नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, १०२ जना लाभान्वित

दमौली : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित भजन संकीर्तन समूहद्वारा सञ्चालित दिवाकालीन ज्येष्ठ नागरिक आश्रमको आयोजना तथा प्रदेश अस्पताल दमौलीको प्राविधिक सहयोगमा नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

दिवाकालीन ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष आईतमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्ले लगायतले शिविरको महत्व र स्वास्थ्य परीक्षणका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रदेश अस्पताल दमौलीका डा. रबिन पण्डितसहित १२ जना स्वास्थ्यकर्मीको टोली सहभागी रहेको शिविरमा ७९ जना महिला र २३ जना पुरुष गरी जम्मा १०२ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका थिए । परीक्षणका क्रममा १२ जनामा उच्च रक्तचाप तथा ५ जनामा मधुमेहको समस्या पहिचान भएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। समस्या देखिएका सबैलाई थप परीक्षण तथा उपचारका लागि प्रदेश अस्पताल दमौलीमा रेफर गरिएको छ।

त्यसैगरी ५५ जना महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको जोखिम पहिचानका लागि स्क्रिनिङ गरिएको थियो । परीक्षणमा सहभागी सबैको नतिजा सामान्य रहेको र कुनै पनि व्यक्तिमा क्यान्सरको सम्भावित संकेत नदेखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

कार्यक्रममा नर्सिङ अधिकृत रेमना श्रेष्ठले रजोनिवृत्ति -मेनोपज) पश्चात महिलामा देखिन सक्ने स्वास्थ्य समस्या, स्तन क्यान्सरको प्रारम्भिक लक्षण तथा यसको स्व–परीक्षण विधिबारे विस्तृत जानकारीसहित जनचेतनामूलक सहजिकरण गरेकी थिइन् ।

त्यसैगरी डा. रबिन पण्डितले नसर्ने रोगहरूको बढ्दो जोखिमप्रति सचेत रहन आग्रह गर्दै नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औल्याएका थिए । उनले कम्तीमा वर्षमा एक पटक रक्तचाप, रगतमा चिनीको मात्रा तथा मुटुको इसिजी परीक्षण गराउन सुझाव दिए ।

उनले चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न, स्वस्थ खानपान अपनाउन, नियमित शारीरिक व्यायाम गर्न तथा धूम्रपान र मद्यपानजस्ता कुलत त्याग्न आग्रह गर्दै जीवनशैलीमा सुधार ल्याएर नसर्ने रोगहरूलाई नियन्त्रण गर्न सकिने बताए ।

स्थानीय ज्येष्ठ नागरिक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरले नसर्ने रोगहरूको रोकथाम, समयमै पहिचान तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker