आदिकविको जिल्लामै ओझेलमा साहित्यिक कार्यक्रम

आदिकवि भानुभक्त आचार्यको जन्म जिल्ला हो तनहुँ । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्य नेपाली साहित्यका प्रथम कालका प्रतिनिधि कवि हुनुहुन्छ ।

मोतीराम भट्टले आचार्यलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि आचार्य नेपाली साहित्यमा चिनिनुभएको थियो । साहित्यका उनै धुरन्धुर आचार्यको जन्म जिल्लामा साहित्यका थुप्रै कार्यक्रम हुन्छन भन्ने आमजनमानसको सोच होला । वास्तविकता भने त्यस्तो छैन । भानुभक्तकै जिल्लामा साहित्यिक गतिविधि र कार्यक्रम भने अचेल निकै कम मात्रै हुने गरेको छ ।

राज्यबाट साहित्य क्षेत्र कम प्राथमिकतामा पर्ने कारण तनहुँमा साहित्य क्षेत्र ओझेलमा परेको महसुस हुने गरेको साहित्यकार आकाश अधिकारीले गुनासो गर्नुभयो । “सङ्घीयतापछि सङ्घीय, प्रदेश र स्थानीय तहको सरकारबाट पनि साहित्य क्षेत्रलाई प्राथमिकता दिइएको छैन, राज्यस्तरबाट उदासिनता छ”, उहाँले भन्नुभयो ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष समेत रहनुभएका अधिकारीले प्राज्ञिक र विद्वत व्यक्तित्व हुँदाहुँदै पनि तनहुँको साहित्य क्षेत्रले गति लिन नसकेको स्वीकार गर्नुभयो । “राजनीतिक प्रभावका कारण पनि साहित्य र प्राज्ञिक क्षेत्रमा ओझेलमा पर्दै आइरहेको छ”, अधिकारीले भन्नुभयो, “यो अनुत्पादक क्षेत्र हो, यसमा लगानी गरेर के हुन्छ र भन्ने सोच छ ।

त्यहीकारण पनि व्यासको जन्मभूमि, आदिकवि भानुभक्तको जन्मभूमि भएर पनि देशको अन्य जिल्लाको तुलनामा तनहुँमा अचेल साहित्यिक गतिविधि कम हुन्छन् ।”

अग्रज पनि उदासिन भइदिनेले नयाँ पिँढीले साहित्यिक क्षेत्रमा काम गर्न नसकेको अधिकारीको भनाइ छ । “अग्रजबाट प्रेरणा हौसला नमिलेको कारण तनहुँको साहित्यिक क्रियाकलपा कमजोर हुँदै गएको छ”, उहाँले भन्नुभयो । तनहुँमा साहित्यको क्षेत्रमा प्रचुर सम्भावना भए पनि सोचे जति विकास हुन नसकेको गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदास बताउनुहुन्छ । “पर्यटन र साहित्य दुवैमा प्रचुर सम्भावना छ, तर जति काम गर्नपथ्र्यो हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो ।

गण्डकी वाङ्मय प्रतिष्ठानले कोभिड–१९ को प्रभाव अघि मासिकरुपमा नियमित काव्यशृङ्खलाको आयोजना गर्दथ्यो । दमौली आसपासका पर्यटकीय ठाउँमा पुगेर लेखक तथा साहित्यकारले त्यहीँ बसेर रचना सृजना र वाचन गर्थे । प्रत्येक महिनाको शनिबार गरिने उक्त कार्यक्रम अहिले रोकिएको छ । “आर्थिक अभावका कारण कार्यक्रम गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “यो एकल प्रयासले मात्रै हुने कुरा पनि होइन ।”

आदिकवि भानुभक्तकै नाममा गठन भएको भानुभक्त जन्मस्थल विकास समितिले भने वर्षमा एकपटक साहित्यिक कार्यक्रम गरेर भानुलाई सम्झिँदै आएको छ । सरकार फेरिएपिच्छे समितिको पदाधिकारी परिवर्तन हुँदा सोचेअनुसार काम हुन नसकेको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाट बताउनुहुन्छ ।

“अरु बेला त त्यस्तै हो वर्षमा एकपटक भने साहित्यिक कार्यक्रम गरेर भानुका योगदानलाई सम्झिने गरेका छौँ”, रानाभाटले भन्नुभयो, “साहित्यिक कार्यक्रमले यस ठाउँको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।” गत असार २९ गते भानुजयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा देशका ३५ जिल्लाबाट साहित्यकारको सहभागिता थियो ।

वर्षमा एकपटक आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गर्ने साहित्यिक कार्यक्रमले जिल्लाको साहित्यिक गतिविधि धानेको छ भन्दा पनि फरक नपर्ला । जन्मस्थल विकास समितिले आयोजना गर्ने साहित्यिक कार्यक्रममा विभिन्न जिल्लाबाट सर्वसाधारणले सहभागिता जनाउने गरेका छन् ।

साहित्य क्षेत्रको प्रवद्र्धनका लागि केही स्थानीय तहले समिति गठन गरेका छन् । व्यास नगरपालिकाले सांस्कृतिक, साहित्यिक, ऐतिहासिक स्मारक संरक्षणका लागि प्राज्ञिक सभा गठन गरेको छ । त्यसका लागि नगरपालिकाले नगर प्राज्ञिक ऐन २०७८ निर्माण गरेको थियो । प्राज्ञिक सभामा ४६ सदस्य नियुक्त गरिएको छ । सभामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले भाषा, साहित्य, कला, संस्कृति र गीत सङ्गीतको विकास र सम्वद्र्धनका लागि वाङ्मय परिषद् गठन गरेको छ । कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय परिषद् गठन गरिएको छ । आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा टेवा पु¥याउन परिषद् गठन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker