सालिक ढाल्न र सालिक पुनःनिर्माणमा देखिएको दौड प्रतियोगिता !
देव बस्न्यात

विषय प्रवेश
नेपाल गणतन्त्रमा प्रवेश गरेको समय पनि १७ वर्ष पुरा भयो । वि.सं. २०६३ को जनआन्दोलनमा ढालिएका सालिकहरु पुनः स्थापना गर्नमा अहिले समाज अगाडि बढी रहेको छ । यो लेख तयार पारेर भ्याइ नसक्दै नयाँ घटनाको विकास भइसकेको छ । हुन त हाम्रो समाज अहिले सकरात्मक तर्फ भन्दा नकरात्मक तर्फ बढी उर्जा खर्च गर्नमा व्यस्त रहेको छ । आन्दोलनको बेला वा सत्ता परिवर्तनका क्रममा संसारभरी सालिकहरु भत्काउने र आफ्ना नेताहरुको सालिक निर्माण गर्ने दौड देख्न पाइन्छ । अहिले नेपालमा पनि सालिक बनाउने र जबरजस्ति तोड्नेको होडबाजी चलेको छ । जोसमा होस गुमाउँदा नै सालिकहरु नष्ट हुने गरेका छन् । इतिहासमा घटेका ज्यादतिहरुले सालिक भत्काउँदा त्यसको असर दीर्घकालसम्म पछुतो बन्ने नहोस भन्ने सोच रहनु जरुरी छ ।
तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित प्रशासन कार्यालय अगाडि राखिको राजा महेन्द्रको सालिकको टाउकोको भाग तोडिएको १७ वर्ष पुरा भइसकेको छ । त्यही सालिकका कारण दमौली मुर्कट्टाहरुको शहरमा रुपान्तरित भइरहेको थियो । पुरानो राजसत्ता ढाल्ने र नयाँ राजसत्ता कायम हुने अवस्थाका आन्दोलनमा यस्ता घटनाहरु देखिन गएका हुन । ताजा खबर भन्ने हो भने वि.सं. २०६३ को जनआन्दोलनमा सालिक तोडने घटना घटेको नदेखिएता पनि २०६३ जन आन्दोलनमा प्रसस्त घटन भएका पाइन्छन । विश्व परिवेशमा अधिकांस त राजा महाराजा, रुसी नेता स्तालिन र भेदभावपूर्ण प्रणाली बसाल्नमा भूमिका निर्वाहका पृष्ठपोषक नेताहरुको अपमान गर्ने तथा सालिक ढाल्ने कामहरु भएका छन् ।
विभिन्न समयमा भएका आन्दोलनको परिवेश हेर्ने हो भने बडामहाराजाधिराज पृथ्वीनारायण शाह, राजा त्रिभूवन, राजा महेन्द्र, राजा वीरेन्द्र नेपाली कांग्रेसका नेता वि.पि. कोइराला, आदिकवि भानुभक्त आचर्य र भूपालमान सिंह कार्कीका सालिकहरु निसानीमा परेका थिए । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक ढाल्ने र सो ठाउँमा लखन थापाको सालिक स्थापना गर्ने नभएको होइन । चोकमा राखिएको सालिक मध्यरातमा स्थानातरण गर्ने काममा स्वयं स्थानीय सरकार पनि खटिएको पाउँदछौं ।
नेपालमा सालिक निर्माणको थालनी
नेपालका अरनिको मूर्ति निर्माण गर्ने प्रख्यात कलाकार हुन् । चीनका वादशाह कुब्लाखाँले अरनीकोलाई सह्राए । लिच्छिवी शासन कालदेखि नै नेपालमा मूर्ति तथा सालिकहरु बन्न थालेका हुन् । ऐतिहासिक कालमा शासकहरु आफैले आफ्नो सालिक निर्माण गरेको इतिहास पाउँदछौं । उदाहरणको रुपमा काठमाडौंका राजा प्रताप मल्लले बनाएको रानीपोखरीमा हात्तीमा सवार भएको प्रताप मल्लको सालिक, पाटनमा योगनरेन्द्र मल्लको सालिक र गोरखामा रामशाहको सालिक प्राचीन हुन भने पशुपतिनाथ परिशरमा सबै राजाहरुको सालिक, कालमोचनमा जंगबहादुर राणाको सालिक, वि.सं. १९७२ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको सालिक स्थापना भएको पाउँदछौं । यसै गरी जङ्गबहादुर राणा र रणोदीपसिंह कुवँर राणाको घोडा चढेको सालिक सन १९७५ मा निर्माण गरी टुंडिखेलको छेउमा राखिएका सालिकहरु र फर्पिङमा वि.सं. १९१३ मा निर्माण गरिएको नेपाल तिब्बत युद्धमा सहादत भएका वीरयोद्धा जगतजीतसिंह बस्न्यातका सालिकहरु मध्यकालीन मानिन्छन् । नायव राजा बहादुर शाह, राजा त्रिभूवन, राजा महेन्द, राजा वीरेन्द्र, आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, काठमाडौं जिल्लाको जहरसिंह पौवामा निर्माण गरिएको वडावीर सेनापति शिवरासिंह बस्न्यात काठमाण्डौ जिल्लाकै फर्पिङमा निर्माण गर्न सुरु गरिएको वीर सेनापति रन्या बस्न्यातको सालिक, बागलुङको गल्कोटको हरिचौरमा २०६३ सालमा निर्माण गरिएको मानबहादुर बस्न्यातका सालिक आधुनिक मानिन्छन् ।
तनहुँमा सालिक निर्माणको इतिहास
वि.सं. २००७ साल भन्दा पहिला तनहुँमा सालिक निर्माण भएको इतिहास भेटिंदैन । वि.सं. २००७ सालमा नेपाली कांग्रेसका नेता श्रीभद्र शर्मा खनालले नेतृत्व गरेको नेपाली कांग्रेसले तनहुँको सदरमुकाम बन्दीपुरमा विशाल आन्दोलन गरेको थियो । उक्त आदोलनमा तनहुँसुरका धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, ह. सन्तबहादुर रानामगर र पुलीमर्याङका धर्मध्वज गुरुङ र बसन्तपुका खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । तत्पश्चात राजा महेन्द्रले २०१७ साल पौष १ गतेका दिन शिशु प्रजातन्त्र बहुदलीय शासन व्यवस्थालाई बलात विघटन गरी प्रत्यक्ष शासन गर्न थालेपछि नेपाली कांग्रेसका नेता बखानसिंह गुरुङको नेतृत्वमा गण्डकी क्षेत्रमा सशस्त्र आन्दोलन सुरु भयो । यस आन्दोलनमा बरभञ्ज्याङका बुद्धसिंह राना, पुलीमर्याङका लालध्वज गुरुङ, र्सवसिंह गुरुङ, ह. हस्तवीर गुरुङ, शमशेरबहादुर गुरुङ र भरत गुरुङहरुले सहादत प्राप्त गरेका थिए भने २०४७ सालको जनआन्दोलनमा ढोरफिर्दीका कृष्णप्रसाद गौतमले सहादत प्राप्त गरेको इतिहास साक्षी रहेको छ ।
यसैगरी माओवादी जनयुद्धकालमा माओवादीका सिपाही क्यामिन-९ का केशबहादुर कुमाल, डोल्पाको दुनैमा नेपाली सेनासंग भएको युद्धमा सहादत प्राप्त गरेका थिए भने व्यास-९ क्यामिनका बेनोज अधिकारीको नेपाली सेनाले हिरासतमै हत्या गरेको हो भन्ने सूचि मिलेको छ । सरकारतर्फबाट मात्र हत्या गरेको नभइ माओवादी सेनाहरुले पनि यस्तै कार्यनीति अनुसरण गरेको पाउँदछौं। माओवादी जनसेनाको सुराकी गरेको निहुँमा माओवादीका जनसेनाहरुले ने.का. तनहुँका कोषाध्यक्ष तथा व्यास-६ शिःसाघाट निवासी विष्णुप्रसाद जमरकट्टेललाई कलेस्ती बजारमा बसबाट ओरालेर क्रुरता पूर्वक हत्या गरेका थिए । अहिले तनहुँ जिल्लाका तनहुँसुर, बन्दिपुर, पुलीमर्याङ, बरभञ्ज्याङ, दमौली, कोत्रे, थर्पु र दुलेगौंडामा विभिन्न समयमा सालिकहरु स्थापना गरिएका छन् ।
यसका अतिरिक्त जामुनेमा १५ फिट अग्लो शिवको मूर्ति र दमौली बजारमा ५ फिट ६ इन्च अग्लो वेदव्यासको मूर्ति, छाव्दी वाराही मन्दिर परिसरमा महर्षि वेदव्यासको हजुरआमा मत्स्यगन्धाको र आँवुखैरेनी तथा शुक्लागण्डकीको दुलेगौंडामा भगवान बुद्धका मूर्तिहरु निर्माण भइसकेका छन् भने दमौली बजारमा १०८ फिट अग्लो व्यास मूर्ति निर्माण हुने क्रममा रहेका छन् ।
दमौलीमा स्व. राजा महेन्द्र, जनआन्दोलन २०४७ का कमाण्डर गणेशमान सिंह, वामपन्थी नेता स्व. एकदेव आले, जननेता विश्वेश्वरप्रसाद कोइराला, महर्षि वेदव्यास, ऋषि पराशरको मूर्ति, मत्स्यगन्धाका मूर्तिहरु, २८ व्यासका मूर्तिहरु, आदिकवि भानुभक्त र घाँसीका सालिकहरु स्थापना भएका पाइन्छन् । यिनै सालिकहरु मध्ये व्यास-३ जिल्ला प्रशासकीय भवनको अगाडि महेन्द्रचोक -हाल नाम परिवर्तन भएर अनसनचोक)मा स्व. महेन्द्रको सालिक वि.सं. २०४१ सालमा माधवप्रसाद उपाध्याय प्रमुख जिल्ला अधिकारी र ऋषिकान्त पौडेल भट्टराइ जिल्ला सभापति हुँदा जिल्ला सभाकोषको रकमबाट महेन्द्रको सालिक निर्माण भएको विश्वास गरिन्छ । तत्कालीन जिल्ला पञ्चायतले निर्माण गरेको सालिक जिल्ला समन्वय समिति तनहुँको सम्पती मानिन्छ । १७/१७ वर्ष मौनता साँधेर जिल्ला समन्वय समिति तनहुँले जनताको आँखोमा छारो हालेको छ । सम्पतीको जगेर्ना नगर्ने जिल्ला समन्वय समितिलाई हामीले कुन नजरले हेर्ने हो पाठकहरुले नै निर्णय गर्नु हुनेछ भन्ने पूर्ण विश्वास रहेको छ ।
वर्तमानमा सालिक माथि देखिएको आक्रोश
अन्यायपूर्ण अध्यायको सुरुआत गर्ने शासकहरुलाई सम्मान गर्नु हुँदैन भन्ने मान्यतामा अडिग रहेर देश विदेशमा ठड्याइएका सालिकहरु माथि जनआक्रोश व्याप्त रुपमा देख्न सकिन्छ । पाश्चत्य देशहरुले आफुना उपनिवेसमा स्थापित गरिएका सालिकहरु बढी निसानामा परेका पाइन्छन् । विशेष गरेर यस्ता आक्रोशहरुको निसाना बृटिश, स्पेन, फ्रान्स, बेल्जियम लगायतका शासकहरु परेका छन् । वि.सं. २०४६ मा भएको जनआन्दोलनको क्रममा दरवारमार्गमा रहेको महेन्द्रको सालिकमा रहेको राजदण्ड फालियो भने बनेपाको चोकमा राखिएको राजा त्रिभूवनको सालिक ढालियो। वि.सं. २०६२ साल चैतको अन्तिम साता राजाविरुद्ध माओवादी सहितका सात दलको सम्झैता भइ दोश्रो जनआन्दोलन सुरु भएको थियो ।
वि.सं. २०६३ सालको दोश्रो जनआन्दोलनमा नेपाल एकीकरण अभियानका अभियान्ता बडामहाराजधिराज पृथ्वीनारायण शाहको गोरखा र पोखरामा राखिएका सालिकहरु पृथ्वीराजमार्गमा लडाइए र घिसारिए । यसैगरी बागलुङमा रहेको राजा महेन्द्रको सालिक ढालियो । सालिक ढले पनि मानिस नढलोस भनेर बन्दुक चलेनन् । सालिक त पछि पनि बनाउन सकिन्छ तर मान्छे जिउँदो ल्याउन सकिन्न भन्ने मूलमन्त्र रहेको थियो । यसैगरी दमौलीमा स्थापित राजा महेन्द्रको सालिकको शिरभागमा मार्तोलले हानेर फुटाइयो भने दाङको तुलसीपुरमा रहेको राजा वीरेन्द्रको सालिक पनि ढालियो । सालिक ढाल्नेहरुमा विशेष गरेर २०६४को दोश्रो जनआन्दोलनमा होमिएका वामपन्थी र कांग्रेसका युवा कार्यकर्ताहरु नै हुन् ।
वि.सं. २०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले शिशु प्रजातन्त्रलाई बलात निमोठी नेपालमा निर्दलीय पञ्चायती व्यबस्था लादेका हुनाले निरंकुश शासकका रुपमा हेर्ने गर्दछन । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले व्यास-५ निवासी वापपन्थी नेता एकदेव आलेको सालिक बजारको चोकमा राख्न नदिएका हुन् । त्यति मात्र कहाँ हो र उनै एकदेव आलेको नाउँको प्रतिष्ठानको कार्यालय दमौलीको न्यूरोड गेटको मुख्यचोकबाट हटाउन आन्दोलन पनि गरेकै हुन । यस्तै यस्तै असन्तोष र विद्रोहीहरुको अनुहारसम्म हेर्न नचाहने तिनै पार्टीका कार्यकर्ताहरुको आक्रोशका बाबजुद नेपालका सालिकहरु ढल्न पुगेका हुन् । तर तिनै व्यक्तिहरु अहिले नेपालका राजनेताहरुमा सबैभन्द्रा राष्ट्रवादी नेताको रुपमा राजा महेन्द्र र राजा वीरेन्द्रलाई हेर्ने गरेको पाउँदछौं ।
सालिकको औचित्यता
नेपाल उच्चसिप र कलाकारिता भएका मूर्तिकारको हिसावमा विश्व प्रसिद्ध रहेको छ । उदाहरणको रुपमा एउटा पात्र अरनिको पनि हुन। उनी चीनको मन्त्रीपरिषदको सदस्यमा रहेर आजीवन दरवारका सल्लाहाकार रहेका थिए । मूर्ति तथा सालिक निर्माणका कार्यले निरन्तरता पाउँदै गयो भने कालीगढहरुले काम पाउने, खेर जाने काठ, ढुङ्गा, तामा, पित्तल र ढलोटहरुको बस्तुहरुको सदुपयोग हुने र सालिक निर्माणका कार्यले राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पुर्याउने गर्दछ । आजकल सालिक एवं मूर्ति निर्माणका कार्यहरु दिन प्रतिदिन बढ्दै गइरहेको पाउँदछौं । अहिले विशिष्ट व्यक्तिहरुको मात्र नभएर आफ्ना पूर्वज तथा अग्रजहरुका पनि सालिक बनाउने र ठड्याउने होड चल्दै गएको छ । यस्को एउटा उदाहरणको रुपमा लोकमान सिंह कार्कीले आफ्ना पिता भूपालमान सिंह कार्कीको सालिक विराटनगर र इटहरीको बीच पर्ने दुहबीमा राखेका थिए । जुन २०६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीहरुले हटाएका थिए। यसै गरी महाराजगञ्जको चक्रपथ स्थित नेपालका महान संगीतकार नारायण गोपालको अर्धकदको सालिक पनि चोकबाट हटाएर प्रहरीको छतमा बेवारिसे रुपमा राखिन पुगेको थियो । आर्थिक वर्ष २०४२/०४३ मा स्थापित तत्कालिन शिक्षा तथा संस्कृति सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीबाट अनावरण गरिएको स्व. राजा महेन्द्रको सालिकले २०८० माघ ३ गते विहानको ४ बजेको शुभ मुहुर्तमा श्रीपेच सहितको शिर प्राप्त गरेको छ । विगतको इतिहासलाई जीवन्त राख्न मद्दत पुर्याउनका लागि पनि स्व. राजा महेन्द्रको सालिक अनवरत रहोस यही शुभेच्छा छ ।
निष्कर्ष
सार्वजनिक स्थलमा निर्माण गरिएका सालिकहरु भत्काउने र स्थानान्तरण गर्ने कार्य आधुनिक मानवकालागि शोभनीय कार्य हुन् भन्न रतिभर सकिंदैन । कुनै कसैको सालिक कसैलाई अति प्यारो लाग्न सक्छ भने कुनै कसैको सालिक कसैलाई फुटेको आँखाले हेर्न मन नलाग्न सक्दछ । त्यही मारमा तनहुँमा स्थापना गरिएको पञ्चायत रजत जयन्ति स्तम्भ दमौलीको खेलमैदान बनाउने नाउँमा ढालिएको छ । व्रि्रोहीहरुको पञ्चायतमाथिको रिस पोख्ने एउटा तरिका पनि यही लागेको होला । तर मन नपर्ने सालिक तथा स्मारकहरु हाम्रा माझ नराख्ने भन्न थालियो भने एकले अर्कालाई घृणा गर्दै सालिक ढाल्ने होड नचल्ला भन्न सकिन्न ।
हाम्रा चोक तथा मैदानहरुमा राखिएका सालिकहरुको इतिहास माटोमा बिलाउन सक्दछन् । बरु त्यस्ता सालिकहरु कुन सालमा, कहिले, कोद्वारा स्थापना गरियो – सो विषयका शिलालेख एवं भित्तामा क्यू आर कोडको भाषामा उस्को राम्रा नराम्रा पक्ष जे छन् सोही किसिमको वायोहिस्ट्री र शासन प्रकृयाहरु उल्लेख गरेर पछिल्ला पुस्तालाई इतिहासको जानकारी गराउनु हाम्रो दायित्व हो । कसैको मूर्ति ढाल्ने र कसैको सालिक ढाल्ने प्रकृयाले हाम्रो समाज र संस्कृति कमजोर बनाउने काम नहोला भन्न सकिन्न । आज हामी हाम्रा मन नपरेका राजाहरुको सालिक ढाल्छौं भने भोली लेनिनका सालिक ढले झैं त्रि्रा नेताहरु वि.पि. कोइराला, गिरिजा प्रसाद कोइराल, पुष्पलाल श्रेष्ठ, लौहपुरुष गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारी, माधव नेपाल, के.पि. ओलीका सालिक ढल्दैनन् भन्ने के ग्यारेण्टि छ र – हिँजो सालिक तोडदै हिन्ने अल्लारेहरु आज प्रायश्चित गर्दैछन र तोड्न लगाउनेहरु मस्कि रहेका छन् । राजा पृथ्वी मल्लले दुल्लुमा स्थापना गरेको शिला अभिलेख आजसम्म सुरक्षित नगरी विध्वंस गरेको भए खसान तथा सिञ्जा साम्राज्यको इतिहास पृथ्वीको गर्भमा लुप्त हुने थियो । पुराना संरचना ध्वस्त गर्नु भनेको आफ्नो गोडामा बञ्चरो हान्नु सरह हो । आफ्नो अस्तित्व आफैले नामेट गर्नु हो । रिसको आवेगमा सालिक तोड्ने र गलत महसुस गरी पुनः निर्माण गर्ने दौड प्रथा अन्त्य गरौ । बरु जसको सालिक तथा मूर्ति जहाँ जसरी स्थापना गरिएका थिए र छन् सोही स्थानमा त्यसरी नै राखेर विगतमा उसले गरेका असल तथा खराव कुराहरुलाई लिपिबद्ध गरेर भावी पुस्तालाइ सही इतिहासको जानकारी दिन विगतका स्मारकहरु जोगाउनु आजको हाम्रो नैतिक कर्तव्य हो ।
अन्त्यमा
पृथ्वी नारायण शाहदेखि प्रताप शाहसम्मको कालमा राजाको निर्देशनात्मक शासन व्यवस्था, लामो समयसम्म नायवहरुको प्रत्यक्ष शासन व्यवस्था, वि.सं. १८३४ देखि १९०३ सम्म पाण्डे, बस्न्यात, कार्की, थापा, शाह र पौडेलहरुको काजी तथा मुख्तियारी शासन व्यवस्था, १०४ वर्ष जहानीय राणा शासन व्यवस्था, २००७ सालदेखि २०१६ सालसम्म राणा कांग्रेस हाइब्रिड शासन प्रणाली, २०१६/०१७ प्रजातान्त्रिक बहदलीय शासन व्यवस्था, २०१७-०४६ सम्म निर्देशित पञ्चायत शासन व्यवस्था, २०४६-२०६३ वहुदलीय शासन व्यवस्था, २०६३-२०७२ संक्रमणकालीन माओवादी नीति तथा परिकल्पनात्मक निर्देशित शासन व्यवस्था, २०७२ देखि आजसम्म अनियन्त्रित संघीय गणतन्त्रात्मक तथाकथित लोकतन्त्रीय शासन व्यवस्था नेपालमा प्रयोग भइसकेका छन् । आजसम्म सबैखाले शासन प्रणालीको अनुभव बटुली सकेको नेपालमा संघीय गणतन्त्रात्मक लोकतन्त्रमा सुधार भएन भने कुनै न कुनै किसिमको निर्देशित शासन व्यवस्थाको बाटो नरोज्लान भन्न सकिन्न । हुन पनि आजसम्मका व्यवस्थाहरु नेपालको हीतमा छैनन भनि आरोप प्रत्यारोप हुँदै आएको अवस्था हो अहिले ।
तनहुँको सदरमुकामको प्रशासन चोकमा राखिएको गरिमामय स्व. राजा महेन्द्रको सालिक ढालेको कलङ्क मेटाउन पनि स्थानीय सरकारले नयाँ सालिक स्थापना गरेर मानवीयताको साथसाथै ऐतिहासिक दस्तावेजको सुरक्षाको प्रत्याभूति दिनु जरुरी देखिन्छ । स्व राजा महेन्द्रको सालिक बनाउन स्थानीय सरकार लगानी गर्न तत्पर छैन भने पनि एउटा वृहत गोष्ठी गरेर उत्सुक समुहका कुनै एक व्यक्तिको नेतृत्वमा गठित संघसंस्था तथा निकायलाई सालिक पुनःनिर्माण गर्न दिनु उत्तम ठहरिने विश्वास लिएको छु । मुखले भन्न नसकेता पनि मनले सालिकहरु पुनःस्थापना होस भन्नेहरुको संख्या दमौलीमा पनि कम छैन । सीमित व्यक्ति बाहेक हरेक व्यक्तिको दिलमा गहिरो चोट लागेको छ । दिलको घाउको उपचार भनेको प्रायश्चित नै एकमात्र विकल्प हो । मौनता सम्मतीको लक्षण हो ।
अन्त्यमा सोमे खेती बुधे लग्न भन्ने हाम्रो समाजमा चली आएको आहान हो । वि.सं. २०८० को माघ महिना बुधवारको दिन विहानको ४ बजेको शुभ मुहुर्तमा स्थापित गरिएको स्व राजा महेन्द्रको सालिकमा शिर स्थापना गरी सालिकको शोभा दिने अभियान्ताहरुलाई धन्यवाद दिंदै शुभकार्यमा कोही कसैको अनास्था नरहोस, यही शुभेच्छा छ । व्यासेश्वर महादेवले सबैको कल्याण गरुन । ‘सर्वे भवन्तु सुखिन सर्वेसन्तु निरामय । सर्वे भद्राणी पश्यन्तु मा कश्चित दुःख भाग भवेत’ अरु फैसला जनताको हात्तमा नै सुम्पौं ।
श्रोत सन्दर्भ :
– पूर्व कमरेडले पूर्व राजाको फोन मागे पछि…. (रमेशराज बाँस्तोला)
– सालिक भत्काउनु, सालिक ठड्याउनु (कनकमणी दिक्षित- हिमाल खवर)
– नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक ढलाएपछि….. (विं.एल सम्बादाता)
– टेलिफोन वार्ता (हरिनाथ खनाल, गौमाया श्रेष्ठ, देवनिधि पन्त)
– अधिनायकतन्त्र रोक्न पञ्चायत अध्ययनकेन्द्र (कनकमणि दीक्षित-हिमालखवर)










