नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात

नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ ।

सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ ।

यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिनुभयो । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ ।

पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उहाँका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ ।

सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताउनुभयो । सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker