हाम्रो धार्मिक समाज र मेला पर्व
सुरेशकुमार पाण्डे

दशैं–तिहारको सेरोफेरोमा हाम्रो समाजलाई नियाल्दा एउटा तथ्य प्रस्ट हुन्छ–हामी अति धार्मिक छौँ। धर्मप्रति आस्था राख्नु स्वाभाविक हो, तर त्यसको नाममा हुने प्रदर्शन, प्रचार र विसंगतिहरूले हाम्रो सामाजिक यथार्थलाई प्रश्नचिन्ह बनाइरहेको छ। आज फेसबुक र सामाजिक सञ्जालले गाउँघरदेखि सहरसम्मका गतिविधि विश्वमै फैलाइदिन्छ। दशैंतिहारमा घर–घरमा काटिने बोकाच्याङ्ग्रा, राँगा–बाछाको बलीलाई हत्या गर्ने शैलीसहित लाइभ भिडियोमा देखाइन्छ। कतिपय दृश्य यति क्रूर हुन्छन् कि त्यसले हाम्रो सभ्यताको स्तरमाथि प्रश्न उठाउँछ। मासु त संसारभर खाइन्छ, तर अरूले आफ्नो व्यक्तिगत इच्छा अनुसार र अनुशासित ढंगले उपभोग गर्छन्। हामीचाहिँ तड्पाएर काटिएको दृश्यलाई गौरवका साथ सार्वजनिक गर्छौं।
हाम्रो समाज इमानदार छ भन्ने गर्व हामी गर्ला। तर त्यो इमानदारी कस्तो ? देश फुटोस, नागरिकको आँगन लाशले भरियोस्, सार्वभौमसत्ता डगमगाओस्, नेताले भ्रष्टाचार गरून्– यसबारे हामी मौन बस्छौं। तर मासु काटेर फेसबुकमा राख्ने परम्परा भने कहिल्यै छुटाउँदैनौं। यसलाई के धार्मिकता भन्न सकिन्छ ? नेपाल त्यस्तो देश हो जहाँ शान्तिका दूत बुद्ध जन्मिएका थिए। उनी संसारलाई करुणा र अहिंसाको मार्ग देखाएर आज पनि परिचित छन्। तर हामीकहाँ धर्मको नाममा हिंसा र क्रूरतालाई प्रसादको रूपमा ग्रहण गर्ने चलन विद्यमान छ । प्रश्न उठ्छ– हाम्रो धर्म र संस्कारको वास्तविक परिभाषा के हो ?
देशभित्रको राजनीतिक–सामाजिक अवस्थाले पनि धर्मको नाममा नाटक देखाउने प्रवृत्ति बलियो बनाइदिएको छ। नेताहरू विदेशी शक्तिको इसारामा देशलाई कमजोर बनाइरहेका छन्। भ्रष्टाचार, दलाली र स्वार्थका लागि उनीहरूले धर्मको अभिनय गर्छन्। समाजलाई शान्तिप्रिय भनिन्छ तर आचरण हिंसात्मक छ। शिक्षाको स्तर बढ्दै गएको छ। अनपढ मानिस चामलमा बियाँ जस्तै थोरै मात्र रहे पनि समाज अझै गलत बाटोतर्फै लम्किएको छ। युवाहरू पढे–लेखेका छन्, तर उनीहरूलाई कुसंस्कारको नाममा मदिरा र मासु उपभोग गर्न सिकार गराइन्छ। दशैंतिहारका अवसरमा कोसेलीका रूपमा मदिरा पठाउने, पुजामा चढाउने चलन अझै विद्यमान छ। यसरी सुरु भएको बानीले कतिपय युवालाई नशाको दास बनाइदिएको छ । सुधार केन्द्रहरूमा पुगेका हजारौं युवाहरू यसै संस्कारका बलि हुन् ।
प्रश्न उठ्छ– यस्तो शिक्षाले के फाइदा दियो ? डिग्री लिनु मात्रै लक्ष्य भयो, विवेक र मानवीय चेतना भने ओझेलमा प¥यो। जसले पढेर पनि सही–गलत छुट्याउन सक्दैन, पशु–पक्षीको पीडा बुझ्दैन र हिंसात्मक जीवनशैलीमा रमाउँछ, उसलाई शिक्षित भन्न सकिन्छ ? हामीलाई आत्ममन्थन गर्नुपर्ने समय यही हो। पूजा–पाठ गर्नु, दियो–बत्ती बाल्नु वा मठ–मन्दिर घुम्नु धर्म होइन, त्यो त केवल बाह्य क्रिया हो। वास्तविक धर्म भनेको आफ्नै मनलाई शुद्ध बनाउनु हो। आफ्नो छातीमा हात राखेर प्रश्न गरौँ—हाम्रो आत्मा कति स्वच्छ छ ? संस्कारका नाममा जे गर्दै आएका छौँ, त्यो वास्तवमै धर्म हो कि अधर्म ?
अघिल्लो पुस्तामा जुवा, तास, पासा, कौडा दशैंमा अनिवार्य जस्तै थियो। आज ती गैरकानुनी र नकारात्मक कार्य ठानिन्छ। पहिले ‘कक्ड’ (काँचोपात) घर–घरमा हुन्थ्यो, तर अहिले सुर्तिजन्य पदार्थ सार्वजनिक स्थलमा निषेधित छ। यसबाट प्रष्ट हुन्छ–परम्परा स्थायी हुँदैन; जे गलत छ, समयले छोड्नै पर्छ। त्यसैले पशु बली र मदिरा प्रसादलाई पनि समयसापेक्ष समीक्षा गर्नैपर्छ । एक्काइसौँ शताब्दीका हामी शिक्षित र सचेत नागरिकहरू हौँ। विज्ञान, प्रविधि र ज्ञानको शिखरमा पुगेको यो संसारमा अझै पनि छुवाछुत, झारफुक, पशु बलीलाई धर्मको आवरणमा लपेट्नु लज्जास्पद हो। परम्परा जोगाउनु राम्रो हो, तर विवेक प्रयोग गरेर राम्रो र नराम्रो छुट्याउने काम नगरी अन्धअनुकरण गर्नु घातक हुन्छ ।
हामीले आफ्ना उत्सव र पर्वलाई हर्षोल्लाससहित मनाउनुपर्छ। तर त्यसले समाजलाई हिंसा, नशा र क्रूरताको दिशामा होइन, सद्भाव, प्रेम र शान्तिको मार्गमा डो¥याउनुपर्छ। आखिर धर्म भनेको मानवताको रक्षा हो, जीवनलाई सम्मान गर्नु हो। त्यसैले पर्व मनाउँदा विवेक र अनुशासनलाई केन्द्रमा राख्न सके हामीले आफ्ना संस्कारलाई नयाँ पुस्तामा गौरवका साथ हस्तान्तरण गर्न सक्छौं। हामीले आत्ममन्थन गर्नैपर्छ– धर्मको नाममा हिंसा गर्ने परम्परालाई निरन्तरता दिने कि शान्ति र मानवताको बाटो रोज्ने ? अब हामीले सही निर्णय गर्नुपर्ने समय आएको छ।










