तनहुँको शुक्लागण्डकीमा वडाबाटै योजना सम्झौता

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले घुम्तिशिविर मार्फत वडाबाटै योजना सम्झौता, ज्येष्ठ नागरिक परिचयपत्र तथा औषधि वितरण कार्य सञ्चालन गरेको छ। नगरपालिकाले वडा नं. १० मा शुक्रबार घुम्तिशिविर सञ्चालन गरी योजना सम्झौता गरेको छ ।
वडा परिसरमा आयोजित घुम्ति शिविरमा २५ वटा योजना सम्झौता गरिएको वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । यसमध्य २ वटा नगरस्तरीय योजना सम्झौता गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरसभाबाट पारित भई वडामा सञ्चालन हुने वडास्तरीय योजना सम्झौता गरिएको छ । हालसम्म पनि सम्झौता हुन नआएका योजनाको उपभोक्ताको सहजताकालागि वडाबाटै योजना सम्झौता गरिएको उनले जानकारी दिए । वडामा ७१ वटा योजनामा रकम विनियोजन गरिएको छ ।
वडा कार्यालयमा हुने सम्झौतामा उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपी, योजनाको लागत सहभागिताको बापतको रकम, योजना सम्झौताको निर्णयको प्रतिलिपी र प्राविधिकबाट तयार गरिएको लागत स्टमेट कागजपत्र समावेश गरी सम्झौता गरिएको हो ।

नगरपालिका कार्यालयबाट हुँदै आएको योजना सम्झौता उपभोक्तालाई सहज र योजना समयै सम्पन्न गराउने उद्देश्यले वडाबाट सो कार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।
उनले भने, ‘नागरिकको घरदैलोमा गएर सेवा दिनु तल्लो सरकारको महत्वपूर्ण कार्य हो । शिविरमा योजना शाखा, आर्थिक विकास शाखा, प्राविधिकसँगै जनप्रतिनिधीको सहभागिता रहेको थियो ।’

घुम्तिशिविरमा ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिनुका साथै स्वास्थ्य परीक्षण गरिएको थियो । स्थानीय करिव एक सय जना किसानलाई आलुमा लाग्ने अगौटे तथा पछौटे डढुवाको औषधी, भिटमिन, किटनाशक औषधी र पशुको जुका, माटे र एन्टिबायोटिक औषधी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।











