तनहुँमा भारतीय पर्यटक बस दुर्घटना : ४३ जना सवार मध्ये २७ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–आँवुखैरेनी सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा शुक्रबार यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखराबाट काठमाडौं जाँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान करिब ११ः३० बजेको समयमा उक्त स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको बसमा ४१ जना यात्रु र चालक दलका २ गरी ४३ जना सबार रहेको बताइएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको तनहुँ प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेका ४३ जनाकै उद्धार गरिएकोमा २७ जना मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार १६ जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । १ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परेको बस भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि जाँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको तनहुँ प्रहरीले जनाएको छ ।
यस्तै, उक्त दुर्घटनामा परेकाको उद्दार तथा उपचारका लागि नेपाली सेनाको हेलिकप्टर दुर्घटनास्थल आइएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीका अनुसार सेनाको मेडिकल टिमसहितको टोली परिचालन गरिएको र गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइएको छ ।
दुर्घटनास्थलमा जनपथ प्रहरी, सशत्र प्रहरी, सेना र स्थानीय उद्धारमा खट्टिएका थिए । घाइतेको उद्धार गरेसँगै घटनास्थलमै प्राथमिक उपचार गरी गम्भीर घाइतेलाई भरतपुर तथा अन्यत्र स्वास्थ्य संस्थामा पठाइएको छ ।
तनहुँका प्रहरी नायव उपरीक्षक रायका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खट्टिएका थिए ।
यस्तै, दुर्घटनाको प्रारम्भिक अध्ययन अनुसार आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराभन्दा करिब सय मिटर वरबाट बस करिब १ सय मिटर तल मस्र्याङ्दी नदीमा खसेको छ । बस नदीभित्रै डुब्नबाट बचेको छ तर ठूलो भौतिक क्षति भएको छ ।
घटनास्थल दुर्घटना हुने सम्भावित अप्ठेरो सडकमा नपर्ने देखिएको छ । घुम्ती कटेर सिधा बाटो लाग्ने ठाउँबाट बस खसेको देखिन्छ । बस सडक सुरक्षाका लागि गाडीएका क्र्यास ब्यारिएरसमेत भत्काउँदै मस्र्याङ्दी नदीमा खसेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने तनहुँ प्रहरीको प्रारम्भिक अनुमान छ ।
घुम्ती कटेर सिधा बाटो लागिसक्दा तीव्र गतिका कारण बस अनियन्त्रित हुन सक्ने अनुमान गर्न सकिन्छ । अहिले उद्धारको काम भइरहेकाले पहिलो प्राथमिकता क्षति एकीन गर्नेतिरभन्दा पनि घाइतेलाई निकालेर उपचारका लागि पठाइसकेपछि दुर्घटनाको विस्तृत अध्ययन अनुसन्धान गर्ने प्रहरी नायव उपरीक्षक रायले बताए ।










