मानुङकोट, पर्यटन र मनु ऋषिको तपोभूमी

के.बि. मसाल

पर्यटनको क्षेत्रमा घुमफिरमा बानी परेका पर्यटकहरु नयाँ–नयाँ ठाउमा पुग्न खोज्दछन । नयाँ ठाउको परिवेशमा रमाउन पाउदा खुशि मात्र हुने होइन पर्यटकहरुले नयाँ कुराको अध्यन अनुसन्धान गर्न सक्दछन। तनहुँको दमौलीसंग जोडिएको मानुङकोट प्राकृतिक सौन्दर्य पर्यटकहरु रम्न जाने स्थल हो । कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न बिशेष गरी जाडोको समयमा पर्यटकहरु मानुङकोट पुग्दछन् । मानुङकोटबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायत हिमश्रृंखला पनि पर्यटकहरुले अवलोकन गर्न सक्दछन । मानुङकोटबाट व्यास नगरपालिकाको १४ वटै वडाको भूगोल, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको डयाम र निर्माण स्थल समेत देख्न सकिन्छ ।
व्यास नगरपालिकाको वडा नं. ५ मा रहेको मानुङकोट दमौलीबाट करिब १० किलोमिटरको दुरीमा पर्दछ । दमौलीबाट पोखरातर्फ लाग्दा मादी नदीको पुल तर्नेबित्तिकै चापाघाटबाट सगँमटोल, कटुवा, अलैँचे, सौराहा, धारादी, देउरालीहुँदै मानहुँकोट पुगिन्छ । पर्यटन भनेकै नयाँ ठाउँ अर्थात नदेखेको ठाउमा पुग्नु हो । पर्यटनका लागि पुर्वाधारको बिकासले ग्रामीण पर्यटकहरु मानुङकोट पुग्नेहरु को सख्या बढन थालेको छ । मानुङकोटमा पर्यटकहरुलाई खान बस्नको लागि कुनै असुबिधा छैन। अहिले मानुङकोटमा पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा छन ।
पर्यटकहरुको रोजाइ अनुसार स्थानीय परिकारका खानाहरु खान पाउँछन । कतिपय पर्यटकहरु मानुङकोटमै होमस्टेमा बसेर बिहानीको सूर्योदय र कुहिरोको सतहको दृश्य हेर्न खोज्दछन । मानुङकोटको प्राकृतिक सौन्दर्यले पर्यटकहरुको मनै लोभ्याउछ । पर्यटकहरुले हिमालको दृष्यमा रमाउन र मादी र सेती नदी माथी देखिने बाक्लो कुहिरोको सतह देख्दा नौलो अनुभूती गर्न पाउछन । माछापुच्छ«े हिमालदेखि सुरु हुने सेती नदी र कुपुचे तालदेखि उदगम भएको मादी र कुपुचे ताल अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको फेदीमा उदगमस्थल भएको दुबै नदी दमौलीमा मिसिन्छ ।
तनहुँको भूगोल ऋषिमूनीहरुको तपोभूमी हो । तनहुँमा ऋषिमुनि तथा सिद्धहरुले साधना, एवम सिद्धिप्राप्त गरेका तपोभूमि, पर्दछ । तनहुँमा ज्ञानभूमि, सिद्धभूमि र पुरातात्त्विक, ऐतिहासिक, धार्मिक, एवं सांस्कृतिक महत्वका स्थलहरु धेरै छन् । इतिहासमा रुचि भएका पर्यटकहरुलाई मानुङकोट पुग्दा ऋषिमूनीहरुको बारेमा पनि खोज अनुसन्धान गर्न सक्दछन । विशेषगरी दमौली बजार कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य पर्यटकहरु मानुङकोट पुग्ने गर्दछन ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पराशर ऋषिको लोक कथा जोडिएको छ। परापूर्वकालमा महर्षि व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग यौन तृष्णा मेटाउन लागेको समय लोकलाई थाहा नहोस भनेर कुहिरो उत्पन्न गराइदिएको प्रसग उल्लेख छ । इतिहास पल्टाउने हो भने मानुङकोट र गलेखामकोट ततकालिन बाइसे चौविसे शासनकालमा दक्षिण तर्फको सुरक्षाका लागि थियो । कोत हातहतियार भण्डार गर्ने थलो अर्थात सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर; मौलो पूजा गरिने ठाउँ; कोत हो । कतिपय ठाउमा शक्तीको लागि देवीको मन्दिर पनि हुन्छ । कोत शब्द पछि बोल्ने क्रममा कोट भएको हो । मानुङकोटलाई स्थानियहरुले लामिडाँडा पनि भन्दछन । मानुङकोट वरपर मगरजाती र खनालहरुको बसोवास रहेको छ । मानुङकोट आदिकवी भानुभक्त आचार्यको ससुराली गाउँ पनि हो। मानुङकोट नेपालको इतिहासमा हलोक्रान्ति किसान मुक्ति आन्दोलन जस्को जोत उस्को पोतका अभियानकर्ता एकदेवको जन्म थलो पनि हो ।
मानुङलाई मानुङ समेत भनिएको पाइन्छ । मानुङकोट समुद्री सतहबाट एक हजार एक सय मिटर उचाइमा पर्दछ । मनु ऋषिको वासस्थान मानिने मानुङकोट झ्याडी मगरजातीहरुले आफ्नो पुर्खा मान्दछन। मनु ऋषिले तपस्या गरेको ठाउँ भएको हुदा ठाउको नाम मानुङ रहन गएको भनाइ पाइन्छ । अहिले पनि झ्याडी मगरजातीहरुले मनु ऋषिकै नाममा मंसिर पूर्णिमाका दिन पुजा गर्दछन । पुजा गर्दा पुजारीहरु मनु ऋषिकै वंशका झ्याली मगरहरु रहने र उनीहरुले पुजा गरेर सकेपछि मात्र अरुको भाकल र पुजा चल्ने परम्परा छ। मनु ऋषिले तपस्या गरेको शिला ढुङ्गालाई मगर ढुट भाषामा ल्हुङ/ल्हुङ्ग भनिन्छ । मनु+ल्हुङ मिलेर मानुङ रहन गएको हो भन्ने तर्क पनि छ । मनु हिन्दू धर्मका अनुसार, संसारका प्रथम पुरुष थिए । मनुस्मृति हिन्दु धर्म संस्कृतिको अभिन्न अग हो । महाभारतमा ८ मनुहरुको बारेमा बर्ण गरिएको छ । श्रीमदभागवतमा मनु ऋषि र सृष्टिको बारेमा उल्लेख गरिएको छ । श्वेत वराह कल्पमा १४ मनुहरुको बारेमा उल्लेख छ ।
मानुङकोटमा तपस्या गर्ने मनु कुन ऋषि हुन ? अथवा नाम मात्र मनु थियो! यो खोजको बिषय बन्ला ! तर पनि झ्याडी मगरजातीहरुले आफ्नो पुर्खा मान्दै आएका छन । मानुङकोट, कुनै समय गलेखामकोट राज्यको दक्षिणी सुरक्षा कवच गढीका रुपमा थियो । गलेखाम राज्यको यो एउटा दरिलो किल्ला थियो । छिमेकी राज्यहरु ढोर, घिरिङ, तनहुँ र रिसिङबाट हुनसक्ने आक्रमणबाट बच्न निर्माण गरिएका गढीहरुमध्ये मानुङकोट एक हो । गढीका केही अवशेषहरु र मन्दिर अहिले पनि त्यहाँ देख्न सकिन्छ ।
आजभोली पर्यटन लोकप्रिय र फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । घुमफिरको संस्कृति बढ्दै गएको छ । यसरी नयाँ ठाउमा घुमफिर गर्दा पर्यटकहरुले पुगेको ठाउँको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको बारेमा अध्ययन गर्दछन । इतिहासमा रुचि राख्ने पर्यटकले ऐतिहासिक पुरातात्बिवक एवं धार्मिकस्थलहरुको अध्ययन अनुसन्धान गर्ने गर्दछन । मानुङ्कोटमा बिहानको सूर्योदय र बेलुकीका सूर्यास्तको दृश्यल पर्यटकहरु रमाउने त छँदै छ, बादलमाथि उभिएको मानुङकोटबाट देखिने हिमाल र मौसम खुलेपछि आँखामा कैद हुने दमौली बजार र वरपरका डाँडाकाडाका बस्तीहरुले पर्यटकहरुले स्वर्गको अनुभूती गर्दछन । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर बजार अर्थात दमौली बजार र आसपास देउराली, मैदान, चारघरे, छापथोक, टाकराङ, अर्चलचौर लगायतका गाउँमा बसोवास गर्न थालेका मानुङकोटका गाउँलेहरु अब क्रमश गाउँमा फर्कन थालेका छन । तनहुँका अधिकांश कोटहरु अहिले पर्यटकियस्थल भएका छन । घुमफिर गर्ने संस्कृतिको बिकासले गर्दा आजभोली ग्रामीण क्षेत्रमा भएका ऐतिहासिक कोटमा पुग्ने फोटो खिच्ने, टिकटक बनाउने मात्र होइन कतिपय टेलिफिल्म निर्माण गर्ने कलाकारहरुको रोजाइ समेत कोटमा हुने गरेको छ ।
मानुङकोटबाट फर्कने बेला आफ्नो यात्राको समय बढाउन मन लागे पर्यटकहरुले ब्यास नगरपालिकामा पर्ने अन्य तीर्थाटन पर्यटकिय क्षेत्रमा समेत पुग्न सकिन्छ । दमौलीको सेती र मादी नदीको संगम तीर्थाटन गर्नको लागि तपोभूमी मानिन्छ । महर्षि वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हो । जहाँ शिवपञ्चायन मन्दिर र मन्दिरको केही तलपट्टि व्यासगुफा छ । त्यहीँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको इतिहास छ । व्यास गुफाको पारिपट्टी परासर गुफा छ । परासर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । अठार पुराणका रचयिता महर्षी वेदव्यास जन्मिएको तनहुँको दमौली ज्ञान र सभ्यताको तपोभूमिका रुपमा विकास हुन थालेको छ । पूर्वीय सभ्यता र ज्ञानको महाभारत, १८ पुराण र श्रीमद भागवतका रचयीता महर्षि वेदव्यास अर्थात श्रीकृष्ण द्वैपायनको १०८ फिट अग्लो मुर्ति निर्माणको काम पनि सुरुवात भएको छ । वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेका थिए । पछिल्लो समय व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटनको बिकास गर्न पुर्वाधारका काम पनि भै रहेको छ । पराशर ऋषिको आश्रम दमौलीमा सेती र मादी नदीको सगम स्थलमा पर्दछ ।
गण्डकी माहात्म्यमा मादी र सेतीको सुन्दर दोभानको द्वीपमा अवस्थित गुफालाई पराशर ऋषिले तपस्या गरेको तपसिद्धिप्रदायिनी गुफाका रुपमा लिने गरिन्छ । पराशर ऋषिलाई संस्कृत साहित्यमा कुनै प्रसगमा ऋषि बशिष्ठका छोरा र कतै नाति पनि भनिएका सन्दर्भहरु पाइन्छन् । पराशरलाई पुराणहरुमा सप्तर्षिमध्ये एक तथा ऋग्वेदका मन्त्रद्रष्टा ऋषि मानिएको छ । हिन्दुहरुको अति महत्वपूर्ण धार्मिक कानुन मानिने पराशर स्मृतिको रचना यिनले नै गरेका थिए ।
महर्षि वेदव्यासको जन्मस्थल पुगेपछि पर्यटकहरु छाब्दी बराही पुग्दछन । ब्यासकी माता सत्यवती र परासर ऋषिसंग जोडिएको छ । छाब्दी मगर भाषामा राखिएको नाम हो । छाब्दी बराही मन्दिर भन्दा माथी पहाडमा कुलुङ नाम भएको मगर गाउँ छ । कुलुङ गाउँबाट बग्दै आउने पानीको झरना केही तल आए पछि हराउँछ। त्यहि दबिएर हराएको पानी छाब्दी बराहको पोखरीमा निस्कन्छ । मगर भाषामा दबिएको पानीलाई छाच्छोडी भनिन्छ। छाच्छोडी भन्दा भन्दै बोल्ने क्रममा छाब्दी भएको कुरा स्थानीय मगर जातीहरुले बताउछन् । व्यास ऋषिको जन्म छाब्दी बाराहीको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रुपबाट जन्म भएकोले कुण्डको नाम मच्छेकुण्ड रहन गएको हो । आमाको पूजाको लागि व्यास ऋषिले छाब्दी बराहीमा माछाको पूजाआजा चलाएको मानिन्छ। आज भन्दा तीनसय बर्ष अगाडि सम्म छाब्दी बराहीको पहिचान हुन सकेको थिएन ।
वि.सं. १८०० जेठ महिनाको ८ गते साँझ कन्याको भेषभुषामा छाब्दी गाउँको जहरसिंह आलेको घरमा गएर बास मागिन्। आलेले कन्यालाई भने–बास दिन सक्छु तर म गरिव छु घरमा खाने कुरा केहि छैन भने। कन्याले ती आलेको कुरा सुनेपछि आफ्नो परिचय दिदै भनिन् म देवीको अवतार हुँ। म छाब्दीको जलकुण्डमा बस्ने गर्दछु। अबदेखि मेरो पूजाआजा आलेको सन्तानले चलाउनु भन्दै ती कन्या अलप भइन् । त्यसपछि जहरसिंह आलेले छाब्दीमा पूजा गर्न थाले । अहिलेसम्म पनि उनै आले मगरका सन्तानले पुजारीको काम गर्दै आएका छन् । तनहुँ जिल्ला मगर जातिको थलो पनि हो। बराही मगरजातीको मुख्य देवता हुन । तर छाब्दी वराहीमा तीर्थाटनको लागि सबै जातीहरु पुग्ने गर्दछन ।
छाब्दी बराही आजभोलि तीर्थाटन स्थलको रुपले मात्र नभएर पर्यटकीय दृष्टिकोणले पनि विकास हुन थालेको छ । आफूले मागेको बर बराहीले पु¥याइदिने विश्वासमा भाकल गरी बोका, कुखुरा, हाँस र परेवाको बली दिने तीर्थाटनका पर्यटकको भीड पनी दैनिक रुपमा बढदो छ । यातायातको सुविधाकै कारण केही वर्षयता छाब्दीमा पिकनिक जानेहरुको पनि उतिकै भीड हुने गर्दछ । छाब्दी खोलाको वातावरण स्वच्छ छ। हराभरा जंगल, चराचुरुङीको आवाज, छाब्दी खोलाको पहरामा टाँसिएको छाब्दी बराहीको मन्दिर र शान्त वातावरणले छाब्दी बराही पुगेपछि आनन्दको महसुस हुन्छ । छाब्दी बराहीमा तीर्थाटनका पर्यटकहरुलाई खान बस्नको लागि कुनै समस्या पर्दैन । बराही मन्दिर नजिकै होटल र जलको सुबिधा छ ।
तर ग्रामीण परिवेश र मगर संस्कृतिमा रमाउन चाहनेका लागि कुलुङ गाउँको होमस्टेमा पुग्न सकिन्छ। कुलुङ शब्द मगर भाषाको हो । मगर भाषामा बोल्ने क्रमका कुलुङलाई कुरुलुङ भन्ने गरिन्छ। कुरुलुङ भनेको नेपालीमा शत्रुलाई प्रहार गर्ने ढुङगा भन्ने भाव हुन्छ। छाब्दी बराही देखि करिव ३ किलो मिटरको दुरीमा रहेको कुलुङ गाउँ जान तरेली परेको उकालो बाटो पैदल यात्रा गर्नु पर्दछ । अथवा पैदल यात्रा गर्न नसक्नेले सदरमुकाम दमौलीबाट पूर्व दक्षिणतर्फको मोटरमार्गबाट पनि कुलुङ गाउँ पुग्न सकिन्छ ।
तनहुँमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता हेर्नका लागि पर्यटकहरु पुग्दछन । प्राकृतिक विविधतासँगै दमौली क्षेत्रमा विकसित मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई पर्यटकहरुले रुचिका साथ आनन्द लिदै रमाउछन । दमौली वरपर पर्यटनका लागि धेरै सम्भावना भएको क्षेत्र हो । बिविध हावापानी, गाउँले जनजीवन, रहनसहन, भौगोलिक अवस्था, स्थानीय अर्गानिक खाना, सास्कृतिक सम्पदा र संस्कारले कतिपय पर्यटकहरु गाउँमा पनि पुग्दछन । प्राकृतिक रमणीयताको परिवेशले गाउँको होमस्टेमा बस्ने र भाषा र सस्कृतिको अध्यन समेत गर्दछन। गाउँमा पर्यटकहरु पुग्न पर्यटन पूर्वाधार पहिलो आवश्यकता हो । पर्यटकलाई सुरक्षित तवरले गन्तब्यमा पुग्न यातायातको सुबिधाका लागि भरपर्दो सडक सुबिधा, पदयात्राको लागि पदमार्ग जस्ता पूर्वाधार हुनु पर्दछ। ग्रामीण क्षेत्रमा धेरै कच्ची सडकहरु छन् र ती सडक प्राबिधिक रुपमा जोखिम छन । जबरजस्ती कच्ची सडक बनाउदा गाँउको सौन्दर्यता विनास भएको छ । सडकले गाउँ र शहरी क्षेत्र जोडने र पर्यटकको पहुचलाई सहज बनाउन आवश्यक छ ।

कसरी पुग्ने ?

मानुङकोट दमौलीदेखि १० किलोमिटर पर्दछ । मानुङकोटसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ । विशेष गरेर शुक्रबार र शनिबार मानुङकोटमा बढी भीड हुने गर्दछ । पदमार्गमा रमाउन खोज्ने पर्यटकहरुका लागि पुरानो पदमार्ग अर्थात उकालोबाटो पाटन, सौराहा, सिखरडाँडाहुँदै पनि मानुङकोट पुग्न सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker