मगर समुदायले मनाए माघे सङ्क्रान्ति पर्व

दमौली : मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति पर्व विविध कार्यक्रम गरी मनाएका छन् । मगर समुदायको बसोवास र बाहुल्यता रहेका स्थानमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइएको छ ।
तनहुँका दशवटै पालिकामा बसोवास गर्ने मगर समुदायले यो पर्व मनाएका छन् । नेपाल मगर संघ व्यासनगर समितिले दमौलीमा वृहत साँस्कृतिक झाँकी प्रदर्शन गरी दमौलीमा जारी आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गर्दै पुरम्परागत संस्कर संकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा प्रदर्शन गरिएको थियो ।
मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको माघे सङ्क्रान्ति समुदायको पहिचान र परम्परालाई उजागर गर्ने पर्वका रूपमा लिइन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिएपछि समावेशी लोकतन्त्रको केही अंश भए पनि प्रत्याभूत भएको मगर समुदायका अग्रजहरु बताउँछन् । यस पर्वले मगर जातिको पहिचान, सांस्कृतिक सहभागिता, सामाजिक सद्भाव तथा सामुदायिक मानवअधिकार प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
कुल पितृको सम्झनामा यस पर्वमा खिचडी, फलफूल तथा फूलपत्रले पूजाआजा गरिने परम्परा छ । यस अवसरमा छोरीचेलीलाई टीका टालो र मिष्ठान भोजन (खिचडी, घ्यू, तरुल, अदुवा, सेलरोटी, बारा÷बटुक, गुड आदि) दान गरी विशेष सम्मानका साथ पुजिने चलन रहेको छ ।










