तनहुँमा भानुमा नगरस्तरीय औधोगिक ग्राम बनाइने

- भञ्ज्याङ समाचारदाता (भानु)
तनहुँको भानु नगरपालिका-३ स्थित खहरेमा नगरपालिका स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानको पहलमा औद्योगिक ग्राम बनाउन लागिएको हो ।
भानु नगरपालिका-३ खहरेपछाडी रहेको करिब ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औधोगिक ग्राम बनाउनका लागि यहि कार्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकबाट १ करोड रुपैया बजेट विनियोजन भएको बताइएको छ ।
नगपालिकामा बसोवास गर्ने कृषकहरुले उत्पादन गर्ने स्थानीय उत्पादन धान, मकै, कुखुरा बाख्रा लगायत उत्पादनसँग जोडिएका वस्तुहरुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यका साथ औद्योगिक ग्राम स्थापना गर्न लागिएको बताइएको छ ।
कृषक र उपभोक्ताका बीचमा उत्पादित वस्तु खरिद बिक्रीका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भुमिका खेल्ने सांसद कृष्ण कुमार श्रेष्ठ किसानले विश्वास व्यक्त गरेका छन् ।
आर्थिक वर्ष२०७७/०७८ को बजेटबाट खर्च हुने गरि हालका लागि १ करोड बजेट विनियोजन गरिएको र आवश्यकता अनुसार यो बजेट थप निकासा हुने सासंद श्रेष्ठले जानकारी गराए ।
स्थानीय कृषकद्वारा उत्पादित वस्तुको बिक्रीका लागि सहज वातावरण बनाउने र खरिद गर्ने उपभोक्ताले पनि एकैठाउँबाट उपभोग्य वस्तु खरिद गर्ने माध्यम बनेमा उत्पादित उपजको बजारीकरणमा टेवा पुग्ने सासंद श्रेष्ठले बताए ।
तनहुँको बन्दिपुर र आँवुखैरेनी गाउँपालिकामा पनि गाउँस्तरीय औद्योगिक ग्रामको काम शुरु भइसकेको बताइएको छ ।









