नेपाली परदेशी दाई “नेप दाई”

डा. प्रशान्त ध्वज अधिकारी

विदेश आजकाल आम नेपालीहरुको लागि रहर भन्दा पनि बाध्यता जस्तो भैसकेको छ । सात समुन्द्रपारी यात्राको क्रममा ट्रान्जिटमा भेट भयको भाइले भनेको कुरा ‘दाई नेपालमा बिदेशमा मरेको लाश लेराउन त भनसुन चाहिन्छ भने, फर्केर मैले जागिर पाउने वा अरु व्यवसाय गर्ने, त्यस्तो बाताबरण छ र ?, त्यही पनि नेपालमा’ त्यो भाईको भनाईलाई मनन गर्न यहाँहरुलाई नै छोडे । नेपाली जो काम गर्न वा पढ्न विदेश जान खोज्दै हुनुहुन्छ भने, सकेसम्म नेपालमा राजदुताबास भएको वा आफु जाने ठाँउमा पनि नेपालको राजदुताबास भएको रोज्न अनुरोध गर्दै, आफुले भोगेका र देखेका यथार्थहरु बेला-बेलामा प्रसंग सहित यो लेखमा उल्लेख गरिने छ ।

भिसाको लागि दिल्लीमा पहाडगन्ज र बाह्रखम्बा रोडको चक्कर र सास्ती धैर नेपालीले अनुभव गरेको हुनुपर्छ । कहिले काँही लाग्थ्यो फर्किएर नेपालमै राजदुताबास भएको ठाउँमा मात्र जाने, अबदेखि अन्त नजाने गरौं जस्तो । विदेशमा रहेको बिश्वबिद्यालयको अनुसन्धान केन्द्रमा काम गर्दै गर्दा एक्लो नेपाली भएकोले न्यास्रोपनको महसुस, बिदेशमा परिवारबाट टाढा रहेका अरु नेपालीहरुको जस्तो अनुभव यो पंक्तिकारलाई पनि छ । नेपाली स्वादको चिया खाने रहर विदेश रहने प्रायजसो नेपालीलाई हुने गर्छ । यही चियापत्ति सिद्धिएकोले गर्दा नै यो लेखको ‘नेप दाई’संग भेट हुन पुग्यो । आफुसंगै अनुसन्धान केन्द्रमा काम गर्ने इन्डियनले, इन्डियन पसलको बारेमा जानकारी दिएको हुनाले ।

काम गर्ने ठाउँबाट नजिकै रहेको पसलमा पुगि, हिन्दीमा यो इन्डियन चियापत्ति हो ?, भन्दा नेपालीमा, हो भन्ने आवाज सुन्दा, दाई नेपाली हो भनि सोधे ? तर, उनी त्यही देशको भाषा बोल्न थाले । चियापत्ति लिई फर्कदा यी दाईले किन नेपाली बोल्न खोजेनन् जस्तो लाग्यो । फेरि तीन हप्तापछि त्यो पसलमा पुग्दा, ती दाई देखिएनन् । पसलमा एक स्थानीय महिला र ठुलै ती महिलाको छोराछोरी जस्तो लाग्ने सरसफाईमा ब्यस्त थिए । एक क्यान कफि पिउन त्यही बसे, सरसफाइको दौरान त्यो पसलको भित्रपट्टकिो कोठामा सगरमाथाको फ्रेम भएको फोटोनिर नेपालको झन्डा देखियो । ति नेपाली-परदेशी दाई ‘नेप दाई’ नै भएको ठोकुवा गरी र्फके । तर उनी मसंग किन बोल्न चाहेनन, सम्झदा खल्लो लाग्यो ।

एकदिन साँझ हुनै लाग्दा अनुसन्धान केन्द्रमा, तपाई नेपाली, हेल्प-हेल्प भन्दै पुलिस आईपुगे । गाडीमा राखियो र लगियो, शुरुमा के गल्ति गरिएछ कि जस्तो लाग्यो । नेपालमा तिहार चल्दै थियो, मनमा चिसो पस्न थाल्यो । गाडी हस्पिटलको गेटमा रोकियो, नेप दाईलाई सम्झे । त्यहाँ रहेका पुलिस अफिसरद्वारा एक नेपाली दुर्घटनामा परी मरेको भन्दै उक्त नेपालीको पासपोर्ट दिइयो । फोटो नेप दाईको थिएन । पछि हस्पिटलको मुर्दा घरमा लगियो, मृतकको सव हेरियो । पासपोर्टको खोलनिर नेपालको सम्पर्क नम्बर लेखियको कागज थियो ।

पछि पुलिसको अफिसमा पुगियो, रिपोर्ट देखाइयो, जानी-जानी गरेको दुर्घटना, आत्महत्या लेखियको थियो । सिसिटिभी फुटेज देखाइयो, फुटेजले पनि त्यस्तै इंगित गथ्र्यो । पुलिसले परिवारलाई सम्पर्क गर्नको लागि फोन गर्न भने, त्यति बेलासम्म वरिपरी रहेका अरु नेपालीहरु पनि पुलिसले आफ्नो च्यानल प्रयोग गरी बोलाइसकेको थियो । उनीहरुको चुस्त सिस्टम, हामिले नेपालमा खबर गरिदियौ । यो घटना पश्चात अरु नेपालीहरुसंग चिनजान भयो । हामी सबै नेपाली आ-आफ्नो ठाउँमा फर्कयौ । फर्कदा धेरै नै रात परिसकेको थियो, १-२ घन्टा भयपनि सुतौ भेनेको सुत्न सकिएन ।

भोलिपल्ट काममा गइयो । आफु संगसंगै काम गर्ने स्थानीय प्रोफेसरले आज त खुब थकित छौ भनि सोधे, पछि कफि खान जाउ भने । उनले यो कुरा सब समाचारबाट थाहा पाईसकेका रहिछन । आफ्नो अबधि भन्दा बढि बसेर गैरकानुनी भई दुर्घटना परेका ति दाईको बारेमा प्रोफेसरले धेरै कुरा राखे । यस्तो अबस्थामा बीमा नपाउने कुरा गरे । उनी मेरा साथी नै भएकाले, जे-भएपनि दुर्घटना तपाइको देशको सडकमा घटेको हो भने । यो सुनेपछि उनले लामो सुस्केरा हाले ।

बिदेशीहरु कुनै कुराले छोयो भने प्रायः यस्तै प्रतिक्रिया जनाउने गर्छन । हामी नेपालीले केही राहत नपाए, आफै चन्दा उठाएर सव ब्यवस्थापन गर्ने सोचमा थियौ । परिवारले केही राहत पाऊछन कि भनि डकुमेन्ट बनाउन झन्झट खेप्नु पर्‍यो । त्यहाँ नेपाली राजदुताबास नभएर। तर, सबै व्यस्थापन गरी अन्तिममा मृतकको प्रतिकुल अबस्था हँदा-हुँदै पनि वीमा रकम उनको पत्नी र आफन्तलाइ त्यही देशमा झिकाई उहाँहरुकै हातमा हस्तातरण गरियो (बीमा-पाउने दिदी बिपा दिदी) । बिपा दिदीले रुँदै हामीलाई धन्यबाद दिनुभयो र उहाँले काठमांडू मै घर बनाउछु, यता आउदा सम्पर्क गर्नुस भन्नुभयो । यस कार्यले गर्दा हाम्रो त्यो देशप्रति सम्मान झन बढेर गयो ।

यी सब कार्य चल्दै गर्दा नेप दाई कहिले पनि आउनु भयन । तर, यो घटना पश्चात धेरै नेपालीहरुसंग चिनजान भैसकेकाले पछिल्ला दिनहरुमा न्यास्रोपन हराइसकेको थियो । मान्छेलाई जति भएपनि पुग्दैन भन्छन, त्यसैले गर्दा विदेशमा अब नबस्ने भन्दै विभिन्न देशहरुमा १० बर्ष काम गरी आफ्नै घर तनहुँ आउने निचोड गरी नेपाल र्फके । तर, यात्रा गन्तव्यमा नपुग्दै नेपालको कुनै कुनामा फेरी अल्झन पुग्यो ।

केही समयको बसाइ पछि नेपा दाई रहेको पहिला काम गर्ने विश्वबिद्यालयबाट गेस्ट लेक्चररको रुपमा काम गर्न फेरी निम्ता आयो । उता जानुभन्दा पहिला, त्यहाँ रहेका चिनेका नेपालीलाई सम्पर्क गर्दा काम गर्ने थलो भन्दा धेरै टाढा उहाँहरु रहेको पाइयो । पुराना मित्र स्थानीय प्रोफेसरलाई मेल गर्दा उनी त जर्मनका लागि राजदूत भै उतै रहिछन । उता पुगेपछि फेरी भेट्ने भनेको नेप दाईलाई हो भन्दै, उनलाई भेट्न पुंगे । नेपा दाईलाई यो चोटी सिधै दाई नमस्ते भने, उनी अकमकाए । पछि उनले नमस्ते भने । फेरी सोधे दाईलाई केही वर्ष अघि भेट्न आउँदा बोल्न खोज्नु भएन ।

दाईले याद गर्दै भन्नु भयो, भाई जब मेरो बूढी मसंग थिइन्, म संसार जित्छु जस्तो लाग्थ्यो । मलाई कसैको मतलब राख्न मनै लाग्दैनथ्यो । मेरो बूढी बितिन, बच्चाहरु छुट्टै बस्छन । मलाई आजकाल सबै रित्तो जस्तो लाग्छ । यो सुनेपछि, उता हाम्रो देश रितिदैछ, दाई हामी अब नेपाल फर्कौ भने । यतिबेलासम्म उनको आँखामा पोखरी बनिसकेको थियो । मेरो हेराइलाई छल्न हो कि के हो ? भाई म चिया बनाएर लेराउछु भनि भित्र छिरे । ति आँशुका थोपाहरु चियामा खसाले वा भुइँमा, चिया लिई आउँदा उनले आँखा ओभानो परिसकेका थिए । मैले चिया खादै भने दाईको पसलमा यति मिठो चिया हुँदो रहिछ, म पहिला कति आउथे होला । भाईसंग त्यो बेलामा मैले नबोलेर गल्ति गरे भन्दै तपाई पढेलेखेको मान्छेसंग सम्पर्कमा रहेको भय मेरो कागजपत्र बन्थ्यो होला भन्नुभयो । दाई अझै के बिग्रेको छ र ? तपाई नेपालको कुन ठाउँबाट भनि सोंधे, उहाँले बताउनु भएन ।

नेपालमा शसस्त्र द्वन्द्वमा धेरै मानिस बेपात्ता छन । मैले यो सम्झी, दाई तपाई यहाँ कहाँबाट भनि पुनः सोधे । उहाँले यहाँको केटीसंग बिबाह भएको कुरा मात्र बताउनु भयो । पहिलाको भन्दा खिइदै गएको शरीर, मान्छे नभएको उजाड घर, नेपालको वर्तमान ग्रामीण परिबेस जस्तै । दाईको अनुहारमा फेरी हेर्दा आँखामा ताल बनिसकेकाले कुनै प्रश्न गरिन । उहाँ कुनै रोडको एकतर्फी यात्रा गर्न मिल्ने बाटो जस्तो भैसक्नुभएको रहिछ । दाईलाई कुनै नेपाली वा आफन्तले फसाएर वा डुबायर हो कि खुलेर नबोलेका । आफैलाई प्रश्न गर्दै दाईलाई अर्को हप्ता मेरो ठाउँमा खाना खान आउन निम्तो दिदै हिंडे ।

अन्त्यमा, पहिला संसारका हरेक कुनामा इन्डियन छन जस्तो लाग्थ्यो, अहिले हामीहरु पनि त्यही अबस्थामा पुग्दैछौ । नेप दाई एक प्रतिनिधि पात्र मात्र हुन, यस्ता पात्रहरु संसारका अरु कुनाहरूमा पनि छन् । तसर्थ, जे-सुकै अबस्था आएपनि विदेशमा रहेका नेपाली आ-आफ्नो नजिक बस्ने अरु नेपालीसंग सम्पर्कमा रहनु अति आबश्यक छ । भोली केही भए सम्बन्ध जस्तो भएपनि खबर लिने वा पठाउने वा सहयोग गर्ने भनेको नेपालीको लागि नेपालीले नै हो । नेप दाई नेपालीहरुको सम्पर्कमा बसिरहेको भए, सायद नेपालसंग सम्बन्ध टुटथेन कि ?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker