नेपाली परदेशी दाई “नेप दाई”
डा. प्रशान्त ध्वज अधिकारी

विदेश आजकाल आम नेपालीहरुको लागि रहर भन्दा पनि बाध्यता जस्तो भैसकेको छ । सात समुन्द्रपारी यात्राको क्रममा ट्रान्जिटमा भेट भयको भाइले भनेको कुरा ‘दाई नेपालमा बिदेशमा मरेको लाश लेराउन त भनसुन चाहिन्छ भने, फर्केर मैले जागिर पाउने वा अरु व्यवसाय गर्ने, त्यस्तो बाताबरण छ र ?, त्यही पनि नेपालमा’ त्यो भाईको भनाईलाई मनन गर्न यहाँहरुलाई नै छोडे । नेपाली जो काम गर्न वा पढ्न विदेश जान खोज्दै हुनुहुन्छ भने, सकेसम्म नेपालमा राजदुताबास भएको वा आफु जाने ठाँउमा पनि नेपालको राजदुताबास भएको रोज्न अनुरोध गर्दै, आफुले भोगेका र देखेका यथार्थहरु बेला-बेलामा प्रसंग सहित यो लेखमा उल्लेख गरिने छ ।
भिसाको लागि दिल्लीमा पहाडगन्ज र बाह्रखम्बा रोडको चक्कर र सास्ती धैर नेपालीले अनुभव गरेको हुनुपर्छ । कहिले काँही लाग्थ्यो फर्किएर नेपालमै राजदुताबास भएको ठाउँमा मात्र जाने, अबदेखि अन्त नजाने गरौं जस्तो । विदेशमा रहेको बिश्वबिद्यालयको अनुसन्धान केन्द्रमा काम गर्दै गर्दा एक्लो नेपाली भएकोले न्यास्रोपनको महसुस, बिदेशमा परिवारबाट टाढा रहेका अरु नेपालीहरुको जस्तो अनुभव यो पंक्तिकारलाई पनि छ । नेपाली स्वादको चिया खाने रहर विदेश रहने प्रायजसो नेपालीलाई हुने गर्छ । यही चियापत्ति सिद्धिएकोले गर्दा नै यो लेखको ‘नेप दाई’संग भेट हुन पुग्यो । आफुसंगै अनुसन्धान केन्द्रमा काम गर्ने इन्डियनले, इन्डियन पसलको बारेमा जानकारी दिएको हुनाले ।
काम गर्ने ठाउँबाट नजिकै रहेको पसलमा पुगि, हिन्दीमा यो इन्डियन चियापत्ति हो ?, भन्दा नेपालीमा, हो भन्ने आवाज सुन्दा, दाई नेपाली हो भनि सोधे ? तर, उनी त्यही देशको भाषा बोल्न थाले । चियापत्ति लिई फर्कदा यी दाईले किन नेपाली बोल्न खोजेनन् जस्तो लाग्यो । फेरि तीन हप्तापछि त्यो पसलमा पुग्दा, ती दाई देखिएनन् । पसलमा एक स्थानीय महिला र ठुलै ती महिलाको छोराछोरी जस्तो लाग्ने सरसफाईमा ब्यस्त थिए । एक क्यान कफि पिउन त्यही बसे, सरसफाइको दौरान त्यो पसलको भित्रपट्टकिो कोठामा सगरमाथाको फ्रेम भएको फोटोनिर नेपालको झन्डा देखियो । ति नेपाली-परदेशी दाई ‘नेप दाई’ नै भएको ठोकुवा गरी र्फके । तर उनी मसंग किन बोल्न चाहेनन, सम्झदा खल्लो लाग्यो ।
एकदिन साँझ हुनै लाग्दा अनुसन्धान केन्द्रमा, तपाई नेपाली, हेल्प-हेल्प भन्दै पुलिस आईपुगे । गाडीमा राखियो र लगियो, शुरुमा के गल्ति गरिएछ कि जस्तो लाग्यो । नेपालमा तिहार चल्दै थियो, मनमा चिसो पस्न थाल्यो । गाडी हस्पिटलको गेटमा रोकियो, नेप दाईलाई सम्झे । त्यहाँ रहेका पुलिस अफिसरद्वारा एक नेपाली दुर्घटनामा परी मरेको भन्दै उक्त नेपालीको पासपोर्ट दिइयो । फोटो नेप दाईको थिएन । पछि हस्पिटलको मुर्दा घरमा लगियो, मृतकको सव हेरियो । पासपोर्टको खोलनिर नेपालको सम्पर्क नम्बर लेखियको कागज थियो ।
पछि पुलिसको अफिसमा पुगियो, रिपोर्ट देखाइयो, जानी-जानी गरेको दुर्घटना, आत्महत्या लेखियको थियो । सिसिटिभी फुटेज देखाइयो, फुटेजले पनि त्यस्तै इंगित गथ्र्यो । पुलिसले परिवारलाई सम्पर्क गर्नको लागि फोन गर्न भने, त्यति बेलासम्म वरिपरी रहेका अरु नेपालीहरु पनि पुलिसले आफ्नो च्यानल प्रयोग गरी बोलाइसकेको थियो । उनीहरुको चुस्त सिस्टम, हामिले नेपालमा खबर गरिदियौ । यो घटना पश्चात अरु नेपालीहरुसंग चिनजान भयो । हामी सबै नेपाली आ-आफ्नो ठाउँमा फर्कयौ । फर्कदा धेरै नै रात परिसकेको थियो, १-२ घन्टा भयपनि सुतौ भेनेको सुत्न सकिएन ।
भोलिपल्ट काममा गइयो । आफु संगसंगै काम गर्ने स्थानीय प्रोफेसरले आज त खुब थकित छौ भनि सोधे, पछि कफि खान जाउ भने । उनले यो कुरा सब समाचारबाट थाहा पाईसकेका रहिछन । आफ्नो अबधि भन्दा बढि बसेर गैरकानुनी भई दुर्घटना परेका ति दाईको बारेमा प्रोफेसरले धेरै कुरा राखे । यस्तो अबस्थामा बीमा नपाउने कुरा गरे । उनी मेरा साथी नै भएकाले, जे-भएपनि दुर्घटना तपाइको देशको सडकमा घटेको हो भने । यो सुनेपछि उनले लामो सुस्केरा हाले ।
बिदेशीहरु कुनै कुराले छोयो भने प्रायः यस्तै प्रतिक्रिया जनाउने गर्छन । हामी नेपालीले केही राहत नपाए, आफै चन्दा उठाएर सव ब्यवस्थापन गर्ने सोचमा थियौ । परिवारले केही राहत पाऊछन कि भनि डकुमेन्ट बनाउन झन्झट खेप्नु पर्यो । त्यहाँ नेपाली राजदुताबास नभएर। तर, सबै व्यस्थापन गरी अन्तिममा मृतकको प्रतिकुल अबस्था हँदा-हुँदै पनि वीमा रकम उनको पत्नी र आफन्तलाइ त्यही देशमा झिकाई उहाँहरुकै हातमा हस्तातरण गरियो (बीमा-पाउने दिदी बिपा दिदी) । बिपा दिदीले रुँदै हामीलाई धन्यबाद दिनुभयो र उहाँले काठमांडू मै घर बनाउछु, यता आउदा सम्पर्क गर्नुस भन्नुभयो । यस कार्यले गर्दा हाम्रो त्यो देशप्रति सम्मान झन बढेर गयो ।
यी सब कार्य चल्दै गर्दा नेप दाई कहिले पनि आउनु भयन । तर, यो घटना पश्चात धेरै नेपालीहरुसंग चिनजान भैसकेकाले पछिल्ला दिनहरुमा न्यास्रोपन हराइसकेको थियो । मान्छेलाई जति भएपनि पुग्दैन भन्छन, त्यसैले गर्दा विदेशमा अब नबस्ने भन्दै विभिन्न देशहरुमा १० बर्ष काम गरी आफ्नै घर तनहुँ आउने निचोड गरी नेपाल र्फके । तर, यात्रा गन्तव्यमा नपुग्दै नेपालको कुनै कुनामा फेरी अल्झन पुग्यो ।
केही समयको बसाइ पछि नेपा दाई रहेको पहिला काम गर्ने विश्वबिद्यालयबाट गेस्ट लेक्चररको रुपमा काम गर्न फेरी निम्ता आयो । उता जानुभन्दा पहिला, त्यहाँ रहेका चिनेका नेपालीलाई सम्पर्क गर्दा काम गर्ने थलो भन्दा धेरै टाढा उहाँहरु रहेको पाइयो । पुराना मित्र स्थानीय प्रोफेसरलाई मेल गर्दा उनी त जर्मनका लागि राजदूत भै उतै रहिछन । उता पुगेपछि फेरी भेट्ने भनेको नेप दाईलाई हो भन्दै, उनलाई भेट्न पुंगे । नेपा दाईलाई यो चोटी सिधै दाई नमस्ते भने, उनी अकमकाए । पछि उनले नमस्ते भने । फेरी सोधे दाईलाई केही वर्ष अघि भेट्न आउँदा बोल्न खोज्नु भएन ।
दाईले याद गर्दै भन्नु भयो, भाई जब मेरो बूढी मसंग थिइन्, म संसार जित्छु जस्तो लाग्थ्यो । मलाई कसैको मतलब राख्न मनै लाग्दैनथ्यो । मेरो बूढी बितिन, बच्चाहरु छुट्टै बस्छन । मलाई आजकाल सबै रित्तो जस्तो लाग्छ । यो सुनेपछि, उता हाम्रो देश रितिदैछ, दाई हामी अब नेपाल फर्कौ भने । यतिबेलासम्म उनको आँखामा पोखरी बनिसकेको थियो । मेरो हेराइलाई छल्न हो कि के हो ? भाई म चिया बनाएर लेराउछु भनि भित्र छिरे । ति आँशुका थोपाहरु चियामा खसाले वा भुइँमा, चिया लिई आउँदा उनले आँखा ओभानो परिसकेका थिए । मैले चिया खादै भने दाईको पसलमा यति मिठो चिया हुँदो रहिछ, म पहिला कति आउथे होला । भाईसंग त्यो बेलामा मैले नबोलेर गल्ति गरे भन्दै तपाई पढेलेखेको मान्छेसंग सम्पर्कमा रहेको भय मेरो कागजपत्र बन्थ्यो होला भन्नुभयो । दाई अझै के बिग्रेको छ र ? तपाई नेपालको कुन ठाउँबाट भनि सोंधे, उहाँले बताउनु भएन ।
नेपालमा शसस्त्र द्वन्द्वमा धेरै मानिस बेपात्ता छन । मैले यो सम्झी, दाई तपाई यहाँ कहाँबाट भनि पुनः सोधे । उहाँले यहाँको केटीसंग बिबाह भएको कुरा मात्र बताउनु भयो । पहिलाको भन्दा खिइदै गएको शरीर, मान्छे नभएको उजाड घर, नेपालको वर्तमान ग्रामीण परिबेस जस्तै । दाईको अनुहारमा फेरी हेर्दा आँखामा ताल बनिसकेकाले कुनै प्रश्न गरिन । उहाँ कुनै रोडको एकतर्फी यात्रा गर्न मिल्ने बाटो जस्तो भैसक्नुभएको रहिछ । दाईलाई कुनै नेपाली वा आफन्तले फसाएर वा डुबायर हो कि खुलेर नबोलेका । आफैलाई प्रश्न गर्दै दाईलाई अर्को हप्ता मेरो ठाउँमा खाना खान आउन निम्तो दिदै हिंडे ।
अन्त्यमा, पहिला संसारका हरेक कुनामा इन्डियन छन जस्तो लाग्थ्यो, अहिले हामीहरु पनि त्यही अबस्थामा पुग्दैछौ । नेप दाई एक प्रतिनिधि पात्र मात्र हुन, यस्ता पात्रहरु संसारका अरु कुनाहरूमा पनि छन् । तसर्थ, जे-सुकै अबस्था आएपनि विदेशमा रहेका नेपाली आ-आफ्नो नजिक बस्ने अरु नेपालीसंग सम्पर्कमा रहनु अति आबश्यक छ । भोली केही भए सम्बन्ध जस्तो भएपनि खबर लिने वा पठाउने वा सहयोग गर्ने भनेको नेपालीको लागि नेपालीले नै हो । नेप दाई नेपालीहरुको सम्पर्कमा बसिरहेको भए, सायद नेपालसंग सम्बन्ध टुटथेन कि ?










