अघिअघि पहिरो, पछिपछि डोजरमा पालिका अध्यक्ष

राजेश घिमिरे

लक्ष्य थियो एउटा रैथाने खानाको अभिलेखिकरण। जानु पर्ने थियो लमजुङको भुजुङ। त्यसैका लागि माइक्रोबस चढ्न गंगबुतिर पुग्दा विस्मयमा परियो। सधै गाडी चढ्ने ठाउँमा त बस त थिएन। बस पार्कमा केही क्षण भौतारियो। अलि सोधखोज गरेपछि माइक्रोबस विष्णुमति किनारातिर पठाइएको रहेछ। बस चढेपछि अझ आश्चर्यचकित भइयो- १२ सिटको बसमा त्यसभन्दा बढी यात्रु हाल्न नपाइने नियम कडाइका साथ लागु भएको रहेछ। बाटोमा रोकेर मान्छे हाल्न नपाइने। चाहना भए त सुधार हुने नै रहेछ। विस्तारै सुध्रिदै छ भनेर दंग पर्दै तोकिएको कुनोमा गएर बसियो।

सार्वजनिक यातायातमा हाम्रो समाज प्रतिबिम्बित हुन्छ। आफ्नै सवारी साधनमा घरबाट काममा जाने र आफ्नै हैसियतका साथीभाई भेटघाट गर्ने “उच्च” वर्गका मानिसहरूका लागि त झन समाज बुझ्ने गजबको साधन हुन्छन् यस्ता बस।

अचानक फोन बज्यो। उठाउनासाथ “हिड्नु भयो ?” आदित्य भाइ सोधे। यो मिसनका अर्का सदस्य हुन्- आदित्य चन्द। मिडियामा आउन खासै नरुचाउने तर गजबका फोटोग्राफर र भिडियोग्राफर। “हाइल्याण्ड” फोटोग्राफीमा माहरत हासिल उनी पोखराबाट आउनु पर्ने। डुम्रेमा भेटौ न भन्ने मेरो अनुरोधलाई ठाडै अस्वीकार गर्दै भने “भो। बाटो साह्रै खराब छ। म भित्री बाटो (मध्यपहाडी राजमार्ग) आउँछु। छिटो नि छ, सजिलो नि। बेँसीसहरमा भेटौला।”

मसँग अब पाँचदेखि सात घण्टा थियो। माइक्रोबस कलङ्कीमा पनि रोकिएन। आरामले १२ जना बसिरहे। गाडी गुडिरहेथ्यो। नागढुङ्गा नपुग्दै ट्राफिक प्रहरीहरूले गाडी रोके। मान्छे गन्न थाले। कागज मागे। अनि देखिन थाल्यो नेपाली समाजको दोगला चरित्र। उनीहरू ड्राइभर र खलाँसीका साखुल्ले भए। “पैसा माग्यो होला हैन” भन्न थाले। १६ जना कोच्ने माइक्रोमा तिनैका कारण १२ जना आरामले आइरहेका थिए तैपनि तिनैलाई सरापिरहेका थिए। यदि तिनै मान्छे ट्राफिक प्रहरीसँग कुरा गरिरहेको भए उनीहरूले यातायात व्यवसायीलाई सराप्थे। यो दोगलापन हाम्रो राष्ट्रिय चरित्र हो।

नयाँ बनाउने नाममा थोत्र्याइएको बाटा, थोत्रो गाडी र अवस्था अनुसार रङ्ग फेर्ने छेपाराजस्ता मान्छेहरूका कुरा सुन्दै डुम्रे पुगियो। धेरै पछिसम्म मलाई डुम्रेबाट दायाँ मोडेर खोलो तरेसी लमजुङ आउँछ जस्तो लाग्थ्यो। तर अझै टाढा थियो,  लमजुङ। पाउँदी खोला तरेपछि आउने एउटा स्वागत द्वारबाट छिरिन्छ लमजुङ। पाउँदी खोला तल मर्स्याङ्दीमा मिसिने घाटमा अहिले शिवजीका मूर्ति बनाइएका रहेछन्। यहीनै हाम्रा पुर्खाहरूको चिता बन्थ्यो। खरानी हुन्थ्ये र मर्स्याङ्दीमा मिसाइन्थ्यो। मर्स्याङ्दीसँग पुर्खौली नाता यही हो। मौका पर्दा मर्स्याङ्दीको पानी शिरमाथि छम्किन्थे, पुर्खाको आशिष पाउने आशमा। तर अहिले फुर्सद छैन। बेँसीसहर पुग्नु छ,  साथी भेट्न छ, अनि आजको गन्तव्यमा पुग्न छ।

अन्त्यतः १७२ किमि र सात घण्टा पछि मनाङ्गे चौतारा नजिक उत्रिए। त्यहाँ एउटा क्याफेमा आदित्य र उनको भीमकाय मोटरसाइकल कुरिरहेको थियो। आदित्य सोचेभन्दा धेरै अगाडि आइपुगेछन्। चार कप कफी भ्याएछन्। खाना पनि खाएछन्। अब टेलिफोन र इमेलमा बनाइएका योजनालाई प्रत्यक्षमा छलफल गरियो। आज घलेगाउँ बास बस्ने र भोलि बिहान त्यहाँ केही काम गर्ने निधो भयो। त्यसपछि भुजुङ जाने। अनि मालिङतिर आएर मिदिम पारी साल्मेभञ्ज्याङ, घाम्राङ-सिङ्‌दी-पसगाउँबाट मादी हुँदै ४७ किलोमिटर यात्रा गरेर पोखरा झर्ने योजना बनायौ। त्यसबीचमा हाम्रो मिसन पूरा गर्ने तय भयो।

अनि मोटरसाइकलमा हिडियो उकालो बाटो। वाग्लुङपानी पुगेर एक छिन काम गर्न थालियो। सुलिकोटको डाँडाका रमणीय दृष्य कैद गरियो र त्यसलाई पर्यटकका लागि आकर्षक कसरी बनाउने भन्ने सपनाहरू पनि सुनियो।

वाग्लुङपानीबाट क्व्होलासोथार गाउँपालिकाको सिमाना सुरु हुन्छ। हामीले हिड्ने योजना बनाएका सबै ठाउँहरू क्व्होलासोथारकै क्षेत्र हुन्। खासमा गुरुङहरूको आदिम थलो र सभ्यताको केन्द्र हो क्व्होलासोथार। वाग्लुङपानीमा मौरी आधुनिक घार खिच्दाखिच्दै आकाश कालोनीलो भयो। “अब लाइट पुग्दैन,” आदित्यले भने, “चारै बजे के अँध्यारो भाको होला?” पानी पनि छिट्याउन थाल्यो। फटाफट प्याक अप गरेर कुद्‌यौ । कपुर गाउँ पुग्दा नपुग्दै पानी दर्किन थाल्यो। एउटा दोकानमा ओत लाग्यौ। ६०/६५ वर्षका दोकानदार र एक जना ग्राहक थिए। एक हिसाबले ड्राइफुडको दोकान थियो त्यो- कोलड्रिङ्कस दालमोठ र चिप्सजस्ता सामान मात्र पाउने। नेपाली भाषा र तीन पाने रक्सीले मात्र यो दोकान नेपालकै दोकान हो भन्ने भान दिन्थ्यो। पानी दर्किँदै गयो, त्यहाँ भएको ग्राहकले पनि नेपाली भाषा बोल्न छोड्यो र हामीलाई “यु नो आई एम ए जर्नलिष्ट बिफोर टु थाउजेन्ट फिफ्टीफाइभ” भन्न थाल्यो। बडो उदेकलाग्दो वातावरण बन्न थाल्यो। धन्न पानी बिदा भयो। हामीसँग रेनकोट एउटा मात्र थियो। दोकानदारले दिएको जानकारी अनुसार गाउँ भित्रको एउटा पसलमा रेनकोट फेला पर्‍यो। दाम तिरेर दुबै जना रेनकोट लगाएर उकालो लागियो।

तर समय हाम्रो साथमा थिएन जस्तो लाग्छ। केही क्षणमा नै आरीघोप्टे पानी पर्न थाल्यो। यसको अर्थ आरी (भिउँट वा अटल) ले पानी खन्याएजस्तो पानी पर्‍यो,  अङ्ग्रेजीमा भन्ने हो भने क्लाउडब्रस्ट वा हिन्दीमा बादल फट्ना वा नेपालीमा हात्तीसुँडे पानी पर्न थाल्यो। हामी खास मनसुन सुरु हुनुभन्दा अगाडि नै काम सक्ने सुरले यता आएका थियौ। तर पानीले छोपी हाल्यो। जलवायु परिवर्तनका विज्ञहरूको भनाई मान्ने हो भने नेपालमा मनसुनका बेला झमझम लामो समय पानी पर्ने प्रवृत्तिमा कमी आएको छ भने एकै पटक मुसलधारे पानी पर्ने प्रवृत्ति बढेको छ। अर्थात हात्तीसुँडे पानी धेरै पर्ने भएपछि हाम्रा कमजोर पहाडको हरिबिजोग हुन्छ। बाटोमा खोला बग्न थाल्छ अनि त्यस्तो पानीलाई बिचरा पातलो रेनकोटले के छेक्न सक्थ्यो? अगाडि पाँच मिटर पनि देख्न सक्ने स्थिति थिएन। पूरै भिजेपछि के ओत लाग्नु ? जङ्गलमा कता ओत लाग्नु? बेजोडले पानी परिरहेछ। क्यामराको झोलालाई सबैभन्दा सुरक्षित राखियो किनकी अब एउटै लक्ष्य छ क्यामरालगायतका उपकरणमा कुनै क्षति नहोस्। बाटो साह्रै लामो लागि रहेको छ।

बेलाबेलामा मोटरसाइकलसँगै हामी लड्खडाउथ्यौ। पानीले माटो बगाएपछि कतै कतै बाटो नै ढुङ्गे भर्‍याङ जस्ता लाग्थे। भिजिबिलिटी पूरै कम भएकाले आदित्य हाई बिम बालेर मोटरसाइकल कुदाइरहेका छन् म हामी दुईका बीचमा क्यामराको झोला छोपेर बसेको छु। अहिले सम्झँदा रोमाञ्चक यात्रा लागे पनि बडा भयङ्कर यात्रा थियो त्यो २४ किमिको यात्रा। सन्तुलन अलिकति मात्रै बिग्रे त्यो ५५० सिसिको भिमकाय मोटरसाइकलको तल हुन्थ्यौ हामी। धन्न कम भिजिबिलिटीमा पनि स्वागतद्वार देखियो। घलेगाउँको बसपार्क रहेछ। त्यही एउटा क्याफेमा छिर्‍यौं र कफीका लागि अनुरोध गर्‍यौ। लुगाफाटोको झोला पानीले भिजेर दुईगुना तौलको भएको रहेछ। कफी बनाउँदै गर्दा अचानक चट्याङको भयानक आवाज आयो। कफी बनाउने बहिनी टेबल मुनि लुक्न गइन। करिब दुई महिना अगाडि यहाँ भएको खेलकुदको समापन कार्यक्रममा चट्याङ परेर उद्घोषकलगायत तीन जना घाइते भएका रहेछन्। त्यसले यहाँ सबैको सातो लगेको रहेछ। कफी खाएपछि ज्यान अलि तात्यो। मोटरसाइकल क्याफे अगाडि थन्काएर अनि पानीमा रुझ्दै होटलतिर लाग्यौ। भिज्न बाँकी रहेको एक जोर लुगा लगाएर बसियो। भोलिपल्ट अवस्था के हुने थाहा थिएन। पूरै अन्यौल।

धन्न बिहान आकाश उज्यालो भयो। पाँच बजे नै टावरतिर लागियो। सखारैमा माछापुछ्रे, अन्नपूर्ण, हिमचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमालको दर्शन गर्न पाइयो। राता टिनले छाएका घरहरूको बस्ती घलेगाउँ खासमा “ब्रान्डिङ” र “रिब्रान्डिङ” एउटा गजबको उदाहरण हो। टेक्स्टबुक इग्ज्याम्पल। एकजना राजनीतिकर्मी प्रेमबहादुर घलेले साह्रै धेरै मेहनतबाट ब्रान्डिङ गरेर चम्काएको गाउँ। होमस्टे, स्मार्ट भिलेज, नमूना सार्क भिलेज, उत्कृष्ट होमस्टे, सुखी घलेगाउँलगायत पुरस्कार र उपाधिपिच्छे यसलाई रिब्रान्डिङ गर्दै लगिएको छ।

हिमालसँगै गाउँ दर्शनको कार्यक्रम सकिएर हामी होटलमा बसेर कोदाको सेल र आलु तरकारी खाँदै गर्दा क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र उपाध्यक्ष गमी माया गुरुङको टोली आइपुग्यो। उहाँहरू भुजुङमा चट्याङ्ग लागेका दुई शिक्षकको अवस्था बुझ्न जान लाग्नु भएको रहेछ। भुजुङ जाने बाटोमा पहिरो पन्छाउने लक्ष्य पनि रहेछ। हामी पनि त्यही टोलीमा मिसियौँ। अलिकति गाली पनि खायौ, “यो क्षेत्रमा भयङ्कर पानी पर्छ भनेर त्यत्रो सूचना आएको थियो। अलि बुझेर हिड्‌न पर्छ नी पत्रकार मान्छे।” हो, अलिकति हेलचेक्र्याइँ त भएकै हो।

भुजुङ जाने बाटोको केही भाग मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा पर्दोरहेछ। त्यही भागदेखि नै सुरु भयो अघिल्लो रात लडेका पहिरो। अनि त अघिअघि पहिरो, पछिपछि डोजरमा पहिरो पन्छाउँदै पालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ अनि त्यसपछि हिड्ने हामी पो भयो। हाम्रो नाजुक पहाडी भूभागमा पानी परेपछि पहिरो जानु र बाटाघाटा बन्द हुनु सामान्य नै हो। तर पहिला पहिला असार साउनमा गएको पहिरो पन्छाउन दसैँ कुर्न पर्थ्यो। २/४ महिना मोटरबाटो बन्द। जोखिम मोलेर पहिराका बीचमा पैदल हिड्ने बाहेक आममानिससँग कुनै विकल्प हुन्थेन। तर अध्यक्ष सूर्यप्रसाद गुरुङको टोलीचाहिँ आजको भोलिनै बाटो खोल्ने पक्षमा रहेछ। क्व्होलासोथार गाउँपालिका जुनसुकै ठाउँमा पहिरो गएपनि अध्यक्ष सूर्यप्रसाद गुरुङको टोली आवश्यक श्रोत साधनसहित त्यहाँ पुग्ने र पहिरो पन्छाउन थाल्ने रहेछ। यसले जनतालाई गाउँपालिका आफ्नो सरकार हो भन्ने अनुभूति दिन्छ भन्नुहुन्छ अध्यक्ष सूर्यप्रसाद गुरुङ।

सामाजिक सञ्जालमा गाउँपालिकाका अध्यक्ष वा वडा अध्यक्षको आलोचना गर्नेहरूले यी पदाधिकारीको कामको बारेमा बुझेकै छैनन्। “यति तलब खान्छन्” “गाउँमा दरबार बनाए” भन्नेहरूलाई के थाहा यिनै मानिसले दिनरात खटेर गाउँगाउँका मान्छेलाई सरकारको अनुभूति दिएका छन्। यिनैले लोकतन्त्रलाई जरैदेखि बलियो बनाउँदै लगेका छन्।

चारपाँच ठाउँको पहिरो पन्छाएपछि पुगियो, लोकल कुखुराको एउटा फार्ममा। भुजुङ गाउँ पुग्न अगाडिको यो फारम इन्डिया लाहुरे हुमबहादुर गुरुङले चलाउनु भए हो। अहिलेचाहिँ मन्दी लागेको रहेछ। हुमबहादुर गुरुङ भन्नुहुन्छ, “वर्षा सुरु भएपछि पर्यटक घटे। सँगै हाम्रो व्यापार पनि घट्यो। यसो गाउँघरतिर पूजाआजा भयो भने बिक्री हुने हो नत्र अब दशैँ कुर्नै पर्छ राम्रो व्यापारका लागि। महङ्गो दाना खुवाएर पाल्नै पर्‍यो। नेपाली पर्यटक आउन थालेपछि त बेँसीसहरदेखिका होटलवाला किन्न आँउछन् नि।”

समुद्री सतहदेखि १६५० मिटरको उचाइमा भुजुङ अन्य ठाउँबाट देख्न गाह्रो हुन्छ। गाउँ हेर्न गाउँमै पुग्नुपर्छ। सिलेटले छाएका गुजुमुज्ज परेका ढुङ्गे घरहरूको गाउँ हो भुजुङ। तर गाउँ सुनसान थियो। स्कुलमा केटाकेटी र गाउँमा बूढाबूढी मात्र। हाम्रो मिसन असफलतातिर लम्किएको आभास हुँदै थियो। स्थानीय बासिन्दा उपाध्यक्ष गमी माया गुरुङले रहस्य खोल्नु भयो- पानी पर्न थालेपछि बिहानदेखि गाउँमा कोही हुन्न। धान रोप्न सबै खेतमा। हाम्रोमा समुदायको सहयोग काम गर्ने एउटा प्रणाली छ। हुरी भन्ने। आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन हुन्छ नि पर्मको। हाम्रोमा हुरी भन्छन्।

“ल बरबाद। हाम्रो काम स्थानीय युवा जम्मा गरेर गर्नु पर्ने। मिसन पूरै असफल,” मनमनै सोचियो। हाम्रा अर्का एक सूत्र पनि जरूरी काम परेर हिँडेछन्। अब फर्किने निधो भयो। एक छिन गाउँ घुमियो। स्कुल मुनिको चियाबारी हेरियो। त्यही चियालाई प्रशोधन गर्ने केन्द्रमा पनि पुगियो। सङ्ग्रहालय पनि गइयो। हराउँदै गएको गोलो घरमा बनाइएको सङ्ग्रहालय वास्तवमै आकर्षक रहेछ।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ क्व्होलासोथार गाउँपालिकामा चक्रपथ निर्माण सपना छ। भुजुङबाट मिदिम खोलासम्म माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाले यसअघि सडक निर्माण गरिसकेको रहेछ। वडा नं. ६, पसगाउँबाट कमागाउँ हुँदै सडक सञ्जाल जोडिएको छ। पालिका केन्द्र मालिङदेखि मिदिम पारीका ५ वटा वडा जोड्ने गरी मिदिम खोलामा पुल पनि बनेको छ। अहिले पसगाउँ–भुजुङ सडक सञ्जालले जोडिएको र अब घलेगाउँ आउने पर्यटक भुजुङ हुँदै पसगाउँ साथै सिङदी पसगाउँबाट भुजुङ हुँदै घलेगाउँ जान सकिने रहेछ।

अध्यक्ष सूर्यप्रसाद गुरुङ भन्नुहुन्छ, “वर्षामा चिराचिरा देखिएको यी सडक हिउँदमा फिलिली हो नि।” लामो समय बैंकिङ क्षेत्रमा काम गर्नु भएका सूर्यप्रसाद आफ्नो एउटा भिजनका साथ पालिकालाई अगाडि बढाउन खोज्दै हुनु हुँदोरहेछ।यी बाटोहरूमा कुनै बेला विदेशी पदयात्रीको घुँइचो हुन्थ्यो, सडक बनेपछि उनीहरू घटे तर नेपाली पर्यटक बढे। बाटोको अवस्था र रमाइला गाउँहरू हेर्दा यो नेपालमा अहिले निकै लोकप्रिय हुँदै गएको माउन्टेन बाङ्किकका लागि उत्कृष्ट रुट हुने देखियो। बेसीसहरबाट क्व्होलासोथार चक्रपथ एक चक्कर अनि पोखरा। गजबको रुट।

हामी दुई भाई हाम्रो रैथाने खानाको अभिलेखीकरणको मिसनका नयाँ मिति तोक्नमा व्यस्त भयौ। मालिङको खाजा पसलमा स्थानीय चिया र पुदिनाको मिश्रण “मिन्ट टी” को चुस्की लिदै निर्णय गर्‍यो “अब पोखराबाट छिर्ने हो। पसगाउँ हुँदै आउने हो।” त्यतिन्जेलका लागि अलबिदा क्व्होलासोथार।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker