टी र अवसरको खोजीमा नहिडेको र आफ्नै पार्टी भित्र संघर्ष गरेर अगाडि बढ्ने बताउँदै तनहुँका जनताले मेरो कामको मूल्याङ्कन गरी निर्वाचित गराउनेमा विश्वासत छन् ।
‘रामचन्द्र पौडेलले सुरुवात गर्नुभएको र अधुरा रहेका सडक विस्तार, पुल निर्माण, किसानका अवस्था सुधार, युवाहरुलाई जिल्लामै रोजगार दिने जस्ता विषयलाई अब म पुरा गर्छु, उनले भने, ‘यो रामचन्द्रको जिल्ला हो, कांग्रेसको किल्ला हो, यो निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नु भनेको अन्य दललाई च्यालेन्ज हो, राजनीतिकमा कुरा मात्र होइन काम पनि गरेर देखाउँछु ।’
यस्तै, मुख्य प्रतिस्पर्धी रहेको नेकपा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । उम्मेदवार मनोनयन दर्तासंगै उम्मेदवार खनालले आफु देश र राष्ट्रको सेवा गर्दै आएको र आगामि दिनमा पनि सेवा गर्ने उत्कट अभिलाशा यो निर्वाचनले पुरा गरिदिनमो आफु विश्वास्त रहेको बताएका छन् ।

तनहुँको भूगोल, यहाँको समस्या र आवश्यकताका विषयमा आफु जानकार रहेको बताउँदै उम्मेदवार खनालले मेरा विगतका योग्दान र आगामि दिनमा गर्ने कामको मूल्याङ्कन गरी मतदाताले विजयी गारउनेमा आफु विश्वास्त रहेको बताए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आव्हान गर्ने दिन भएको बताएका छन् । उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेसंगै उनले २०८० वैशाख १० नयाँ युगको आव्हान गर्ने दिनको रुपमा लिएको बताए ।
नेपालमा सुशासन नरहेको र कुशासन भएको बताउँदै उनले तनहुँ जिल्लाबाट गर्व गर्न लाइकको सांसद बन्ने मेरो दृढ विश्वास रहेको बताए। अहिलेको राष्ट्रिय मुद्दा, अर्थतन्त्रसंग सम्बन्धित विषयले नेपाललाई अल्झाई राखेको बताउँदै उनले भने, ‘हाम्रो प्रणालीहरु भत्किएका, किनबेच र सेटिङका कुराहरु भएका तथा सार्वजनिक संस्थानहरुमा क्षयीकरण भएका छन् । भत्किएका प्रणालीका कारण नेपाल उभो लाग्न कठिन भएको छ । नेपालजस्तै मुलुकहरुले आर्थिक विकास गर्दा पद्धति ब्रि्रेकाले ती देश सरह पुग्न नसकिएको हुँदा यस्ता मुद्दाहरुलाई केही सार्थक हस्तक्षेप गर्न सक्छुकी भन्ने विश्वास लागेर तनहुँमा निर्वाचन लढ्न आएको छु ।’
नयाँ अनुहारबीच प्रतिस्पर्धा
यस्तै, रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ-१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुन लागेको छ । सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराइ, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रकालागि यी तीनै जना नयाँ अनुहार हुन् ।
कांग्रेसले पुरानो विरासत भएको क्षेत्रमा विद्यार्थी र तरुण संगठनमा लामो समय काम गरेका नेता भट्टराइलाई अघि सार्दा एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उभ्याएको छ । तर, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएपछि जिल्लामा बलियो सांगठनिक जग बनाएका कांग्रेस र एमालेलाई अर्थशास्त्री वाग्ले चुनौती बन्ने पनि आंकलन गर्न थालिएको छ । कांग्रेसमा आवद्ध रहेका वाग्लेले कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवारी दिएपछि तनहुँ-१ को उपनिर्वाचन थप रोचक, चासो र चर्चाको विषय बनेको छ ।
कांग्रेसको बलियो संगठन र धेरै नेता भएको क्षेत्र हो यो । कांग्रेसबाट ०४८ सालपछि निरन्तर चुनाव लड्दै आएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि कांग्रेसले यसपटक भट्टराइलाई अघि सारेको हो । नेविसंघको केन्द्रीय अध्यक्ष, तरुण दलका महासचिव र पार्टीको केन्द्रीय सदस्यसमेत भइसकेका भट्टराइ पहिलो पटक संसदीय चुनाव लड्दैछन् । पार्टीले एउटै व्यक्तिलाई पटक-पटक उम्मेदवार बनाउँदा जाममा परेका भट्टराइ लामो प्रतिक्षापछि अवसर पाएपनि चुनौतीपूर्ण प्रतिस्पर्धामा छन् ।
त्यसो त हरेक चुनावमा तनहुँबाट चुनाव लड्न कांग्रेसमा हुने लडाइँ नौलो होइन । तनहुँ कांग्रेसले बहुदल स्थापनापछि नै एकैपटक राष्ट्रिय राजनीतिमा बलियो पकड बनाएको थियो । त्यसबेलादेखि नै पहिलो पुस्ताका नेताहरू रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी र रामचन्द्र पोखरेल उम्मेदवार बन्ने प्रतिस्पर्धामा हुन्थे । उनीहरूपछि दोस्रो पुस्तामा ध्रुव वाग्ले, गोविन्द भट्टर्राई, शंकर भण्डारी र प्रदिप पौडेलहरूबीच पनि उस्तै प्रतिस्पर्धा चल्दै आएको छ ।

राज्य पुनःसंरचना हुनुअघि तनहुँमा तीन निर्वाचन क्षेत्र थिए, ती क्षेत्रमा पौडेल, जोशी र कैनी चुनाव लड्थे। पुनःसंरचनापछि मर्ज भएर दुइमात्रै निर्वाचन क्षेत्र बन्दा उम्मेदवार बन्न पौडेल र जोशीबीचमै टकराव भयो, ०७४ को निर्वाचनमा पौडेल पार्टीको आधिकारिक उम्मेदवार बन्दा बागी बनेका जोशी कारबाहीमा परे । जिल्लामा कांग्रेसभित्रै संघर्ष गरिरहेका जोशीमाथिको कारबाही कांग्रेसले आइतबारमात्रै फुकुवा गर्यो ।
कैनी अस्वस्थताका कारण अहिले सक्रिय राजनीतिमा छैनन्। उनीपछि तनहुँ-२ मा शंकर भण्डारी चुनाव लड्दै आएका छन् । तनहुँमा मौका नपाएपछि काठमाडौं-५ बाट उम्मेदवार बनेका अर्का पौडेल यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पालो पर्खिएर बसेका वाग्ले, पोखरेलहरू मध्येबाट यसपटक भट्टर्राईले टिकटमा बाजी मारेका छन् ।
विद्यार्थी राजनीतिमा सक्रिय हुँदा लोकप्रिय भट्टराइ संसदीय राजनीतिमा पछि परेका कारण नयाँ पुस्तामा कम प्रभाव राख्छन् । पौडेलले निरन्तर अवसर लिँदा सभापति शेरबहादुर देउवाको निकट भएर काम गरेका भट्टर्राई यसपटक तनहुँ-१ मा पौडेल विरासतको उत्तराधिकारी भएको दाबी गर्न थालेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार भएका कारण भट्टराइले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत र्समर्थन रहेको देखिन्छ ।

एमाले पनि यसपटक तनहुँमा विगतदेखिको कांग्रेसको गड भत्काउने रणनीतिमा छ । तनहुँमै जन्मिएर नेपाल प्रहरीको महानिरीक्षकसम्म बनेका खनाललाई उम्मेदवार बनाएको एमाले कांग्रेसका पहिलो पुस्ताका नेताहरूको बहिर्गमनको मौका छोपेर तनहुँमा पकड बनाउन चाहान्छ । प्रहरी सेवाबाट निवृत्त भएपछि एमालेमा लागेका खनाल यसअघि काठमाडौं-६ बाट उम्मेदवार थिए । पाँच महिना अघिको चुनावमा मतदाताबाट अस्वीकृत भएका खनाल फेरि चुनावी मैदानमा उत्रिएका हुन् ।
मंसिर ४ को निर्वाचनको मुखमा एमाले प्रवेश गरेका खनालले काठमाडौं-६ मा ८ हजार १९ मत पाएका थिए । त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २२१ मत पाएर विजयी भएका थिए । खनाल जन्मथलो तनहुँलाई आफ्नो राजनीतिक कार्यथलो बनाउने उद्देश्यसहित मैदानमा उत्रिएका छन् ।
त्यस्तै, गत निर्वाचनमा उत्साहजनक मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्ले पनि तनहुँ-१ मा कांग्रेस र एमालेको सांगठनिक दबदबा तोडेर संसद् यात्रा तय गर्ने दाउमा छन् । पारिवारिकरुपमा कांग्रेसमा आवद्ध वाग्ले दशकयता कांग्रेस नेताहरूको सन्निकटमा थिए । कांग्रेसकै नेतृत्वको सरकार भएका बेला योजना आयोगको उपाध्यक्ष बनेका वाग्ले दर्जनौ कांग्रेस नेताहरूको अघोषित अर्थ सल्लाहकार थिए । यसबीचका सबैजसो निर्वाचनमा कांग्रेसको घोषणा पत्र लेख्ने समितिमा उनी अटाएका थिए ।

पछिल्लो पटक सभापति शेरबहादुर देउवाले नै उनलाई महाधिवेशन प्रतिनिधि मनोनित गरे । तर, उनी त्यो पदमा निरन्तर रहेनन् । १४औं महाधिवेशनपछि भने नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निकट रहेर सक्रिय थिए । गत निर्वाचनमा कांग्रेस उम्मेदवारका पक्षमा मत माग्दै देश दौडाहा गरेका उनी त्यही बेला टिकटको आकांक्षी थिए। तर कांग्रेस सभापति देउवाले टिकट नदिएको भन्दै उनको गुनासो रहने गरेको थियो । यहीक्रममा उनले गत बिहीबारमात्रै कांग्रेससँगको आवद्धता त्योगेर रास्वपामा प्रवेश गरेका हुन् । गत निर्वाचनमा अप्रत्यासित रुपमा प्रतिनिधिसभामा २० सिट जितेको रास्वपाले लगत्तै वाग्लेलाई तनहुँ-१ मा उम्मेदवार बनाउने निर्णय लिएको थियो ।
वाग्ले कांग्रेसमा देउवा प्रवृत्तिलाई मुल मुद्दा बनाएर कांग्रेसकै मतदाताको मत खोसेर नतिजा आफूतिर पार्ने कोसिसमा छन् । उनले कांग्रेस परित्याग गर्दै कांग्रेसमा देउवा-आरजु गिरोहका कारण रहिरहन नसकेको भनेका छन् । वाग्लेको उम्मेदवारीपछि तनहुँको उपनिर्वाचन थप गर्माएको छ । तर, गत निर्वाचनको गणितलाई आधार मान्ने हो भने वाग्लेका लागि यो प्रतिस्पर्धा त्यति सुखद देखिदैन । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो भएको थियो ।

कांग्रेसका पौडेलले एमालेका उम्मेदवार एकबहादुर रानामगरलाई ५ हजार ३८० मतान्तरले जितेका थिए । पौडेलले २५ हजार ३६१ मत पाउँदा एमालेका रानामगरले १९ हजार ९८१ मत पाएका थिए । कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए । रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।
यसपटक जोशीले उम्मेदवारी दिएनन् । तर उनले कसलाई समर्थन गर्ने भन्ने निश्चित छैन । जोशी उम्मेदवार नबनेका कारण उनको समर्थन अर्थपूर्ण हुने देखिन्छ । निर्वाचन आयोगकाअनुसार मंसिर ४ गतेको निर्वाचनमा यस क्षेत्रमा एक लाख २३ हजार ४९० मतदाता रहेकोमा ६६ हजार ९६५ मत खसेको थियो ।










