जनज्योति क्याम्पसले भिमादमा स्वास्थ्य शिविर गर्ने
भञ्ज्याङन्यूज

तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्याम्पसले विभिन्न संघ संस्थाको सहयोग र समन्वयमा चैत २९ गते विहीबार भिमाद स्थित जनज्योति माध्यमिक विद्यालय हाताभित्रा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
काठमाडौं मेडिकल कलेज पब्लिकको प्राविधिक सहयोग, यूवा क्लव भिमाद, नेपाल औक्षधी व्यवसायी संघ गण्डकी प्रदेश र जनज्योति माध्यमिक विद्यालयको सह-आयोजना तथा भिमाद नगरपालिकाको संरक्षक रहने गरी वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले जानकारी गराए ।
क्याम्पस प्रमुख काफ्लेका अनुसार विहीबार बिहान ११ बजेबाट सञ्चालन हुने स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, मुटु रोट, इ.सि.जी, भिडियो एक्स-रे, मुटुको जाँचका साथै विभिन्न ल्याब परीक्षण समेत गरिने भएको छ ।










