तनहुँमा जोशी समुह चुनाव जित्न असफल, कांग्रेसलाई हल्लाउन सफल

सविन लामिछाने/तनहुँ

छोरा दिपकराज जोशीलाई व्यास नगरपालिकाको मेयर बनाएर रामचन्द्र पौडेलसँगको इगो मेट्ने र आफ्नो राजनीतिक विरासत जोगाउने पूर्वमन्त्री गोविन्दराज जोशीको प्रयासमा तत्कालका लागि ब्रेक लागेको छ । तर पौडेल र जोशीको टकराव झन गहिरिने संकेत भने अहिलेको स्थानीय तहको मतपरिणामले देखाएको छ ।

जोशीले १७ वर्षदेखि अमेरिकामा बस्दै आएका छोरा दीपकलाई फिर्ता बोलाएर तनहुँको व्यास नगरपालिकामा मेयर उठाएका थिए । जोशीको पुर्ख्यौली थातथलो भानु नगरपालिकामा पर्ने भएपनि दीपकको मतदाता नामावली व्यासमा सारिएको थियो । यसको कारण थियो, कांग्रेस नेता रामचन्द्र पौडेलको पालिकामा चुनाव जित्ने, पौडेललाई कमजोर बनाउने र राजनीतिक विरासत जोगाउने । कांग्रेस नेता पौडेलेको पुर्ख्यौली गाउँ व्यास-८ को रिस्ती हो ।

नेकपा एमालेको समेत समर्थन पाएका मेयरका उम्मेदवार जोशीले ११ हजार ८२६ मत पाएका छन् । तर नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका छन् । मेयर जिते पनि गर्व गर्ने स्थिति नभएको कांग्रेस नेताहरु बताउँछन् । कांग्रेस तनहुँका एक नेता भन्छन्, ‘प्राविधिक रुपमा हारे पनि जोशीले गजब भोट ल्याए । हामीले जित्यौं भनेर गर
व गर्ने स्थिति रहेन ।’

हुन त जोशीले पाएको मतमा एमालेको पनि मत छ । अघिल्लो चुनावमा एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत ल्याएका थिए । यो पटक एमालेले जोशीलाई समर्थन गर्‍यो । पूर्वमन्त्री गोविन्दराज जोशीको राजनीति जोगाउन मत दिनेहरु पनि प्रशस्तै थिए । रामचन्द्र पौडेलसँग असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताको मत जोशीलाई गएको कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेस, तनहुँका सचिव लक्ष्मीभक्त खनाल मेयरमा मत कम आउनुलाई पार्टीप्रतिको असन्तुष्टिकै रुपमा बुझने बताउँछन् । ‘मत कम आउनु भनेको पार्टीप्रति जनताले असन्तुष्टी देखाएको रुपमा बुझिन्छ,’ उनले भने, ‘टिकट वितरणमा असन्तुष्ट बनेकाकै कारण यस्तो भएको हो ।’ सूर्य चिन्हबाहेकमा झरेका भोट कांग्रेसको रहेको भन्दै उनले असन्तुष्टीकै कारण कांग्रेसको भोट बाँडिएको बताए ।

पौडेल-जोशीको पुरानै दुश्मनी

तनहुँ कांग्रेसका नेताहरुका अनुसार गोविन्दराज जोशी र रामचन्द्र पौडेलबीच कहिल्यै सौहार्दपूर्ण सम्बन्ध रहेन । तर २०७० को चुनावमा टिकट नपाएपछि उनीहरुको सम्बन्ध ‘दुश्मनी’मा परिणत भयो । २०६६ मा भ्रष्टाचारको मुद्दामा विषेश अदालतबाट दोषी ठहर भएपछि राजनीतिक रुपमा कमजोर बनेका जोशीको साटो कांग्रेसले शंकर भण्डारीलाई टिकट दिएको थियो ।

तर पौडेलले आफ्नो टिकट खोसेको भन्दै जोशीले २०७४ पौडेलविरुद्ध बागी उम्मेदवारी दिए । पौडेलले निर्वाचन आयोगमा उजुरी दिएर जोशीको उम्मेदवारी खारेज गराए भने कांग्रेसमार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय गराए । त्यसयता जोशी पौडेलको पनि राजनीति सिध्याउँछु भनेर लागेको कांग्रेस नेताहरु बताउँछन् ।

पौडेललाई हराउन २०७४ मा जोशीले एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई समर्थन गरे, जसमा उनी सफल पनि भए । श्रेष्ठ ३४ हजार ४९२ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले २७ हजार ६९० मत मात्र पाए ।

यो पटक उनले इगो मेट्ने र विरासत पनि जोगाउन प्रयासमा छोरालाई अघि सारे । ‘बाबुको इगोका लागि चुनाव लड्न दीपक पनि तयार भए’ तनहुँ कांग्रेसका एक नेता भन्छन् । मेयरमा पराजित जोशी पनि त्यसलाई अस्वीकार गर्दैनन् । भन्छन्, ‘गोविन्दराज जोशीलाई जुन किसिमले व्यवहार भयो, त्यसको जवाफ दिएको हो । तर यो मात्र होइन ।’

कुनै पनि शहरको मेयर हुन चाहिने आधार पनि आफूसँग भएको उनको दाबी छ । तर इमान बेचेर चुनाव जित्नुभन्दा पटकपटक चुनाव हार्नुपर्छ भन्ने मान्यता लिएर राजनीतिमा आएकाले कति भोटले हारजित भयो नहेरेको जोशी बताउँछन् ।

मतदानका क्रममा आक्रमण भएपछि उपचारका लागि हाल काठमाडौंमा रहेका उनी छिट्टै तनहुँ फर्किने र ‘समानान्तर संरचना’ बनाउने र जनप्रतिनिधिहरुले गरेको कामकारबाहीको निरन्तर निग्रानी गर्ने बताउँछन् । भन्छन्, ‘मेरो विकल्प भनेको त्यही जाने हो, त्यहीका वेथितीविरुद्ध लड्ने हो ।’

अझै गहिरिने छ कटुता

कांग्रेस नेताहरुको विश्लेषणमा पनि तनहुँमा जारी पौडेल-जोशीको कटुता अझ बढ्ने देखिन्छ । किनकी जोशीले मेयरमा जति मत पाएका छन्, त्यसबाट उनले आफू जित नजिक पुगेको वा शक्ति आर्जन गरेको महसुस गरेको देखिन्छ । ‘धेरै मत मात्र पाएको भए नसकिने रहेछ भनेर पलायन हुन्थे होला । तर अब त्यो स्थिति रहेन,’ एक नेता भन्छन्, ‘कांग्रेसमा अझ रियाक्ट गराएर अझ मान्छे जोड्न सक्छु भन्नेतिर जानसक्छन् ।’

आगामी प्रतिनिधि सभा निर्वाचनमा गोविन्दराज जोशी उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् भन्नेमा पनि भर पर्छ । २०७४ को चुनावमा भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषि ठहर भएको व्यक्ति चुनाव लड्न नपाउने भन्दै पौडेलले दिएको उजुरीको आधारमा निर्वाचन आयोगले जोशीको स्वतन्त्र उम्मेदवारी रद्द गरेको थियो । आगामी चुनावमा जोशी लड्न पाएनन् भने एक खालको परिस्थिति बन्छ । एक नेता भन्छन्, ‘नेताहरुको इगो यति धेरै भयसक्यो कि उहाँ -जोशी) एमालेकै चुनाव लडिदिन बेर छैन ।’

स्थानीय चुनावमै कतिपय ठाउँमा जोशी समूह वडामा एमालेको सूर्य चिन्हबाट लडेका थिए । नेताहरुका अनुसार जोशी स्वतन्त्र रहिरहे भने पौडेलका लागि मात्र चुनौती हुनेछ, तर एमालेकै चुनाव चिन्हमा लड्ने अवस्था बने कांग्रेसकै लागि धक्का हुनेछ ।

एक नेता भन्छन्, ‘अहिलेसम्म त रामचन्द्र पौडेलसँग मात्र दुरी हो, तर कांग्रेससँग निकटता छ भने खालको स्थिति छ । तर कांग्रेससँग पनि नाता सम्बन्ध तोडियो भन्दा कांग्रेसकै लागि थ्रेट हुन्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker