सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

राम थापा/रासस

गण्डकी : माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुल्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)का लागि उहाँले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् ।

प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिच्नुभएको थियो । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ मा सहभागी हुने चिनियाँ खेलाडीलाई लिएर उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज माछापुछ्रे हिमालको नजिकबाट उडिरहेको दृश्य जति मनमोहक छ, त्योभन्दा कम छैन उक्त तस्बिरमा छचल्किएको हिमालको पीडा ! ‘कुमारी हिमाल’को पगरी पाएको माछापुछ्रे मध्य जाडोमा पनि फुस्रो र निर्जन छ । हिउँबिनाको चुचुरो फुङ्ग उडेको उराठिलो छ । त्रिभुजाकारको कालापत्थर छेउबाट जहाज उडेझैँ देखिन्छ । हिमालमा सेताम्मे हिउँ हुँदो त अझ कति खुल्दो उक्त तस्बिरको सौन्दर्य ?

प्रकृति र वातावरणप्रेमी जो कोहीको मनमा उब्जने प्रश्न हो यो । यो माछापुछ्रे मात्र नभएर हिउँविहीन बन्दै गएका हाम्रा हिमालहरूको साझा र दुःखदायी कथा हो । हिमालय क्षेत्रले झेलिरहेको वातावरणीय सङ्कटको ज्वलन्त प्रमाण हो । वर्षायाममा नाङ्गा र काला देखिने हिमाल अहिले हिउँदमा पनि उस्तै देखिन थालेका छन् । पुस महिना आधाउधी बितिसक्दा पनि हिउँ पर्ने कुनै छेकछन्द छैन ।

जाडोको खासै महसुस गर्न नपाइ हिउँद बिताउनुपरेको अनुभव नौलो हुन छाडेका छन् । हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् ? हिउँबिनाको हिमाल के हिमाल ! हिउँ भए र पो हिमालहरू छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । हिमालबाट यसरी नै हिउँ रित्तिँदै गए हिमाल नियाल्न आउने पर्यटक पनि एकदिन निरास हुनेछन् । हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रले पनि अवश्य भोग्नेछ । विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन् ।

पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ । “विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उहाँ भन्नुहुन्छ, “विश्वको औषत तापमान एक दशमलव पाँच प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा एक दशमलव आठदेखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।”

जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उहाँ बताउनुहुन्छ । कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको वातावरणीय अध्येता अर्यालको भनाइ छ ।

कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ । सोही कारण हिमालय क्षेत्रमा अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिने गरेका छन् । जलवायु विज्ञ डा विमल रेग्मीले अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरू कालापत्थरमा परिणत हुने बताउनुहुन्छ ।

विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीको भनाइ छ । “अहिले नै विश्वव्यापी तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मी भन्नुहुन्छ, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।”

उहाँका अनुसार सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्ने र दुई डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । “कार्बनडाइअक्साइड, मिथेन जस्ता मानव उत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ”, उहाँ भन्नुहुन्छ, “विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हाम्रा हिमालहरूमा परिरहेको छ ।”

हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि शून्य दशमलव ००६ प्रतिशतले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ । जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन् । हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ । हिमनदी सुक्दै गएका छन् । हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ । जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ । मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्याहरू देखिन थालेका छन् ।

जलवायु विज्ञ डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताउनुहुन्छ । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उहाँको भनाइ छ । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन सक्छ”, उहाँ भन्नुहुन्छ ।

जलवायुजन्य घटना र हानिनोक्सानीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको बताइन्छ । यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ । जलवायु न्यायको विषय रहेको भन्दै पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पुर्‍याउनु आवश्यक रहेको र जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ । जलवायु परिर्वतको कारकको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असर खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानिनोक्सानीको पुनर्भरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा आफ्नो आवाज सशक्त बनाउनुपर्ने जरूरी देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker