युद्ध पर्यटनका लागि “शान्ति स्मारक”

के.बि. मसाल

जनयुद्धका बेला देश परिवर्तनका लागि युद्धमा लागेका योद्धाहरुको पप्डा अहिले पनि सुन्नै नसकिने छ । परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ भन्दै जनमुक्ति सेनाको शैन्य तालिम लिएर युद्ध लडन तयार भए । त्यही युद्ध लडेकै कारण अहिले धेरै बेसाहारा भएका छन । जनयुद्धमा धेरैले ज्यान गुमाए। धेरै परिवार विस्थापित भए । धेरै जना अहिले पनि घाइते अवस्थतामा छन् । युद्धले कसैलाई सदनमा त कसैलाई सडकमा पुर्‍यायो। तर सरकार फेरियो, युद्धमा लागेका लडाकुका धेरै परिवारको जीवन फेरिएन । परिवर्तनका लागि युद्धमा लडेका लडाकुहरुको जीवन त फेरिएन कसरी फेरिन्छ साधारण जनताको जीवन ? यो प्रश्न अहिले सबैको मनमा उब्जिएको छ ।

पूर्वी रुकुमको भुमे गाउँपालिका-६ महत युद्ध पर्यटकीय गाउँ भएको छ । महत मगर जातीको बाक्लो बस्ती भएको गाउँ हो । थबाङ-महत जनयुद्धको उदगम थलो हो । राज्य र विद्रोही पक्षको दबाब-प्रभावमा रहेका यी गाउँ अहिले विकासका नयाँ आयामसँग साक्षात्कार गरिरहेका छन । जनयुद्धको वैचारिक केन्द्रका रुपमा स्थापित हुँदै गएका यी गाउँ अहिले पर्यटकहरुका लागि अध्ययन, अनुसन्धान र घुमघामका गन्तव्य बन्न थालेका छन । गाउँ गाउँमा मोटर मार्ग पुगेका छन् । नयाँ नयाँ अनुहारका मानिसहरु गाउँमा पुग्ने गरेका छन् । गाउँमा उत्पादन भएका वस्तुहरु गाउँमै बिक्री हुन थालेका छन् । दश वर्षलामो जनयुद्धमा भएका घटनाहरु नयाँ मानिसहरुका लागि अध्ययनको विषय भएको छ । गाउँमा पुग्ने पर्यटकहरुले महत गाउँमा निर्माण भएको युद्ध फिचर स्मारकको फोटो खिच्ने, टिकटक बनाउनेदेखि लिएर कतिपय पर्यटकहरुले भिडिओ समेत बनाउने गर्दछन् ।

दश वर्ष लामो जनयुद्धमा महतमा प्रत्यक्ष ठूला भिडन्त भएका थिए । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम केन्द्र र सैन्य कार्यालयहरु पनि महतमा थिए । जनयुद्धको चर्चित क्षेत्र महतमा अहिले युद्ध पर्यटनको विकास भएको छ । महत गाउँका प्रत्येक नागरिकहरुसंग युद्धका तितामिठा पीडाहरु छन । द्वन्द्वकालमा तत्कालीन माओवादी र राज्यपक्षबीच सशस्त्र युद्ध हुँदा महतले ठूलो जनधनको क्षति बेहोर्न पर्‍यो । महतमा राज्य र माओवादी पक्षबाट गरी ५८ जनाको ज्यानै गयो । डीएसपी ठूले राइलाई माओवादीले अपहरण गरेको भोलिपल्ट गाउँमा प्रहरी पसेर दुइ जना सर्वसाधारणको हत्या गरेको थियो । त्यसको केही दिनपछि असोज ३० गते गाउँकै सात जनालाई गिरफ्तार गरी नजिकैको जंगलमा लगेर छ जनाको हत्या गरिएको थियो । २०६० साल असोज ५ गते प्रहरीले गाउँ घेरा हालेर १७ जना सर्वसाधारणको हत्या गरेको थियो । यसमध्ये ६ वर्षीय, १० वर्षीय र १४ वर्षीय नाबालकले मात्रै ज्यान गुमाएनन् ७६ वर्षीय वृद्धको समेत राज्यका सुरक्षाकर्मीले हत्या गरेका थिए । युद्धका क्रममा महत गाउँमा राज्यपक्षबाट ५२ र माओवादी पक्षबाट ६ जनाले ज्यान गुमाएका थिए ।

अहिले त्यहि ठाउँ हेर्नका लागि काठमाण्डौ, पोखरा लगायत देशका अन्य शहर र गाउँघरदेखि पर्यटकहरु पुग्ने गरेका छन । युद्धको पीडालाई न्युनिकरण गर्न र पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वी रुकुमको भुमे गाउँपालिका-६ महत गाउँमा युद्ध फिचर स्मारक निर्माण भएको छ । युद्ध फिचर र स्मारकमा विशेषगरी तत्कालीन जनयुद्धको समयमा महतको इलाका प्रहरी चौकी आक्रमण र डिएसपी ठूले र्राईले गरेको आत्म समर्पणलाई चित्रमा उतारिएको छ । जसमा आक्रमणको बेला जल्दै गरेको प्रहरी कार्यालय, बाहिरी मोर्चाबाट लडदै गरेका माओवादी जनसेना, राज्य तर्फाट मारिएका सेना प्रहरीका लाश र तत्कालीन डिएसपी ठूलेर्राईले हात उठाएर आत्मसमर्पण गरेको चित्र पनि देखाइएको छ। माओवादी जनयुद्धका क्रममा डिएसपीले आत्मसमर्पण गरेको र डिएसपीलाई नै माओवादी सेनाले अपहरण गरेर लिएको सबैभन्दा ठूलो घटनाको रुपमा लिने गरिन्छ । माओवादीले अन्य प्रहरीलाई छाडेर डिएसपी र्राईलाई युद्धबन्दिको रुपमा गिरफ्तार गरिएको थियो । पछि सरकारबाट पक्राउ परेका माओवादी उच्च नेतालाई छुटाउने सहमतिमा डिएसपी र्राईलाई पनि माओवादीले अधिकारकर्मीहरुको रोहवरमा छाडेका थिए । जुन कारणले आजभोली महत गाउँमा युद्ध फिचर र स्मारक अवलोकनका लागि पर्यटनहरु पुग्ने गर्दछन ।

महत पुगेका पर्यटकहरु क्यांसी गाउँमा माओवादीद्वारा स१चालित जनवादी विद्यालय र मारिङ कृषि क्षेत्रमा पनि पुग्ने गर्दछन । द्वन्द्वकालमा महत पुग्ने पर्यटकहरुले आजभोली महत गाउँको विकास देख्दा दंग पर्दछन । द्वन्द्वले थिलथिलो भएको महत गाउँले पर्यटनको विकास गर्न लागेपछि गाउँमा धेरै परिवर्तन भएको छ । गाउँमा पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा आएको छ। महत पुग्ने पर्यटकहरुलाई खाना बस्न कुनै समस्या हुँदैन । होमस्टेमा मगर समुदायको खाना ढिडो, सिस्नो, आलु, छ्याङ लगायतका खाने कुराहरु पाइन्छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भुमे गाउँपालिकाले ‘ग्रिन भुमे, क्लिन भुमे’ अभियान पनि सञ्चालन गरेको छ । सरसफाई र सबै घरमा हरियो कलर लगाउने काम भएको छ । विकासको गतिले महत गाउँले विगतको युद्धको पीडालाई बिस्तारै मेटाउँदै लगेको छ । महत गाउँमा पहिला सामान्य सुविधा पनि नभएको गाउँमा अहिले आधारभूत आवश्यकता पूरा हुँदैछ । सहिद मार्गले महत गाउँलाई छोएको छ । महतवासी आजभोली गाउँबाटनै बसको यात्रा गर्न पाएका छन । सहिद मार्गले रुकुम, रोल्पालाई दाङसँग जोडेको छ। सहिद मार्ग माओवादीले युद्धकालमै सुरु गरेका थिए । अहिले महत वासीले इन्टरनेटको प्रयोग गर्न पाएका छन भने घरघरमा अहिले विद्युतको सुविधा छ ।

महत गाउँका पूर्वजहरु परापूर्व कालमा वाग्लुङको गिँजा भन्ने ठाउँबाट तकसेरा हुँदै महत गाउँमा बसोबास गर्न आएका हुन । मानव बस्ति बस्नु भन्दा पहिले अहिलेको महत गाउँमा बाँझका रुखहरुको जंगल रहेछ । खाम भाषमा बाँझको रुखलाई मै भनिन्छ । त्यही मै भन्ने शब्दको अपभ्रंश हुँदै गाउँको नाम महत रहन गएको रहेको छ । महतमा मगर समुदायको बाहुल्यता रहेता पनि क्षेत्री, कामी, सुनुवार, दमाई, नेवार लगायतका जातीहरुको बसोवास रहेको छ । महत गाउँमा धर्मशाला र लावाङ गाउँ घना बस्ती रहेको छ । खुल्ला र कन्चन आकाश । हरित पहाडले घेरिएको कल्पना भन्दा बाहिरको सुन्दरता । एकनासे स्लेट ढुंगाले छाएका घरहरुले बनेको बाक्लो विविधतामय महत गाउँ । एकै किसिमको रंगले सजिएका घर, गाउँको तल खेतीयोग्य रहर लाग्दो फाँट, सबै घरको आगनमा मकैको सुलि अर्थात मकै भण्डार गर्ने थाक्रो देख्दा महत पुग्ने पर्यटकहरु दंग पर्दछन । महत गाउँमा पुगेपछि पर्यटकहरुले ब्राह मन्दिर, पाथि हाल्ना छहरा, खोलो धुरी र ढाटे झरणा पुग्न सके राम्रो हुन्छ ।

आन्तरिक अथवा वाहृय पर्यटकहरु किन नहोस विगतको जनयुद्धको बारेमा सबैको मानसपटलमा युद्धका कुरा खेली रहेको हुन्छ । युद्धको औपचारिक अन्त्यसँगै अहिले भने महत शान्ति यात्रामा छ । यतिखेर बिगतको युद्ध भूमिको विरासत बोकेको महत गाउँमा पर्यटकहरु अनुसन्धान, घुमफिर र प्राकृतिक मनमोहक आनन्द लिनको लागि पुग्ने गर्दछन । सशस्त्र युद्धका कारण ठूलो पीडा बेहोरेका महतवासीले अहिले शान्तिको महसुस गरेका छन् । तर पनि आफन्तहरुको हत्या भएको देखेका महतबासीले अहिले पनि ती घटनाको न्यायीक निरुपण खोजेका छन् । तिनै पीडा भुल्न उनीहरुले गाउँको बीचमा बुद्धको मूर्ति स्थापना गरेका छन् । बुद्धमूर्तिसँगै स्तम्भ बनाइएको छ। स्तम्भमा मृतकको नाम लेखिएको छ । जुन कार्यले महतवासी शान्ति चाहन्छन् भन्ने सन्देश दिएको छ । शान्तिको स्मारक निर्माण भएपछि अब महत गाउँ युद्ध पर्यटन क्षेत्रका रुपमा विकास हुन थालेको छ । मगर बस्तिको बाहुल्य रहेको महतमा आन्तरिक एवं बाहृय पर्यटकको पनि आकर्षण बढ्न थालेको छ । महत अहिले हरियाली क्षेत्र, अग्ला पहाड, रमणीय पाटन घुम्दै रमाउन चाहने पर्यटकहरुका लागि नयाँ गन्तव्य भएको छ । द्वन्द्वले थिलथिलो बनेको महतमा पर्यटनलाई शान्तिसँग पनि जोडिएको छ । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेष पर्यटकहरुका लागि आकर्षाका केन्द्र बनेका छन् ।

महत पुगेपछि भुमे गाउँपालिकाको ९ नम्वर वाडमा पर्ने चुनवाङ पुग्नै पर्ने हुन्छ । महतबाट आजभोली चुनवाङ पुग्न मोटरको सुविधा छ । तर पैदल यात्रामा रमाउने पर्यटकहरुका लागि दुइवटा बाटो रहेको छ । महत-कोर्जा-बिजौला हुँदै चुनवाङ अथवा महत-लावाङ-च्याङचुङ हुँदै चुनवाङ । महत देखि चुनवाङ पैदल यात्रामा पाँच घण्टामा पुगिन्छ । चुनवाङको भेडिडाँडा ऐतिहासीक स्थल हो । जहा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने एउटा महत्वपूर्ण बैठक भएको थियो । यस क्षेत्रमा शसस्त्र द्वन्द्वका क्रममा तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेको घर रहेको छ । यस घरलाई संग्रालयको रुपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको छ । चुनवाङ पुगेपछि पर्यटकहरु हत्तपत्त प्रचण्ड बसेको घरको फोटो खिच्न आतुर हुन्छन । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन महत्वपूर्ण मानिएको चुनवाङ बैठकले चर्चित बनेको थियो, चुनवाङ गाउँ ।

चुनवाङको गैरीगाउँ बजार लाखरखोला र च्याङचुङखोलाको दोभानमा पर्दछ । जनयुद्धमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा चुनवाङको गैरीगाउँमा सहिद गेट निर्माण गरिएको छ । युद्धकालमा चुनवाङमा ३५जना मारिएका थिए । गैरीगाउँ नजिकै भीरखोलाबाट गुरिल्ला पदमार्ग शुरु हुन्छ । गैरीगाउँ बजारबाट च्याङचुङखोला तरेर खोलाको तिरैतिर चुनवाङ-महत सडकबाट गएपछि हुनाखोला हुदै भेरीडाँडा पुगिन्छ । पर्यटकहरुले यात्राको क्रममा भीरमा भीरमौरीको चाका देख्न सक्दछन् । भिरमौरी पाइने हुनाले ठाउको नाम भेरीडाँडा रहन गएको हो । भेरीडाँडामा माओवादीको चर्चित चुनवाङ बैठक बसेको थियो । त्यतिबेला स्थानीय तेजबहादुर ओलीको घर बैठकस्थलको रुपमा माओवादीले प्रयोग गरेका थिए । चुनवाङको भेरीडाँडा सहिदमार्ग अन्तर्गत चुनवाङ-थवाङ सडकखण्ड नजिक पर्दछ । लावाङ माओवादीको अर्को चर्चित बैठकस्थल हो । जुन बैठकबाट माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराइलाई कारवाहीको निर्णय भएको थियो । चुनवाङ पुग्ने पर्यटकहरु आजभोली लावाङ पनि पुग्ने गर्दछन । महत र चुनवाङ पुगेका केही पर्यटकहरु गुरिल्ला मार्गमा यात्रा गर्न खोज्दछन ।

माओवादीले म्याग्दीको बेनी आक्रमणमा चुनवाङदेखि बेनीसम्म पैदल यात्रा गरेको इतिहासलाई स्मरण गरी चुनवाङदेखि बेनीसम्म गुरिल्ला ट्रेलको परिकल्पना गरिएको छ । सो मार्ग अहिले पर्यटकीय पदमार्गको रुपमा स्थापित हुँदै गएको छ । पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्दछ । गुरिल्ला ट्रेलसँगै बन्न लागेका युद्ध संग्रहालयमा जनयुद्धमा भएका ऐतिहासिक घटनाक्रम, महत्वपूर्ण निर्णय लगायतका जनयुद्धसँग सम्बन्धित ऐतिहासिक सामाग्रीहरु पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । गुरिल्ला पदमार्गमा द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा पर्यटकहरुले साना-ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन पनि गुरिल्ला पदमार्गमा यात्रा गर्ने पर्यटकहरुले अवलोकन गर्न सक्दछन ।

पदमार्गबाट धौलागिरि हिमश्रृंखला र सिस्ने हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको पीडा, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको पर्यटकलाई अनुभूति हुन्छ भने युद्ध गर्दा हुने असरका बारेमा समेत शिक्षा हुनेछ। गुरिल्ला पदमार्गमा सुलीचौर, जेलबाङ, ओखरेनी, धरमपानी, जलजला, थाबाङ, गुनाम, लुकुम, तकसेरा, निशेल्ढोर हुँदै जलजला, लम्सुम, ताकम, धारापानी हुँदै बेनी निस्कन सकिन्छ । यस्तै अर्को मार्गमा थबाङबाट धरमशाला, लावाङ, रिशालचौर, पातिहाल्ने डाँडा हुँदै च्याङचुङ, भेरिडाडा अर्थात चुनवाङ हुँदै गैरीगाउँबाट र्घर्तीगाउ निस्कन सकिन्छ । गुरिल्ला पदयात्रामा मगर संस्कृति, जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । यो पहाडी पद यात्रामा पर्यटकहरुले प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं सामाजिक बिषयमा अध्यन गर्न सक्दछन।

कसरी जाने ?

दाङको घोराहीदेखि हेल्लेरी, दहवन, तिला, घर्तिगाउँ थवाङ हुँदै महत १७७ किलो मिटर पर्दछ । घोराहीदेखि दैनिक बसको सुविधा छ। बाटोमा जनयुद्धमा पहिलो पटक आक्रमण भएको होल्लेरी चौकीको भग्नावशेष अवलोकन गर्दै शान्तिकालमा लडाकुको पाँचौ डिभिजन रहेको दहवन र तिला हेर्दै यात्रा गर्न सकिन्छ । रुकुमकोट अथवा बुर्तिवाङ, भएर महत पुग्नका लागि मध्य पहाडी लोकमार्गमा पर्ने भुमे गाउँपालिको भवन नजिकै खावाङ र लुकुमखोला र थवाङ खोलाको संगमस्थल दोमहीदेखि पनि महत पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker