‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

“२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा बङ्गुर मरे, करिब रु २४ करोड बराबरको क्षति भएको हाम्रो अनुमान छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले भन्नुभयो, “भाइरसजन्य यो रोगको सङ्क्रमण दर र मृत्युदर दुवै उच्च छ ।”

पछिल्लो समय भने उक्त रोग नियन्त्रणमा आइसकेको उहाँले बताउनुभयो । शङ्कास्पद लक्षण देखिएका बङ्गुरको अहिले पनि नियमित स्वास्थ्य परीक्षण हुँदै आएकामा उक्त रोगको सङ्क्रमण नदेखिएको हो ।

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएका बङ्गुर फार्मलाई ४५ दिनसम्म खाली गराई निसङ्क्रमण गरेरमात्र किसानले बङ्गुर पाल्न सुरु गरेको डा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार उक्त रोग कास्की, लमजुङ, तनहुँ, बागलुङलगायत जिल्लाका बङ्गुर फार्ममा बढी देखिएको थियो ।

“सबैभन्दा बढी क्षति कास्कीमा भयो, अफ्रिकन स्वाइन फिभरबाट क्षति ब्यहोरेका किसानलाई आर्थिक सहायता दिन मन्त्रालयले व्यावसायिकता विकास कार्यक्रमका लागि यो वर्ष बजेट विनियोजन गरेको छ, त्यसबाट किसानलाई केही मात्रामा राहत पुग्छ”, डा न्यौपानेले भन्नभयो ।

उक्त रोगको अहिलेसम्म ठोस औषधि र खोप पत्ता नलागेका कारण बङ्गुरलाई लक्षण कम गर्ने औषधिमात्र चलाउने गरिएको छ । ‘अफ्रिकन स्वाइन फिभर’ हुँदा बङ्गुरमा उच्च ज्वरो, शरीरमा धब्बा आउने, बढी र्‍याल छोड्ने, छेर्ने आदि समस्या देखिने गरेको पशु चिकित्सक बताउँछन् । सय वर्षअघि अफ्रिकामा देखिएको उक्त रोग दक्षिण एसिया हुँदै नेपाल प्रवेश गरेको बताइन्छ ।

डा न्यौपानेले अन्तर्राष्ट्रिय सीमा नाकामा पशु क्वोन्टिन र चेकजाँचस्थल व्यवस्थित नहुँदा यस्ता रोगहरु भित्रने गरेको बताउनुभयो । उहाँले सरकारले खुला सिमाना भएको भारतसँगका नाकामा विशेष निगरानी गर्नुपर्ने उल्लेख गर्नुभयो । अन्तरप्रदेश नाकामा पनि पशु क्वोन्टिन राख्नुपर्ने उहाँले बताउनुभयो ।

‘अफ्रिकन स्वाइन फिबर’ थामिएसँगै किसान गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट समस्यामा परेका छन् । दुवै रोगका कारण गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा पनि ह्रास आएको छ । पछिल्ला दुई वर्षमा दूध, मासु र अण्डाको उत्पादन घटेको मन्त्रालयले जनाएको छ । आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमा सीमित रह्यो । जुन छ दशमलव १४ प्रतिशतले कमी हो ।

मासुको उत्पादनमा पनि आठ दसमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८/७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा पुगेको जनाइएको छ । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलव ७२ प्रतिशतले गिरावट आएको हो । दानाको मूल्यवृद्धि, चल्लाको उपलब्धतामा कमी जस्ता कारणले अण्डा उत्पादन घटेको डा न्यौपानले बताउनुभयो ।

‘लम्पी स्किन’ रोग लागेर गण्डकीमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्य भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker