शुक्लागण्डकीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन
किसानका लागि 'सहज बजारको ढोका' बन्ने अपेक्षा गरिएको छ : नगरप्रमुख पण्डित

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नं. ५ को बेलचौतरामा निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र बिहीबारबाट सञ्चालनमा ल्याएकोहो ।
कृषि प्रधान देश नेपालमा अझै पनि किसानहरूले उत्पादन गरेको उपजको उचित मूल्य नपाउने, बजारसम्म सहज पहुँच नहुने र बिचौलियाको दबदबा जस्ता समस्या व्याप्त छन् । यिनै चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यका साथ शुक्लागण्डकी नगरपालिकाले एक महत्वपूर्ण पहल अघि सार्दै कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यवसायिक र आत्मनिर्भर बनाउने दीर्घकालिन लक्ष्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनासाथ खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थासँगको साझेदारीमा उक्त केन्द्र सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए ।
उनका अनुसार कृषकसंग उत्पादन बस्तु सहकारी घुम्तीकोष सञ्चालन गरी बजारिकरण गर्ने तयारी गरिएको छ । गत वर्ष दशैमा केहिदिनकालागि केन्द्र सञ्चालन गरिएपनि प्रभावकारी नभएपछि बन्द गरिएको थियो । चाडपर्वमा केही खसीबोका किसानले ल्याएर विक्रि गरेका थिए ।
शुक्लागण्डकी नगरपालिका, गण्डकी प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा करिब २ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत सुरु गरिएको यस केन्द्रले स्थानीय कृषकहरूको जीवनस्तर उकास्ने र कृषि क्षेत्रलाई व्यवस्थित तथा व्यवसायिक बनाउने लक्ष्य लिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए । केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख पण्डितले भने, ‘नगरपालिकाको लगानीमा स्थापना गरिएको उक्त केन्द्र खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा ल्याएको छ ।’
‘नेपालका ग्रामीण क्षेत्रमा किसानहरूले उत्पादन गरेको तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म पु¥याउन अझै पनि कठिनाइ भोग्दै आएका छन्। यातायात, भण्डारण र बजार जानकारीको अभावले गर्दा उनीहरू प्रायः आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्न बाध्य हुन्छन्’ उनले भने, ‘यस्तो अवस्थामा शुक्लागण्डकीमा सञ्चालनमा आएको संकलन केन्द्र किसानका लागि ‘सहज बजारको ढोका’ बन्ने अपेक्षा गरिएको छ । अब किसानहरूले आफ्नो उत्पादन सिधै केन्द्रमा ल्याएर उचित मूल्यमा बिक्री गर्न सक्नेछन् । यसले बिचौलियाको भूमिकालाई न्यून गर्दै कृषकको आम्दानी बढाउने विश्वास गरिएको छ ।’
यस्तै, खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्थालाई केन्द्रको व्यवस्थापन जिम्मेवारी दिइनु आफैंमा सकारात्मक कदमका रुपमा हेरिएको छ । यसले महिला सशक्तीकरणलाई टेवा पु¥याउनुका साथै स्थानीय तहमा नेतृत्व विकास गर्ने अवसरसमेत सिर्जना गरेको कार्यक्रमका वक्ताहरुले बताए ।
महिला सहकारीमार्फत सञ्चालन हुँदा पारदर्शिता, उत्तरदायित्व र सामूहिक सहभागिता बढ्ने अपेक्षा गरिएको छ । यसले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न थप प्रेरणा दिने विश्वास गरिएको छ ।
संकलन तथा बिक्री केन्द्र सञ्चालनसँगै किसानहरूमा व्यवसायिक खेतीतर्फ आकर्षण बढ्ने देखिन्छ । जब उत्पादनले सुनिश्चित बजार पाउँछ, तब किसानहरू थप लगानी गर्न र उत्पादन वृद्धि गर्न उत्साहित हुने नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले बताए ।
विशेषगरी तरकारी, फलफूल, दुग्धजन्य पदार्थ लगायतका कृषि उत्पादनहरूलाई व्यवस्थित रूपमा संकलन गरी बजारमा पठाउने प्रणालीले कृषि क्षेत्रमा आधुनिकीकरणको मार्ग उनले विश्वास व्यक्त गरे । यसले दीर्घकालमा स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउने आधार तयार पारेको उनले बताए ।

कृषि उपजको उचित मूल्य पाउनु भनेको किसानको जीवनस्तर सुधारिनु हो । आम्दानी बढेसँगै उनीहरूको शिक्षा, स्वास्थ्य र जीवनयापनमा सकारात्मक परिवर्तन आउँछ । यस अर्थमा, यस्तो केन्द्र केवल व्यापारिक स्थल मात्र नभई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने माध्यम पनि हो ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बजारसँग जोड्ने यो पहलले रोजगारी सिर्जना गर्ने, आयातमा निर्भरता घटाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने अपेक्षा नगरपालिकाले गरेको छ ।
यद्यपि, यस्ता केन्द्रहरूको प्रभावकारिता दीर्घकालसम्म कायम राख्न व्यवस्थापन, गुणस्तर नियन्त्रण, मूल्य निर्धारण र बजार विस्तारजस्ता पक्षमा निरन्तर ध्यान दिन आवश्यक हुन्छ । साथै, किसानहरूलाई समयमै सूचना, प्राविधिक सहयोग र तालिम उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । यदि यी पक्षहरूलाई सन्तुलित रूपमा अघि बढाउन सकियो भने, शुक्लागण्डकीको यो पहल अन्य स्थानीय तहका लागि नमूना बन्न सक्छ।
कृषि उपज संकलन तथा बिक्री केन्द्रको सञ्चालन शुक्लागण्डकी नगरपालिकाका लागि मात्र होइन, समग्र कृषि क्षेत्रका लागि सकारात्मक संकेत भएकाले यसले किसानलाई उत्पादनदेखि बजारसम्म जोड्ने पुलको रूपमा काम गर्नेछ । उपभोक्ताहरुले पनि सोझै कृषकबाट उपभोग्य वस्तु खरिद गर्न पाउनेछन् ।
यस्तो प्रयासहरूलेनै कृषि क्षेत्रलाई आत्मनिर्भर, व्यवसायिक र प्रतिस्पर्धी बनाउने दिशामा ठोस आधार तयार पार्नेछ । यस केन्द्र सञ्चालनलाई निरन्तरता, प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य महत्वपूर्ण रहन्छ ।










