बन्दिपुर गाउँपालिकाले निर्धारण गरेको करको दर घटाउन व्यवसायीको माग
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि निर्धारण गरेको करको दरका विषयमा गाउँपालिकाका व्यवसायीहरुले विरोध जनाएका छन् । गाउँपालिकाले व्यवसायिक कर उच्च निर्धारण गरेको भन्दै डुम्रेका उद्योगी, व्यवसायीले करको दर घटनाउन माग गरेका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले बुधबार डुम्रेमा पत्रकार सम्मेलन गरी गाउँपालिकासंग करको दर घटाउन माग गरेका छन् । आर्थिकमन्दिसंगै बैंकले कयाम गरेको उच्च ब्याजका साथै व्यापार अस्तव्यस्त भएको अवस्थामा व्यवसायी दोहोरो मारमा परेका बेला गाउँपालिकाले ब्यबसायीहरुको ढाँडसेक्न गरी करका दर उच्च निर्धारण गरेको डुम्रे बजार इकाईका सभापति राजेश श्रेष्ठले बताए ।
पृथ्वी राजमार्ग विस्तारका क्रममा डुम्रे बजारका अधिकांश उद्योगी, व्यवसायी विस्थापित हुने अवस्था रहेको बताउँदै उनले गाउँपालिकाले व्यवसाय कर उच्च निर्धारण गरी व्यवसायीहरुलाई थप पीडा दिएको बताए ।

गाउँपालिकाले निर्धारण गरेको करका दरका विषयमा पृथ्वी राजमार्गसंग जोडिएका बन्दिपुर, डुम्रे र विमलनगरका व्यवसायी मारमा परेको डुम्रे बजार इकाईका पूर्व सभापति सुनिल श्रेष्ठले बताए । उनले आर्थिकमन्दिको मारमा परेका व्यवसायीलाई गाउँपालिकाले करको नाममा हाम्रो घाँटी निचोडने काम गरिरहेको बताए ।
व्यवसायीहरुले यसवर्ष तिर्ने करमा ५० प्रतिशत छुटका लागि आगामी वर्ष्नमा छिमेकी पालिकाले निर्धारण गरेको करलाई आधार मानी गाउँपालिकाले व्यवसायी कर निर्धारण गर्नेपर्ने माग गरेका छन्।
तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठले संकटको बेलामा स्थानीय तहले उद्योग व्यवसायी बाच्ने र बचाउने कार्य मात्र गर्नुपर्ने बताए । उनले भने, ‘डुम्रे बजारमा सडक विस्तारका कारण व्यवसायी सकसमा परेका बेला पालिकाले ध्यान दिएर कर लिनुपर्छ ।’
व्यवसायीहरुले कर नतिर्ने भन्दा पनि उद्योग, व्यवसायीलाई सहज हुने गरी करको दर निर्धारण गर्न माग गरेका छन् । बन्दिपुर गाउँपालिकाले निर्धारण गरेको करमा पुनःविचार नगरे आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् ।











