तनहुँका हरि खड्कासहित गण्डकी प्रदेशका पाँच कृषक पुरस्कृत

गण्डकी प्रदेश सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट कृषक गरी पाँच जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकार मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आज कृषकलाई नगदसहित सम्मान गरेको हो ।

प्रदेश सर्वोत्कृष्ट कृषक पुरस्कारबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा सञ्चालित युनिक मल्टी एग्रो प्रालिका सञ्चालक हरिबहादुर खड्का नगद रु ३० हजारसहित पुरस्कृत हुनुभयो । यसैगरी प्रदेश उत्कृष्ट पुरस्कारबाट माछापुच्छ्रे गाउँपालिका–९ कास्कीस्थित आरोस अर्गानिक कृषि फार्मका सञ्चालक पदमबहादुर तामाङ, कावासोती नगरपालिका–१५ नवलपुरस्थित पाण्डे मत्स्य फार्मका सञ्चालक निराजन पाण्डे, थासाङ गाउँपालिका–१ टुकुचे मुस्ताङको आइपिएम एप्पल फार्मका नीरज तुलाचन र लमजुङको क्वोलासोधर गाउँपालिका–८ स्थित अस्मिता एकीकृत फार्मका सञ्चालक केशकुमारी गुरुङ सम्मानित हुनुभयो । प्रदेश उत्कृष्ट कृषकलाई जनही रु २० हजारसहित सम्मान गरिएको थियो ।

कृषकलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिना, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टङ्क प्रसाइँ, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाइलगायतले सम्मान गर्नुभएको थियो ।

जिल्लाका उत्कृष्ट कृषकमध्येबाट पाँच जनालाई पुरस्कृत गरिएको मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक जिल्लामा पुरस्कृत भएका चार/चार जना कृषकमध्येबाट एक एक जना गरी १० जना सिफारिस भएर आएका थिए, तीमध्ये मन्त्रालयबाट पुनः अनुगमन मूल्याङ्कन गरी सर्वोत्कृष्ट र उत्कृष्ट कृषक छनोट गरेका हौँ ।”

कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले कृषकलाई प्रोत्साहनका लागि पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker