आँवुखैरेनी–मुग्लिन सडक खण्ड भोली बिहान करिब चार घण्टा अवरुद्ध हुने

पृथ्वीराजमार्ग अन्तर्गत आँवुखैरेनी–मुग्लिन सडक खण्ड भोली बिहान करिब चार घण्टा अवरुद्ध हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार साँझ एक सूचना जारी गरी भदौ १० गते सोमबार बिहान ६ः३० देखि १०ः०० बजेसम्ममा उक्त मार्ग भई चल्ने सवारीसाधनहरु पूर्णरुपमा बन्द हुने जनाएको छ ।
गत शुक्रबार तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठामाण्डौं तर्फ जाँदै गरेको भारती नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको यात्रुबहाक बस मस्र्याङदी नदीमा खसी दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परेको सवारी साधन निकाल्नको लागि ठूलो मेसिनरी उपकरणहरु प्रयोग गर्नुपर्ने भएकाले करिब चार घण्टा राजमार्गको उक्त खण्ड पूर्णरुपमा अवरुद्ध हुने जिप्रका तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जानकारी गराएका छन् ।
उक्त दुर्घटनामा परी भारतको महाराष्ट्र राज्यस्थित नासिकबाट नेपालका विभिन्न धार्मिकस्थल घुम्ना आएका पर्यटक सवार थिए । दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते र एक जना वेपत्ता रहेका छन् ।

यसैगरी सोही समयमा आँबुखेरेनी गाउँपालिका–४ साँखरमा पहिरो नियन्त्रणको काम भइरहेको र उक्त स्थानको सडक भित्ताका जोखिमपूर्ण ढुङ्गा फाल्ने काम गरिने सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ । सो खण्डमा पनि सोही समयमा सडक अवरुद्ध हुने सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।










