पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिन-पोखरा सडक विस्तार कार्य सुस्त

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वी राजमार्गको पोखरा-मुग्लिन खण्डको विस्तार तथा स्तरोन्नती कार्यले गति लिन सकेको छैन ।

राजमार्गको आँवुखैरेनी-जामुने पूर्वीखण्ड र जामुने-पोखरा पश्चिमखण्डमा विभाजन गरी अहिले स्तरोन्नतीको काम भइरहेको छ । राजमार्गको पूर्वीखण्डमा ३२ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्ड अन्तरगत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा ९ प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ ।

पूर्वी सडक खण्डको आँबुखैरेनी गाउँपालिका-१ सत्रसय क्षेत्रबाट सुरु गरी डुम्रे बजारतर्फको खण्डमा कालोपत्र अघि बढाइएको छ । जेठ महिनासम्म राम्रै प्रगति भए पनि असार र साउनमा वर्षा भएकाले महिनाको नौ प्रतिशतका दरले प्रगति भएको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

भदौ महिनादेखि कालोपत्र गर्न थालेपछि प्रगति बढ्ने उनले बताए । पहिलो चरणमा दुइ लेनको कालोपत्र गरी पुनः दुइ लेनको कालोपत्र थालिने छ । इन्जिनियर पाण्डेले भने, ‘जहाँ तयारी हुन्छ ती स्थानमा कालोपत्र गरिहाल्ने योजनाअनुरुप निर्माणकार्य भइरहेको छ ।’

यसखण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, पर्खाल लगाउने, भित्तो खार्ने, खाल्टो पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको मुग्लिन सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा ठेक्का दिइएको थियो ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडकको चौडाइ दुइतर्फी २५-२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको र उक्त खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

यस्तै, पश्चिम खण्डमा अहिलेसम्म ९ प्रतिशत प्रगति भएको छ । उक्त खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । पोखरा बाहेक तनहुँ खण्डमा भित्ता कटिङ गरी कल्भर्ड राख्ने र पर्खाल लगाउने कार्य भइरहेको इञ्जिनीयर नारायण पौडेलले बताए ।

यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको हो । उक्त सडक खण्डको म्याद २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । दुलेगौँडाबाट खैरेनीटार बजार कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटर कायम गरिएको आयोजनाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker